२०८३ कार्तिक १, शनिबार ०७:२३

मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले शान्ति सुरक्षा, अपराध नियन्त्रण, सडक सुरक्षा तथा विपद् व्यवस्थापनमा नेपाल प्रहरीको योगदान अतुलनीय रहेको बताएका छन् । प्रहरी स्थापना दिनवसको अवसरमा शुक्रवार जनकपुरधाममा आयोजित एक कार्यक्रममा बोल्दै मुख्यमन्त्री यादवले यस्तो बताएका हुन ।

उनले भने नेपाल–भारत खुला सीमानाका कारण सिर्जित हुनसक्ने सीमा अपराध, लागूऔषध ओसारपसार, अवैध हातहतियारको तस्करी तथा मानव बेचबिखन जस्ता आपराधिक गतिविधि नियन्त्रणमा प्रहरीले थप संवेदनशील र सतर्क भएर काम गर्नु जरुरी छ । बदलिँदो समयसँगै थपिएका नयाँ प्रकृतिका अपराध नियन्त्रणका लागि नेपाल प्रहरीलाई समयसापेक्ष र प्रविधिमैत्री बनाउनु आवश्यक रहेको धारणा राख्दै मुख्यमन्त्री यादवले प्रदेश प्रहरीको मनोबल उच्च राख्न प्रदेश सरकारले निरन्तर सहयोग गर्दै आएको बताए ।

हालै विराटनगरमा सम्पन्न मुख्यमन्त्रीहरूको सम्मेलनले संविधानले प्रदान गरेको प्रहरीसम्बन्धी अधिकार प्रदेशमा स्थापित गर्न शीघ्र प्रहरी समायोजन हुनुपर्ने निष्कर्ष निकालेको उल्लेख गर्दै उहाँले दशैँ, तिहार र छठ पर्वपछि यस विषयमा सङ्घ सरकारलाई थप दबाब दिने जानकारी दिए । कार्यक्रममा मधेश प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोले शान्ति सुरक्षा कायम गर्न र कानुनी शासनको प्रत्याभूति दिलाउन प्रहरीको महत्त्वपूर्ण भूमिका रहेको भने । उनले प्रदेशमा शान्ति सुव्यवस्था सुदृढ बनाउन मधेश प्रदेश सरकारले प्रहरीको भौतिक पूर्वाधार निर्माण तथा स्रोत–साधन व्यवस्थापनका लागि वार्षिक रूपमा बजेट र सहयोग उपलब्ध गराउँदै आएको बताए । यस्तै धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइँटेलले नेपाली जनताको घरदैलोमै पहुँच रहेको नेपाल प्रहरीले मुलुकको शान्ति सुरक्षाका क्षेत्रमा पु¥याएको योगदान सराहनीय रहेको भनी प्रशंसा गरे ।

समारोहमा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारी तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो । सो अवसरमा मधेश प्रदेशभर सर्वोत्कृष्ट कार्य गर्ने प्रहरी निरीक्षक विश्वम्भरनाथ साहलाई मुख्यमन्त्री यादवले दोसल्ला ओढाएर सम्मानपत्रसहित सम्मानित गरेका थिए । त्यसैगरी, महिला हिंसाविरुद्ध सचेतनामूलक टिकटक भिडियो निर्माणमा प्रथम हुन सफल सप्तरीका कलाकार जुगेश्वर यादव, विपद् व्यवस्थापनमा उत्कृष्ट कार्य गर्ने मौलापुर, रौतहटमा कार्यरत प्रहरी निरीक्षक भरत केसीलाई नगद तथा सम्मानपत्रसहित सम्मानित गरिएका थियो ।

Comment

Related News

Latest News

Trending News