धनुषाका किसानहरु धानमा विभिन्न रोगको संक्रमण फैलिएपछि यस वर्ष उत्पादन घट्ने चिन्तामा परेका छन् । रोपाइँ भएको धानबालीमध्ये करिब १० प्रतिशतभन्दा बढीमा रोगको प्रकोप देखिएकाले यस वर्ष उत्पादनमा गिरावट आउन सक्ने अनुमान गरिएको छ ।
जिल्लामा सामान्यतया करिब ४३ हजार ७ सय हेक्टर क्षेत्रफलमा धानखेती हुँदै आएकोमा यस वर्ष ४० हजार ५ सय १५ हेक्टरमा मात्र रोपाइँ भएको छ । रोपाइँ भएको क्षेत्रफलमा समेत रोगको संक्रमण देखिएपछि किसान थप चिन्तित बनेका हुन् । कृषि ज्ञान केन्द्र धनुषाका बाली विकास अधिकृत मिथिलेश साहले यस वर्ष जिल्लामा ९५ प्रतिशत रोपाइँ भएको जानकारी दिए । उनले भने, ‘अहिले धानबालीमा कीरा तथा रोगको प्रकोप बढी देखिएको छ । रोगव्याधिले धेरै क्षति नगरेको भए उत्पादन राम्रै हुन सक्थ्यो, तर अहिले स्थिति चुनौतीपूर्ण बनेको छ ।’ कृषि ज्ञान केन्द्र धनुषाका प्रमुख प्रदीप यादवका अनुसार जिल्लाका विभिन्न स्थानमा लगाइएको धानबालीमा ‘राइस ब्लास्ट’, ‘ब्राउन लिफ स्पट’ र ‘सिथ ब्लाइट’ रोगको संक्रमण पुष्टि भएको छ । उनले धानबालीमा रोगको संक्रमण देखिएकाले किसानलाई नियमित रूपमा खेतबारीको अनुगमन गर्न र लक्षण देखिनासाथ कृषि प्राविधिकसँग परामर्श लिन आग्रह गरेका छन् । रोगको सही पहिचान गरी प्राविधिकको सिफारिसअनुसार मात्रै विषादी प्रयोग गर्नुपर्नेमा जोड दिँदै उनले भने, ‘अहिले रोग र कीराको प्रकोप देखिएको धान नेपालमा दर्ता भएको जात होइन । बढी उत्पादन दिने नाममा किसानले जथाभावी ‘सोना मन्सुली’ जातको धान लगाउँदा यस्तो समस्या देखिएको हो ।’ प्रमुख यादवले करिब १० प्रतिशत धानमा रोगव्याधिको प्रकोप बढी देखिएकाले यस वर्ष उत्पादनमा ह्रास आउन सक्ने बताए । कृषि ज्ञान केन्द्रले रोग नियन्त्रणका लागि ‘कारटाप हाइड्रोक्लोराइड’ नामक विषादी प्रयोग गर्न सुझाव दिएको छ । तर, रोगअनुसार विषादीको छनोट, मात्रा र प्रयोग विधि फरक हुन सक्ने भएकाले प्राविधिकको सल्लाह लिनु आवश्यक रहेको केन्द्रको भनाइ छ ।
राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रम, हर्दिनाथका सूचना अधिकारी रवीन्द्रप्रसाद साहले मधेस प्रदेशमा अधिकांश क्षेत्रमा ‘सोना मन्सुली’ जातको धान लगाइने गरेको बताए । नेपालमा दर्ता नभएको र भारत तथा सीमावर्ती क्षेत्रबाट ल्याएर लगाइने भएकाले नै यसमा रोगव्याधिको जोखिम बढी हुने उनको भनाइ छ । उनले भने, ‘हामीले नेपालमा दर्ता (रजिस्टर्ड) भएका जात मात्र लगाउन किसानसँग आग्रह गर्दै आएका छौँ, तर किसानहरूले आफूखुसी लगाउँदा समस्यामा पर्ने गरेका छन् ।’ उनका अनुसार धानबाली अनुसन्धान कार्यक्रमले भौगोलिक अवस्था, मौसम, हावापानी र रोगव्याधिको जोखिमको विस्तृत अनुसन्धान गरेर मात्र जातहरू सिफारिस गर्ने गर्दछ । सिफारिस गरिएका जातहरूमा रोग–कीराको संक्रमण तुलनात्मक रूपमा निकै कम हुने भएकाले किसानमाझ यसबारे व्यापक प्रचारप्रसार गर्नुपर्नेमा उनले जोड दिए । धानको पातमा असामान्य दाग देखिनु, बोट ओइलाउनु र बालीको वृद्धि रोकिनु रोग संक्रमणका सम्भावित लक्षण भएकाले यस्तो देखिनासाथ समयमै नियन्त्रणका उपाय अपनाउन विज्ञहरुको सुझाव छ ।



