२०८३ कार्तिक १०, मंगलवार ०७:२३

गत असोज महिनामा मात्रै धनुषा जिल्लामा १५९ वटा अपराधसम्बन्धी घटना दर्ता भएको भने लागूऔषधसम्बन्धी १० वटा मुद्दामा ११ जना मानिस पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय धनुषा तथा मातहतका प्रहरी कार्यालयबाट सम्पादित कार्यको विवरण अनुसार आत्महत्या सम्बन्धी १७, चोरीसम्बन्धी ७, सामाजिक अपराधसम्बन्धी ३४, महिला तथा बालबालिकासम्बन्धी १० र सवारी दुर्घटनासम्बन्धी ४ घटना दर्ता भएका छन् । जघन्य तथा गम्भीर अपराधतर्फ कर्तव्य ज्यानसम्बन्धी ४ घटना दर्ता भएको विवरणमा उल्लेख छ । त्यस्तै, आर्थिक अपराधतर्फ बैंकिङ कसुरका ७, जुवातासका १, ठगीका २१ र मुद्रासम्बन्धी १ घटना दर्ता भएका छन्।

यसबाहेक लागूऔषधसम्बन्धी मुद्दा, अभिलेखमा रहेका पुराना मुद्दा तथा अन्य शीर्षकका घटनासमेत प्रहरीको विवरणमा समेटिएका छन् । प्रहरीले चालु मुद्दाका प्रतिवादी पक्राउ गर्ने अभियानलाई पनि निरन्तरता दिएको जनाएको छ । सार्वजनिक विवरणअनुसार धनुषामा चालु मुद्दाका १०१ जना प्रतिवादी पक्राउ परेका छन् । सार्वजनिक चासो रहेका तथा पेन्डिङ अवस्थामा रहेका मुद्दाको अनुसन्धानमा समेत प्रहरीले काम गरेको छ । विवरणअनुसार सार्वजनिक चासोका १ हजार २७२ मुद्दामध्ये ८६ वटाको फछ् र्योट भएको उल्लेख छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी एक मुद्दा दर्ता भएको विवरणमा उल्लेख छ । फैसला कार्यान्वयनतर्फ १०३ जना प्रतिवादी पक्राउ परेका छन् । उनीहरूबाट १० वर्ष १ महिना ५ दिन कैद तथा ५७ लाख ८२ हजार ६६६ रुपैयाँ जरिवाना असुलउपर गर्नुपर्ने विवरणमा जनाइएको छ ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसम्बन्धी शीर्षकमा असोज महिनामा ८४ वटा उजुरी परेको विवरणमा उल्लेख छ । उमेर समूहका आधारमा १८ वर्षमुनिका २, १९ देखि २५ वर्षका ३०, २६ देखि ४० वर्षका ३२, ४१ देखि ५९ वर्षका १३ र ६० वर्षमाथिका ७ जना पीडित रहेको तथ्यांक सार्वजनिक गरिएको छ । हराएका तथा फेला परेका महिला, पुरुष, बालबालिका र ज्येष्ठ नागरिकसम्बन्धी विवरणअनुसार ६९ जना हराएको र ४९ जना फेला परेको उल्लेख छ । हराएका व्यक्तिको खोजी तथा उद्धारलाई प्रहरीले प्राथमिकतामा राखेको जनाएको छ । यस्तै लागूऔषध नियन्त्रणतर्फ प्रहरीले असोज महिनामा १० वटा मुद्दा दर्ता गरी ११ जनालाई पक्राउ गरेको जनाएको छ। बरामद लागूऔषधमा १०८ किलोग्राम गाँजा र २०४.७७ ग्राम ब्राउन सुगर (खैरो हेरोइन) रहेको विवरणमा उल्लेख छ ।

यसका अतिरिक्त नाइट्राजेपाम, डाइजेपाम, प्रोक्सिहम–स्पास, आई–कोफलगायतका औषधि तथा विभिन्न प्रकारका ट्याब्लेट र एम्पुलसमेत बरामद गरिएको जनाइएको छ । चरेस र अफिम भने उक्त विवरणमा बरामद नभएको उल्लेख छ । प्रहरी कार्यालयमा परेका ठाडो उजुरीतर्फ प्रत्यक्ष रूपमा प्रहरी कार्यालयमा ८६८ वटा उजुरी परेकोमा ५८२ वटा फछ् र्योट भएका छन् भने २८६ वटा बाँकी रहेका छन् । जिल्ला प्रशासन कार्यालयमार्फत प्रहरी कार्यालयमा आएका ३० उजुरीमध्ये १९ वटा फछ्र्योट भएका छन् र ११ वटा बाँकी रहेका छन् । प्रत्यक्ष रुपमा प्रहरीमा ८३८ उजुरी परेको छ जसमा ८५३ वटा फछ्र्योट भएको र २७५ वटा बाँकी रहेको विवरणमा उल्लेख छ ।

Comment

Related News