जिल्ला प्रशासन कार्यालय महोत्तरीले नेपालीहरूको महान् चाड बडादशैं, दीपावली तथा छठ पर्वलाई सुरक्षित, मर्यादित र शान्तिपूर्ण बनाउन विभिन्न प्रतिबन्धात्मक व्यवस्था लागू गरेको छ ।
जिल्ला प्रशासन कार्यालय महोत्तरीले एक सूचना जारी गरी मेला, महोत्सव, सांस्कृतिक कार्यक्रम तथा जात्राहरू सञ्चालन गर्दा स्वीकृत एकीकृत सुरक्षा योजनाको पूर्ण पालना गर्न सम्बन्धित सबैलाई आग्रह गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी संजय कुमार पोखरेलद्वारा जारी सूचनामा मेला, महोत्सव तथा सांस्कृतिक कार्यक्रम सञ्चालन गर्नुअघि सम्बन्धित स्थानीय तहबाट अनुमति लिनुपर्ने र जिल्ला प्रशासन कार्यालय तथा सुरक्षा निकायसँग अनिवार्य समन्वय गर्नुपर्ने भनिएको छ । कार्यक्रमका आयोजकलाई सुरक्षाको पूर्ण जिम्मेवारी लिनसमेत प्रशासनले सचेत गराएको छ ।
प्रशासनले सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम राति १० बजेपछि सञ्चालन गर्न रोक लगाएको छ । उच्च आवाजमा डिजे तथा बाजागाजा बजाएर ध्वनि प्रदूषण गर्ने र अश्लील गतिविधि प्रदर्शन गर्ने कार्यसमेत निषेध गरिएको छ । यस्तै, पटका, भुइँचम्पा तथा आतिसबाजीजस्ता जनस्वास्थ्य र सुरक्षामा जोखिम पु¥याउने प्रज्वलनशील एवं विस्फोटक पदार्थको आयात, बिक्री वितरण र प्रयोगमा पूर्ण प्रतिबन्ध लगाइएको सूचनामा उल्लेख छ । चाडपर्वका बेला जुवातास, सट्टेबाजी तथा अवैध मदिराको कारोबार नगर्न पनि प्रशासनले आग्रह गरेको छ ।
मादक पदार्थ सेवन गरेर सवारीसाधन नचलाउन, ट्राफिक नियमको पालना गर्न तथा सडक आवागमनमा अवरोध नपु¥याउन सर्वसाधारणलाई सचेत गराइएको छ । छठ पर्वका अवसरमा नदी, पोखरी तथा अन्य जलाशयमा पूजा गर्दा विशेष सतर्कता अपनाउन र बालबालिका तथा ज्येष्ठ नागरिकको उचित रेखदेख गर्न प्रशासनले अनुरोध गरेको छ । मूर्ति विसर्जनको मार्गसमेत स्थानीय प्रशासनसँगको समन्वयमा निर्धारण गर्नुपर्ने व्यवस्था गरिएको छ । त्यस्तै अनलाइन वित्तीय ठगीबाट बच्न ओटीपी र पासवर्ड गोप्य राख्न, सामाजिक सञ्जालमा भ्रामक सूचना तथा धार्मिक र साम्प्रदायिक सद्भाव बिगार्ने सामग्री प्रकाशन वा प्रसारण नगर्न प्रशासनले आग्रह गरेको छ ।
चाडपर्व मनाउन घर वा पसल बन्द गरेर बाहिर जाँदा सुरक्षित ताल्चा लगाउन, देउँसीभैलो मर्यादित रूपमा सञ्चालन गर्न र मेला तथा उत्सवस्थलमा सरसफाइ कायम राख्नसमेत सूचनामार्फत अनुरोध गरिएको छ । जारी निर्देशन उल्लङ्घन गरी गैरकानुनी वा अवाञ्छित गतिविधि गरे वा गराएमा प्रचलित कानुनबमोजिम कडा कारबाही गरिने प्रशासनले चेतावनी दिएको छ भने कुनै शंकास्पद गतिविधि देखिएमा नजिकको प्रहरी कार्यालयमा तत्काल जानकारी गराउनसमेत सर्वसाधारणलाई आग्रह गरिएको छ ।


