राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांसद खगेन्द्र सुनारमाथि सञ्चारमाध्यममा सार्वजनिक भएका आरोपबारे आन्तरिक छानबिन गर्ने भएको छ ।
एक महिलालाई धम्क्याएको र ब्ल्याकमेलिङ गरेको भनिएको अडियो सार्वजनिक भएपछि पार्टीले आन्तरिक छानबिन अघि बढाएको हो । रास्वपाका महामन्त्री विपिन आचार्यले विज्ञप्ति जारी गर्दै पार्टीको केन्द्रीय अनुशासन आयोगलाई तत्काल छानबिन प्रक्रिया अघि बढाउन निर्देशन दिइएको जानकारी दिएका छन् ।
छानबिन निष्कर्षमा नपुग्दासम्म सुनारलाई सार्वजनिक पदको हैसियतमा कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन दिइएको विज्ञप्तिमा उल्लेख छ ।
‘अनुसन्धान प्रक्रिया प्रभावित नहोस् र पदीय नैतिकता कायम रहोस् भन्नका खातिर, उक्त छानबिन निष्कर्षमा नपुग्दासम्मका लागि उहाँलाई सार्वजनिक पदको हैसियतमा कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन दिइन्छ,’ विज्ञप्तिमा भनिएको छ ।
रास्वपाले सार्वजनिक भएका विषयको गम्भीरतालाई ध्यानमा राख्दै राज्यका सम्बन्धित निकायबाट स्वतन्त्र, निष्पक्ष र तथ्यपरक अनुसन्धान हुने विश्वास व्यक्त गरेको छ । साथै, राज्यका निकायले गर्ने अनुसन्धानमा पार्टीका तर्फबाट पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।
‘सार्वजनिक भएका यी विषयहरूको गम्भीरतालाई मनन गरी राज्यका सम्बन्धित निकायहरूबाट अविलम्ब स्वतन्त्र, निष्पक्ष र तथ्यपरक अनुसन्धान हुनेछ भन्ने हाम्रो विश्वास छ । राज्यका निकायले गर्ने अनुसन्धान प्रक्रियामा पार्टीका तर्फबाट पूर्ण रूपमा सहयोग रहने प्रतिबद्धता व्यक्त गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ ।
यता सांसद सुनारले आफूविरुद्धका प्रचार कृत्रिम बौद्धिकता (एआई) लगायत प्रविधिको प्रयोग गरेर बनाइएको दाबी गरेका छन् ।
मंगलबार एक भिडियो जारी गर्दै उनले यस्तो बताएका हुन् । ‘आजसम्म सार्वजनिक भएका सबै आरोपहरू झुटा हुन् । एआईलगायत प्रविधिको प्रयोग गरेर बनाइएका प्रचारहरू हुन्,’ उनले भनेका छन् ।
भ्रष्टाचारविरुद्ध प्रश्न उठाउँदा आफूले निर्मम अत्याचार र घृणाको सामना गर्नुपरेको उनको भनाइ छ । आफूविरुद्ध उठेका प्रत्येक प्रश्न र आरोपको छानबिन गर्न आग्रह गर्दै उनले यस्ता भ्रममा नपर्न आम नागरिकलाई अपिल गरेका छन् ।


