मापदण्डविपरीत मनोमानी ढंगले सरुवा गरिएको भन्दै धनुषामा कार्यरत वन कर्मचारीहरूले असन्तुष्टि जनाएका छन् ।
सरुवासम्बन्धी मापदण्ड र कानुनी व्यवस्थाको पालना नगरी सरुवा गरिएको आरोप लगाउँदै उनीहरूले आफ्ना माग सम्बोधन नभएसम्म रमाना पत्र नबुझ्ने चेतावनी दिएका छन् । जनकपुरधाममा बुधबार प्रदेश वन निर्देशनालयको कार्यालयमा पुगेर असन्तुष्ट कर्मचारीहरूले सरुवासम्बन्धी विभिन्न पाँचबुँदे माग अघि सारेका छन् । उनीहरूले प्रचलित नियम, कानुन र सरुवा मापदण्डलाई बेवास्ता गर्दै गरिएको सरुवा निर्णयप्रति आपत्ति जनाएका छन् ।
वन कर्मचारीका अगुवा बेचन महतोले कर्मचारीहरूमाथि अन्याय भएको भन्दै मापदण्डअनुसार सबै कर्मचारीको सम्मानजनक र न्यायपूर्ण सरुवा गर्नुपर्ने माग गरे । सरुवा नगरिएका कर्मचारीलाई पनि सरुवा गर्नुपर्ने र कसैलाई सरुवा नगर्नुको कारण स्पष्ट खुलाउनुपर्ने उनको भनाइ छ । असन्तुष्ट कर्मचारीहरूले सरुवा नगरिएका कर्मचारीको समेत सरुवा गर्नुपर्ने, सबै कर्मचारीको सरुवा प्रक्रिया पूरा नभएसम्म हाल कार्यरत जिल्लाबाट सरुवाका लागि तयार पारिएको रमाना पत्र नबुझ्ने र हालको सरुवा मापदण्ड रद्द गर्नुपर्ने माग गरेका छन् ।
त्यसैगरी, महिला कर्मचारीको सरुवा गर्दा उनीहरूका बालबच्चा भए–नभएको यकिन गर्नुपर्ने तथा सरुवा अघि कर्मचार ीसँग लिखित निवेदन माग गरिए पनि सोही अनुसार सरुवा नगरि नुको कारणबारे स्पष्ट जवाफ दिनुपर्ने उनीहरूको माग छ । महतोले सरुवाका नाममा कर्मचारीहरूबीच भेदभाव गरिएको आरोप लगाउँदै सबैलाई समान व्यवहार गरी सम्मानजनक ढंगले सरुवा गर्नुपर्नेमा जोड दिए । यसैबीच, प्रदेश वन निर्देशनालयका निर्देशक कार्यालयमा अनुपस्थित रहेकाले उपसचिव अजय मिश्रले कर्मचारीहरूको मागबारे निर्देशकलाई जानकारी गराइ आवश्यक कारबाही अघि बढाउने आश्वासन दिएका छन् ।
यता, चुरे तथा वनजंगल संरक्षण अभियानका अभियानी सुनिल यादवले पनि असन्तुष्ट कर्मचारीका माग तत्काल सम्बोधन गर्न आग्रह गरेका छन् । कर्मचारी सरुवा मापदण्ड अनुसार निम्नस्तरका कर्मचारीलाई घरपायक पर्ने स्थानमा सरुवा गर्नुपर्ने व्यवस्था भए पनि त्यसलाई बेवास्ता गर्दै मनोमानी रूपमा सरुवा गर्नु गलत भएको उनको टिप्पणी छ ।



