२०८३ कार्तिक २, आईतवार १६:४०

मकवानपुरको भीमफेदी गाउँपालिका- १ बादरेभीरस्थित हेटौँडा–भैँसे सडक खण्डमा आज दिउँसो विद्युतीय सवारी साधन (ईभी) दुर्घटना हुँदा ११ जना घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ।

काठमाडौंबाट रौतहटको गौरतर्फ जाँदै गरेको बा.प्र.०३–००१ ज ०६७४ नम्बरको भाडाको ईभी गाडी दिउँसो करिब १२:३० बजे अनियन्त्रित भई सडकको दाहिनेतर्फको भित्तामा ठोक्किएर बायाँ किनारको नालामा खसेको थियो।

दुर्घटनाको खबर प्राप्त हुनासाथ प्रहरी चौकी भैँसेबाट खटिएको प्रहरी टोलीले घटनास्थल पुगेर घाइतेहरूको तत्काल उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल पठाएको थियो ।

दुर्घटनामा रौतहटको दुर्गा भगवती गाउँपालिका-१ पिपराटोल बस्ने अन्दाजी ५० वर्षीय हरि साह गम्भीर घाइते भएका छन् । उनको मुखमा गहिरो चोट लागेकाले प्राथमिक उपचारपछि थप उपचारका लागि चितवन मेडिकल कलेजमा रिफर गरिएको छ ।

दुर्घटनापछि ईभी चालक भने घटनास्थलबाट फरार भएका छन् । प्रहरीले फरार चालकको खोजी भइरहेको जनाएको छ । दुर्घटनाग्रस्त गाडी घटनास्थलमै रहेको र गाडी धनी शिवकान्त झासँग सम्पर्क भइसकेको छ ।

दुर्घटनामा घाइते भएका अन्य यात्रुहरूको अवस्था भने सामान्य रहेको छ ।

Comment

Related News

Latest News

Trending News