लागुऔषध गाँजा बरामदसम्बन्धी मुद्दामा फरार रहेका सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सुरुंगा नगरपालिकाका नगरसभापति मोहम्मद साबिर अली पक्राउ परेका छन् । उनलाई बुधबार सप्तरी र सिरहाका प्रहरीको संयुक्त टोलीले सप्तरीको सुरुंगा नगरपालिका–४ स्थित कदमाहा बजारबाट पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक (एसपी) रुपक खड्काका अनुसार इलाका प्रहरी कार्यालय भेडिया, सप्तरी र इलाका प्रहरी कार्यालय लहान, सिरहाको संयुक्त टोलीले खोजतलासका क्रममा अलीलाई पक्राउ गरेको छ । सुरुंगा नगरपालिका–५ का ४७ वर्षीय अलीविरुद्ध लागुऔषधसम्बन्धी मुद्दामा इलाका प्रहरी कार्यालय लहानको अपराध नियन्त्रण तथा अनुसन्धान शाखाले यसअघि नै खोजतलासका लागि पत्राचार गरेको थियो । उक्त शाखाले १५ फागुन २०८१ र २६ पुस २०८२ मा पुनः खोजतलास गर्न पत्राचार गरेको सप्तरी प्रहरीको भनाइ छ ।
प्रहरीका अनुसार घटनाको सुरुआत २९ मंसिर २०८१ मा भएको सवारी दुर्घटनासँग जोडिएको छ । सिरहाको धनगढीमाई नगरपालिका–१० स्थित जिरोमाइलमा पूर्व–पश्चिम राजमार्गमा ना.३ ख ७५९१ नम्बरको ट्रक र बा.८ च ९९६३ नम्बरको कार एकआपसमा ठोक्किएका थिए । दुर्घटनापछि प्रहरीले कारमा खानतलासी गर्दा पाँचवटा पोकामा राखिएको एक क्विन्टल ३० किलो गाँजा बरामद गरेको थियो ।
घटनापछि ट्रक चालक र कार नियन्त्रणमा लिइए पनि कार चालक भने फरार भएका थिए । उक्त घटनाको अनुसन्धानका क्रममा कार चालक फरार रहेको र सोही प्रकरणमा अलीको संलग्नता रहेको खुलेपछि प्रहरीले उनको खोजी तीव्र बनाएको थियो । खोजतलासकै क्रममा उनलाई पक्राउ गरिएको एसपी खड्काले जानकारी दिए ।



