२०८३ कार्तिक २, आईतवार ०७:००

मिथिलाको धार्मिक तथा सांस्कृतिक नगरीसमेत रहेको मधेश प्रदेशको राजधानी जनकपुरधाममा बडादशैँको रमझम यस वर्ष निकै तडकभडकका साथ चलिरहेको छ । दशैँका अवसरमा राम मन्दिर र राजदेवी मन्दिर क्षेत्रमा दर्शनार्थी तथा श्रद्धालुको उल्लेख्य भीड लागेको छ । तर, धार्मिक उत्साह र चहलपहलसँगै सडक अतिक्रमण तथा अव्यवस्थित व्यापारका कारण जनकपुरधामको मुख्य बजार क्षेत्र अस्तव्यस्त बनेको छ । यसपटक विगतका वर्षहरूभन्दा पनि बढी अव्यवस्था देखिएको स्थानीयको गुनासो छ । जनकपुरधामको मुख्य चोकमध्ये पर्ने राम चोक क्षेत्रमा सडक नै अवरुद्ध हुने गरी पसल तथा ठेला सञ्चालन गरिँदा पैदलयात्री र सवारीसाधन आवतजावतमा कठिनाइ भइरहेको छ । चाडपर्वको समयमा श्रद्धालुको सुविधालाई प्राथमिकता दिनुपर्नेमा सडक व्यवस्थापन प्रभावकारी हुन नसकेको भन्दै स्थानीयले असन्तुष्टि जनाएका छन् ।

बीच सडकमै ठेला, पैदलयात्रीलाई आवतजावतमा कठिनाइ

राम मन्दिर र राजदेवी मन्दिर क्षेत्रमा खानपानका सामग्रीदेखि पूजापाठमा प्रयोग हुने प्रसादसम्मका वस्तु ठेलामा राखेर बिक्रीवितरण भइरहेको छ । सडकको बीच भाग र आवतजावत गर्ने स्थानमै व्यापार सञ्चालन हुँदा दर्शनार्थी, पैदलयात्री तथा मोटरसाइकल चालकले समेत सास्ती खेप्नुपरेको छ । दशैँमा मन्दिर दर्शन गर्न आउने श्रद्धालुको सहज आवागमन सुनिश्चित गर्नुको सट्टा सडकलाई नै व्यापारिक स्थल बनाइएको भन्दै आलोचना भइरहेको छ । धार्मिक आस्थासँग जोडिएका मन्दिर परिसरमा व्यापारलाई व्यवस्थित गर्न नसक्दा मन्दिरको गरिमा र जनकपुरधामको धार्मिक पहिचानमाथि असर परेको स्थानीयको भनाइ छ । राम मन्दिर र राजदेवी मन्दिर क्षेत्रमा राम युवा कमिटी र महावीर युवा कमिटीको प्रभाव रहेको उल्लेख गर्दै एक साधुसन्तले धार्मिक आस्थालाई व्यापारको माध्यम बनाउनु उचित नभएको गुनासो गरे । उनले जनाए अनुसार मन्दिरमा आउने श्रद्धालुको सुविधा, सुरक्षा र धार्मिक वातावरण कायम राख्न सम्बन्धित पक्षले जिम्मेवारीपूर्वक काम गर्न आवश्यक छ ।

जानकी मन्दिर क्षेत्रमा पनि सडक तथा फुटपाथ अतिक्रमण

जनकपुरधामको अर्को मुख्य धार्मिक स्थल जानकी मन्दिर आसपासको अवस्था पनि उस्तै रहेको बताइएको छ । जानकी मन्दिर तथा मडवा क्षेत्रको फुटपाथमा पसल सञ्चालन गरिँदा सर्वसाधारणको आवागमन प्रभावित भएको छ । सडक र फुटपाथमा व्यापारिक गतिविधि बढे पनि त्यसलाई व्यवस्थित गर्न सम्बन्धित निकायले प्रभावकारी कदम नचालेको स्थानीयको आरोप छ । स्थानीय सुरेश ठाकुरले जानकी मन्दिर क्षेत्रको अव्यवस्थाप्रति सरोकारवाला निकाय मौन देखिएको भन्दै असन्तुष्टि व्यक्त गरे । सडक व्यापारीको कब्जामा पर्दा पैदलयात्रीदेखि मोटरसाइकल चालकसम्मलाई आवतजावतमा समस्या भएको उनको भनाइ छ । धार्मिक तथा पर्यटकीय महत्त्व बोकेको जनकपुरधामको पहिचान जोगाउन सडक र फुटपाथलाई व्यवस्थित गर्नुपर्ने उनले बताए ।

जानकी मन्दिर क्षेत्रमा फुटपाथ पसल तथा ठेला सञ्चालन गर्ने व्यवसायीसँग दिलीप साहले मनोमानी ढंगले मोटो रकम असुल गरिरहेको आरोपसमेत स्थानीयले लगाएका छन् । स्थानीयका अनुसार ठेला तथा विभिन्न सामग्री बिक्री गर्ने पसलबाट रकम उठाउने गरिएको छ । यद्यपि, उक्त आरोपको स्वतन्त्र पुष्टि हुन सकेको छैन । यस विषयमा सम्बन्धित पक्षको आधिकारिक धारणा पनि सार्वजनिक भएको छैन । दशैँको भीड व्यवस्थापन तथा शान्ति सुरक्षा कायम गर्न नेपाल प्रहरी ठूलो संख्यामा परिचालन गरिएको दाबी गरिए पनि सडक व्यवस्थापन प्रभावकारी हुन नसकेको भन्दै आलोचना भइरहेको छ । जनकपुरधाम उपमहानगरपालिका, जिल्ला ट्राफिक प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयले सडक अतिक्रमण नियन्त्रण तथा पैदलयात्रीको सहज आवागमनका लागि पर्याप्त पहल नगरेको आरोप स्थानीयले लगाएका छन् । धनुषा प्रहरीले यस वर्षको दशैँ विगतका वर्षको तुलनामा शान्त र व्यवस्थित हुने दाबी गरेको थियो । तर, मुख्य धार्मिक स्थल आसपास देखिएको अव्यवस्थाले उक्त दाबीको कार्यान्वयनमाथि प्रश्न उठाएको छ ।

चाडपर्वको धार्मिक महत्व कायम राख्दै श्रद्धालु तथा सर्वसाधारणलाई सहज आवागमनको व्यवस्था मिलाउन सडक अतिक्रमण हटाउने, ठेला तथा फुटपाथ व्यापारलाई निश्चित स्थानमा व्यवस्थापन गर्ने र नियमित अनुगमन बढाउने काममा केही साता अघिसम्म मधेश प्रदेश सरकारको गृह, कानुन तथा सञ्चार मन्त्री फकिरा महतोसमेत अतिक्रमित मुक्त अभियान चलाएका थिए । तर सो अभियानको क्रममा गरिएका अतिक्रमित खाली जग्गासमेत अहिले पूर्णतः अतिक्रमण हुनु दुर्भाग्य भएको स्थानीयवासीहरु बताउँछन् ।

Comment

Related News

Latest News

Trending News