जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढी प्रभावितका लागि हानी तथा नोक्सानीको सम्बोधनसम्बन्धी कोष (एफआरएलडी) को पहिलो विशेष बोर्ड बैठकले नेपालका लागि २ करोड अमेरिकी डलर र अनुगमन शुल्कबापत १६ लाख अमेरिकी डलर गरी कुल २ करोड १६ लाख अमेरिकी डलर छुट्याउने निर्णय गरेको छ ।
यो रकम झण्डै ३ अर्ब २६ करोड रुपैयाँ बराबर हो । हिजो बेलुका बसेको बोर्डको विशेष आकस्मिक बैठकले रकम उपलब्ध गराउने निर्णय गरेको हो । विशेष बैठकले बाढी प्रभावित समुदायको राहत, पुनर्स्थापना तथा पुनर्निर्माणका लागि नेपाललाई अनुदान उपलब्ध गराउने निर्णय गरेको कृषि, वन तथा पर्यावरण मन्त्रालयले जनाएको छ ।
कोषको निर्णयअनुसार नेपालले भोटेकोशी क्षेत्रको बाढीबाट प्रभावित समुदायलाई लक्षित गरी छुट्टै आयोजना प्रस्ताव तयार गरी पेस गर्नुपर्ने छ । कोषको प्रचलित कार्यविधिअनुसार प्रस्ताव स्वीकृत भएपछि प्रभावित समुदायका लागि आवश्यक कार्यक्रम सञ्चालन गर्न सकिनेछ । मन्त्रालयका अनुसार गएको भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट १५ हजार घरपरिवारका ६० हजारभन्दा बढी व्यक्ति प्रत्यक्ष प्रभावित भएका छन् ।
यो विपद्बाट एक हजार ५ सय भन्दा धेरैले ज्यान गुमाएका तथा पाँच हजारभन्दा धेरै व्यक्ति बेपत्ता भएका प्रारम्भिक विवरण छ । बाढीबाट भएको प्रारम्भिक आर्थिक क्षति दुई अर्ब ७० करोड अमेरिकी डलर बराबर रहेको र पुनर्निर्माणका लागि चार अर्ब ७० करोड अमेरिकी डलर आवश्यक पर्ने अनुमान गरिएको कृषि मन्त्रालयले जनाएको छ ।


