मध्यपूर्वमा बढ्दो सुरक्षा जोखिमलाई ध्यानमा राख्दै अमेरिकाले साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स (यूएई), कुवेत, जोर्डन, बहराइन, ओमान, कतार, इराक, लेबनान, यमन र इजरायलमा रहेका आफ्ना नागरिकलाई सुरक्षा सतर्कता अपनाउन आग्रह गरेको छ ।
अमेरिकी कूटनीतिक नियोगहरूले क्षेत्रीय तनाव बढेमा हवाई मार्ग बन्द हुन सक्ने, उडान रद्द हुन सक्ने तथा यात्रा योजनामा अवरोध आउन सक्ने चेतावनी दिएका छन् ।
इरान र त्यसका समर्थक समूहबाट अमेरिकी नागरिक, कम्पनी तथा संस्थाहरू निशानामा पर्न सक्ने जोखिमप्रति पनि सचेत गराइएको छ ।
हवाई मार्ग बन्द हुन सक्ने चेतावनी
अमेरिकी नियोगहरूले यात्रुहरूलाई उडानको पछिल्लो अवस्था सम्बन्धित विमान कम्पनी र विमानस्थलबाट पुष्टि गर्न आग्रह गरेका छन् । निर्धारित समयअनुसार, उडान सञ्चालन हुने निश्चित नहुने भन्दै यात्रा योजनामा लचकता अपनाउन सुझाव दिइएको छ ।
इराकमा बग्दाद, इर्बिल, बसरा र सुलेमानिया विमानस्थलबाट उडानसम्बन्धी जानकारी लिन भनिएको छ । लेबनानमा भने बेरुतस्थित रफिक हरिरी अन्तर्राष्ट्रिय विमानस्थलबाट जानकारी लिन सल्लाह दिइएको छ ।
अन्य प्रभावित देशका अमेरिकी नागरिकलाई पनि स्थानीय सुरक्षा अवस्थाबारे जानकारी राख्न र अमेरिकी विदेश मन्त्रालयको ‘स्मार्ट ट्राभलर इनरोलमेन्ट प्रोग्राम’ (एसटीईपी) मा दर्ता भएर ताजा सूचना प्राप्त गर्न आग्रह गरिएको छ ।
यमनमा सुरक्षा जोखिमका कारण अमेरिकी सरकारले आफ्ना नागरिकलाई आपत्कालीन सहायता उपलब्ध गराउन नसक्ने चेतावनी दिएको छ । यद्यपि, यी सतर्कताले सबै विमानस्थल बन्द भइसकेको वा सबै उडान रद्द भएको जनाउँदैनन् ।
इरान र हुथी आक्रमणको जोखिम
अमेरिकी चेतावनीमा इरान समर्थित हुथी समूहका आक्रमणबाट साउदी अरेबियाका नागरिक विमानस्थल तथा महत्त्वपूर्ण पूर्वाधारमा पर्न सक्ने जोखिम पनि उल्लेख गरिएको छ । यस्ता आक्रमणले मानवीय क्षति र यात्रामा अवरोध निम्त्याउन सक्ने जनाइएको छ ।
इरानका लागि अमेरिकी भर्चुअल दूतावासले अमेरिकी नागरिकलाई त्यहाँ यात्रा नगर्न र इरानमा रहेका नागरिकलाई तत्काल देश छाड्न आग्रह गरेको छ ।
अमेरिकी नागरिकलाई सतर्क रहन आग्रह
अमेरिकी कूटनीतिक नियोगहरूले आफ्ना नागरिकलाई प्रदर्शन र ठूलो भीडबाट टाढा रहन, प्रहरीको बाक्लो उपस्थिति भएका क्षेत्रमा नजान, स्थानीय सञ्चारमाध्यमबाट सुरक्षा अवस्थाबारे जानकारी लिन र अधिकारीहरूको निर्देशन पालना गर्न सुझाव दिएका छन् ।
त्यसैगरी, मोबाइल फोन चार्ज राख्न तथा अमेरिकी संस्थान, कार्यालय र अन्य अमेरिकी हितसँग सम्बन्धित स्थानमा अतिरिक्त सावधानी अपनाउन आग्रह गरिएको छ ।


