भारतमा खाद्य सुरक्षा तथा स्वच्छतासम्बन्धी मापदण्ड गम्भीर रूपमा उल्लंघन गरेको पाइएपछि भारतीय कम्पनी सूर्य फुड एन्ड एग्रो लिमिटेडद्वारा उत्पादित प्रियागोल्ड बिस्कुटको नेपालमा आयात, बिक्री वितरण तथा उपभोगमा रोक लगाइएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजारमा उपलब्ध उक्त ब्रान्डका बिस्कुट तत्काल फिर्ता गर्न र फिर्ता गरिएका सामग्रीको सुरक्षित व्यवस्थापन गर्दै आवश्यक अभिलेख राख्न सम्बन्धित व्यवसायीलाई निर्देशन दिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाए अनुसार भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले प्रियागोल्ड बिस्कुट उत्पादक कम्पनीको अनुमतिपत्र निलम्बन गरेको सूचनाका आधारमा नेपालमा समेत प्रतिबन्ध लगाउने निर्णय गरिएको छ ।
भारतीय प्राधिकरणले सन् २०२६ अक्टोबर १७ अर्थात् २०८३ असोज ३१ गते जारी गरेको सूचनामा कम्पनीको उत्पादन प्रक्रियामा गम्भीर त्रुटि भेटिएको उल्लेख गरिएको छ । उक्त सूचना अनुसार कम्पनीले मानव उपभोगका लागि प्रयोग गर्न नहुने, गाईवस्तुको दानाका रूपमा प्रयोग गरिने सामग्री खाद्य उत्पादनमा प्रयोग गरेको पाइएको छ । त्यसैगरी कारखानामा सरसफाइ, कीट नियन्त्रण, कच्चा पदार्थको भण्डारण तथा कर्मचारीको व्यक्तिगत स्वच्छतासम्बन्धी मापदण्डमा समेत कमजोरी भेटिएको जनाइएको छ । आवश्यक मर्मतसम्भारको अभाव र खाद्य उत्पादनका क्रममा पालना गर्नुपर्ने स्वच्छतासम्बन्धी नियम उल्लंघन भएको विषयलाई पनि गम्भीर रूपमा लिइएको छ ।
भारतीय प्राधिकरणले कम्पनीको अनुमतिपत्र निलम्बन गर्नुका साथै कम्पनीविरुद्ध कानुनी कारबाही अघि बढाउन स्वीकृति दिएको सूचनामा उल्लेख गरिएको छ । सोही निर्णयपछि नेपालमा पनि सम्बन्धित उत्पादनको बिक्री वितरण रोकिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक सञ्जीव कर्णले नेपालमा उक्त बिस्कुटको आधिकारिक आयातकर्ता तथा खाद्य व्यवसायीलाई बजारमा रहेका सबै बिस्कुट तत्काल फिर्ता गर्न निर्देशन दिएका छन् । विभागले फिर्ता गरिएका बिस्कुटको सुरक्षित व्यवस्थापन गर्न, त्यसको परिमाणसहित आवश्यक विवरण अभिलेखमा राख्न तथा निर्देशन कार्यान्वयन गर्न सम्बन्धित पक्षलाई आग्रह गरेको छ ।
नेपाल–भारत खुला सीमाका कारण भारतीय बिस्कुटलगायत खाद्य सामग्री सहज रूपमा नेपाल भित्रिने गरेका छन् । तर, आयातित खाद्य सामग्रीको गुणस्तर परीक्षण, बजार अनुगमन र मापदण्ड पालना गराउने कार्य प्रभावकारी हुन नसक्दा उपभोक्ताको स्वास्थ्य सुरक्षामाथि प्रश्न उठ्ने गरेको छ । विशेषगरी तराई–मधेशका सीमावर्ती बजारमा भारतीय बिस्कुट तथा अन्य खाद्य सामग्री खुलेआम बिक्री हुने गरेका छन् । आधिकारिक आयातमार्फत आएका सामग्रीबाहेक अनौपचारिक माध्यमबाट भित्रिने खाद्य वस्तुको गुणस्तर परीक्षण र अभिलेख व्यवस्थापन थप चुनौतीपूर्ण हुन सक्छ ।
यस्तो अवस्थामा नियमित अनुगमन, प्रयोगशाला परीक्षण र सीमा क्षेत्रमा निगरानी बढाउनुपर्ने आवश्यकता देखिएको छ । काठमाण्डुमै गरिएको गुणस्तरसम्बन्धी परीक्षण तथा अनुगमनपछि प्रियागोल्ड बिस्कुटबारे यस्तो निर्णय सार्वजनिक हुनुले आयातित खाद्य सामग्रीको प्रभावकारी नियमनको आवश्यकतालाई पुनः उजागर गरेको छ । तर, सबै भारतीय खाद्य सामग्री गुणस्तरहीन छन् भन्ने निष्कर्ष निकाल्न नमिल्ने भएकाले जोखिममा आधारित परीक्षण र प्रमाणका आधारमा कारबाही गर्नु आवश्यक छ । विभागले उपभोक्तालाई प्रियागोल्ड बिस्कुट खरिद तथा उपभोग नगर्न सचेत गराएको छ ।
यसका साथै, सम्बन्धित स्थानीय तह र स्थानीय प्रशासनलाई बजार अनुगमन गरी प्रतिबन्धको निर्णय कार्यान्वयन गराउन आग्रह गरिएको छ । खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ अनुसार खाद्य पदार्थको गुणस्तर र स्वच्छतासम्बन्धी मापदण्ड उल्लंघन गर्ने व्यवसायीमाथि कारबाही गरिने विभागले जनाएको छ । उपभोक्ताको स्वास्थ्य सुरक्षाका लागि प्रतिबन्धित उत्पादन बजारबाट हटाउने कार्यसँगै सीमावर्ती क्षेत्रमा खाद्य सामग्रीको नियमित जाँच, आयातकर्ताको जवाफदेहिता र बिक्री वितरणको प्रभावकारी अनुगमनलाई प्राथमिकता दिनुपर्ने देखिन्छ । तर जनकपुरधाम बजार क्षेत्रमा भने अझै पनि प्रतिबन्धित प्रियागोल्ड बिस्कुट सहजै रुपमा पाइने गरेको एक उपभोक्ताले जानकारी दिए । यसप्रति स्थानीय प्रशासनसमेत गम्भीर रुपमा कारबाही प्रक्रिया अघि बढाउनुपर्ने आवश्यकता रहेको छ ।


