जनकपुरधामको पर्यटन प्रवद्र्धन, होटल व्यवसायीले भोगिरहेका समस्या तथा तिनको समाधानका विषयमा पर्यटनमन्त्री गणेश पौडेल र निजी क्षेत्र तथा होटल व्यवसायीबीच छलफल भएको छ ।
प्रतिनिधिसभा सदस्य मनिष झाको सहभागितामा भएको सो छलफलमा जनकपुरधामलाई धार्मिक तथा सांस्कृतिक पर्यटनको प्रमुख गन्तव्यका रूपमा विकास गर्ने, स्वदेशी तथा विदेशी पर्यटकको आगमन बढाउने र होटल व्यवसायलाई व्यवस्थित तथा प्रतिस्पर्धी बनाउने विषयमा विचार विमर्श भएको हो ।
छलफलका क्रममा मन्त्री पौडेलले जनकपुरधामको धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्त्वलाई पर्यटन विकाससँग जोड्नुपर्ने विषयमा जोड दिए । जनकपुरधामको पर्यटन सम्भावनालाई आर्थिक समृद्धिको आधार बनाउन आवश्यक पूर्वाधार विकास, पर्यटकमैत्री सेवा तथा निजी क्षेत्रसँगको सहकार्य महत्त्वपूर्ण रहेको उनको भनाइ थियो । त्यस्तै, प्रतिनिधिसभा सदस्य झाले जनकपुरधामको पर्यटन क्षेत्रलाई चलायमान बनाउन सरकार, निजी क्षेत्र र स्थानीय सरोकारवालाबीच प्रभावकारी समन्वय आवश्यक रहेको धारणा राखे ।
पर्यटनसँग सम्बन्धित व्यवसायीका समस्या पहिचान गरी तिनको समाधानका लागि नीतिगत तथा व्यावहारिक पहल गर्नुपर्नेमा उनले जोड दिए । होटल व्यवसायीहरूले व्यवसाय सञ्चालनका क्रममा भोगिरहेका समस्या, पर्यटन क्षेत्रको विद्यमान अवस्था तथा पर्यटकको बसाइ अवधि र खर्च बढाउन आवश्यक उपायबारे छलफलमा विषय उठाएका थिए । जनकपुरधाममा पर्यटकको आगमन बढाउन धार्मिक स्थलहरूको व्यवस्थित प्रवद्र्धन, पर्यटन पूर्वाधारको सुधार, सेवा सुविधाको गुणस्तर वृद्धि र प्रचारप्रसारलाई प्रभावकारी बनाउनुपर्ने विषयमा समेत चर्चा भएको थियो ।
जनकपुरधाम जानकी मन्दिर, विवाहपञ्चमी, रामजानकी विवाह महोत्सव, छठ तथा मिथिलाको मौलिक कला संस्कृतिका कारण धार्मिक र सांस्कृतिक पर्यटनको महत्त्वपूर्ण केन्द्रका रूपमा परिचित छ । यद्यपि, यस सम्भावनालाई स्थानीय अर्थतन्त्र र रोजगारी विस्तारसँग जोड्न सरकारी योजना तथा निजी क्षेत्रको लगानीबीच प्रभावकारी तालमेल आवश्यक देखिन्छ । पर्यटन क्षेत्रको विकाससँगै होटल, यातायात, हस्तकला, स्थानीय उत्पादन तथा अन्य सेवा व्यवसायमा समेत आर्थिक गतिविधि विस्तार हुने विश्वास गरिएको छ ।
जनकपुरधामल ा र्इ आकर्षक पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न सरकार र व्यवसायीबीच निरन्तर सहकार्य तथा छलफलमा उठेका विषयको कार्यान्वयन आवश्यक रहेको सरोकारवालाहरूको धारणा छ ।

