विजयादशमी, दीपावली तथा छठ पर्वलाई लक्षित गर धनुषामा एकीकृत सुरक्षा योजना लागू गरिएको छ ।
चाडपर्वका समयमा हुन सक्ने अपराधिक गतिविधि नियन्त्रण तथा जिल्लाको शान्ति सुरक्षा व्यवस्था प्रभावकारी बनाउन प्रशासनले सुरक्षा सतर्कता बढाएको हो । जिल्लास्थित सुरक्षा निकायका अतिरिक्त गण तथा बाहिनीबाट समेत थप सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ । चाडपर्वलाई सुरक्षित, मर्यादित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउने उद्देश्यले सुरक्षा संयन्त्रलाई उच्च सतर्कतामा राखिएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले बताएका छन् ।
बडादशैँको महासप्तमीका अवसरमा जनकपुरधामस्थित राजदेवी मन्दिर परिसरमा आयोजित कार्यक्रममा सुरक्षा अवस्थाबारे जानकारी दिँदै उनले जिल्लाको समग्र सुरक्षा व्यवस्था चुस्त बनाइएको उल्लेख गरे । एकीकृत सुरक्षा योजनाअन्तर्गत नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, ट्राफिक प्रहरी तथा राष्ट्रिय अनुसन्धान विभागको संयुक्त सहभागितामा सुरक्षा परिचालन गरिएको छ । चोरी, लुटपाट, जुवातास, कालोबजारीलगायतका अवाञ्छित गतिविधि नियन्त्रण गर्न जनकपुरधामका संवेदनशील क्षेत्रदेखि ग्रामीण भेगसम्म नियमित गस्ती र आकस्मिक जाँचलाई तीव्रता दिइएको छ ।
त्यसैगरी, मुख्य धार्मिक स्थल, बजार तथा बढी भीडभाड हुने क्षेत्रमा सादा पोसाकमा समेत सुरक्षाकर्मी परिचालन गरी निगरानी बढाइएको प्रशासनले जनाएको छ । प्रमुख जिल्ला अधिकारी लुइँटेलले शान्ति सुरक्षामा खलल पु¥याउने तथा कानुनविपरीत गतिविधिमा संलग्न हुने जोकोहीलाई नियन्त्रणमा लिएर कानुनी कारबाही गरिने चेतावनी दिए । उनले जिल्लावासीलाई आपसी सद्भाव, भाइचारा र एकता कायम राख्दै चाडपर्व हर्षोल्लासका साथ मनाउन आग्रहसमेत गरेका छन् ।

