नेकपा एमाले मधेश प्रदेश सरकारबाट बाहिरिएको छ।
एमालेबाट सरकारमा सहभागी चार मन्त्रीले बिहीबार मुख्यमन्त्री कृष्णप्रसाद यादवसमक्ष राजीनामा बुझाउँदै सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएका छन्।
एमालेका प्रमुख सचेतक हरिनारायण महतोले पार्टीका मन्त्रीहरूले राजीनामा बुझाउनुका साथै सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी दिए।
राजीनामा दिनेमा श्रम तथा यातायातमन्त्री शारदादेवी थापा, खेलकुद तथा समाजकल्याणमन्त्री लखनदास, भौतिक पूर्वाधार विकासमन्त्री मोहम्मद समिर र शिक्षा तथा संस्कृतिमन्त्री मनोजकुमार सिंह रहेका छन्।
मधेश प्रदेशमा नेपाली कांग्रेसका कृष्णप्रसाद यादव मुख्यमन्त्री छन्। वर्तमान सत्ता गठबन्धनमा नेपाली कम्युनिस्ट पार्टीसमेत सहभागी छ।
एमालेले सरकारबाट समर्थन फिर्ता लिएसँगै मधेश प्रदेशको सत्ता समीकरणमा फेरबदल हुने सम्भावना बढेको छ। नयाँ सरकार गठनको कसरतका लागि एमालेले समर्थन फिर्ता लिएको हो।



