सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) धनुषाका जिल्ला सभापति लक्ष्मेश्वर यादव र जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) रुपेश खड्काबीच आरोप–प्रत्यारोप चर्किएको छ ।
एक सार्वजनिक कार्यक्रममा सभापति यादवले प्रहरी प्रमुख खड्कामाथि घुसखोरी र दलालीको आरोप लगाएपछि खड्काले प्रेस विज्ञप्ति जारी गर्दै आरोप पुष्टि गर्न चुनौती दिएका छन् । पारिवारिक विवादबाट शुरु भएको यो घटनाले अहिले राजनीतिक तथा प्रहरी वृत्तमा चर्चा पाएको छ । दुवै पक्षका आ–आफ्ना दाबी सार्वजनिक भए पनि प्रहरीमाथि लगाइएको घुसखोरीसम्बन्धी आरोपको स्वतन्त्र पुष्टि भएको छैन ।
आइतबार रास्वपा धनुषाले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा सभापति यादवले एसपी खड्कालाई ‘घुसखोर’ र ‘दलाल’ जस्ता शब्द प्रयोग गर्दै सार्वजनिक रूपमा आलोचना गरेका थिए । सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा यादवले सामान्य झगडाका घटनामा समेत आर्थिक लेनदेनका आधारमा प्रहरीले मुद्दा दर्ता गर्ने गरेको आरोप लगाएका छन् । आफूले त्यस्ता घटना प्रत्यक्ष नदेखे पनि दर्जनौँ व्यक्तिबाट यसबारे जानकारी पाएको उनको दाबी छ ।
उक्त कार्यक्रममा धनुषा क्षेत्र नम्बर २ का सांसद रामविनोद यादव, क्षेत्र नम्बर ३ का सांसद मनिष झा र क्षेत्र नम्बर ४ का सांसद राजकिशोर महतोलगायत रास्वपाका नेता तथा कार्यकर्ताको उपस्थिति थियो । सभापति यादवको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै एसपी खड्काले मंगलबार बिहान प्रेस विज्ञप्ति जारी गरेका छन् । सो विज्ञप्तिमा आफू र जिल्ला प्रहरी कार्यालयको नाम जोडेर लगाइएका आरोप आपत्तिजनक, भ्रामक र तथ्यहीन रहेको उल्लेख गरिएको छ ।
एसपी खड्काले आरोप पुष्टि गर्न चुनौती दिँदै अपुष्ट सामग्री सामाजिक सञ्जालमा शेयर नगर्न आग्रह गरेका छन् । घटनाबारे प्रचलित कानुनअनुसार अघि बढ्ने पनि उनले बताएका छन् । प्रहरी प्रमुखको विज्ञप्तिपछि विवादले थप चर्चा पाएको छ। एकातिर यादवले प्रहरीको कार्यशैलीमाथि प्रश्न उठाएका छन् भने अर्कोतिर खड्काले आरोपको प्रमाण माग्दै त्यसलाई अस्वीकार गरेका छन् । धनुषा प्रहरीले जनाए अनुसार हँसपुर नगरपालिका–८ स्थित भतही टोलका ५६ वर्षीय यादवले पारिवारिक महिला सदस्य हराएको भन्दै २०८३ असोज १७ गते जिल्ला प्रहरी कार्यालयमा खोजतलासका लागि निवेदन दिएका थिए । तर, अनुसन्धानका क्रममा ती महिला हराएकी नभई अदालतबाट विवाहको नाता कायम गराएर आफ्ना पतिसँग गएको खुलेको प्रहरीको भनाइ छ।
प्रहरीका अनुसार काठमाण्डु जिल्ला अदालतबाट असोज ८ गते नै विवाहको नाता कायम भएको थियो भने असोज १४ गते ती महिला पतिसँग गएकी थिइन् । धनुषा प्रहरीले दुबै पक्षबीच कुराकानी गराउनुका साथै विवाहसम्बन्धी प्रमाण देखाएर घटनाको वास्तविक अवस्थाबारे जानकारी गराएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाले जारी गरेको विज्ञप्ति अनुसार सभापति यादवले आफ्नो मञ्जुरीबिना विवाह भएको भन्दै सम्बन्धित व्यक्तिहरूलाई पक्राउ गरी जबर्जस्ती छुटाइदिन दबाब दिएका थिए ।
धनुषा प्रहरीले जनाए अनुसार सम्बन्धित महिला २७ वर्षकी र उनका पति २३ वर्षका छन् । उनीहरूको विवाह कानुनतः वैधानिक रहेको प्रहरीको दाबी छ । जात नमिलेको र युवकको आर्थिक अवस्था कमजोर रहेको कारण यादवले विवाह स्वीकार नगरेको प्रहरीको बुझाइ छ । सो विज्ञप्तिमा यादवले जिल्ला प्रहरी कार्यालय घेराउ गर्ने धम्की दिएको र त्यसपछि सार्वजनिक कार्यक्रममा प्रहरी प्रमुखमाथि आरोप लगाएको पनि उल्लेख गरिएको छ । पारिवारिक विषयमा शुरु भएको विवाद अहिले राजनीतिक नेतृत्व र प्रहरी प्रशासनबीचको आरोप– प्रत्यारोपमा परिणत भएको छ ।
यादवका आरोप र खड्काको खण्डनबीच घटनाले थप चर्चा पाए पनि घुसखोरीसम्बन्धी आरोप पुष्टि गर्ने स्वतन्त्र प्रमाण सार्वजनिक भएको छैन । अब विवादको वास्तविकता स्पष्ट हुन आरोपहरूको निष्पक्ष छानबिन, उपलब्ध प्रमाणको परीक्षण र सम्बन्धित पक्षका दाबीको तथ्यगत मूल्यांकन हुनुपर्ने भन्दै बजारमा चर्चा परिचर्चा पनि चल्न थालेको छ ।


