२०८३ कार्तिक १०, मंगलवार १६:३६
चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपिएल) सिजन–३ को पहिलो खेलमा विराटनगर किंग्सलाई ८ रनले पराजित गरेको छ।
त्रिवि क्रिकेट मैदानमा मंगलबार भएको खेलमा १५८ रनको लक्ष्य पछ्याएको विराटनगर १९.३ ओभरमा १४९ रनमा अलआउट भयो।
विराटनगरलाई जितका लागि अन्तिम ५ ओभरमा ५४ रन चाहिएको थियो। क्रिजमा आन्द्रे रसेल रहेकाले विराटनगरको जितको सम्भावना कायम थियो। तर १६औं ओभरको पाँचौं बलमा रसेल आउट भएपछि विराटनगरको इनिङ्स एकाएक धराशायी बन्यो।
रसेलले १७ बलमा ४ छक्का र १ चौकाको मद्दतले ३३ रन बनाए। उनी कमल ऐरीको बलमा देव खनालको हातबाट क्याच आउट भए। त्यसपछि विराटनगरले नियमित अन्तरालमा विकेट गुमाउँदै खेल चितवनलाई सुम्पियो।


