नेपाल प्रिमियर लिग (एनपीएल) तेश्रो संस्करणमा कर्णाली याक्सले विजयी सुरुवात गरेको छ ।
कर्णालीले दिएको १३३ रनको लक्ष्य पछ्याएको जनकपुर ३ बल अगावै ११३ रनमा सिमित भई १९ रनले पराजित भयो । जनकपुरका लागि अभिषेक तिवारीले सर्वाधिक २० रन बनाएपनि जित दिलाउन सकेनन् । कप्तान हरमीत सिंह र मोइन अलीले समान १९ रन बनाए । जिम्मी निशम १५, मायन यादव १४, तृतराज दास एक, अनिलकुमार शाह ११, कुशल परेवा ६ र आदित्य मेहता कुनै पनि रन नजोडी आउट भए । ललित राजवंशी एक रनमा आउट हुँदा राहुल यादव एक रनमा अविजित रहे । बलिङमा कर्णालीका युनिस ठकुरी र हुसेन तलतले समान ३ विकेट लिए । युनिसले ४ ओभरमा एक मेडनसहित ३ विकेट लिएका हुन् । उनले एकै ओभरमा जनकपुरका कप्तान हर्मीत र जिमीलाई आउट गर्दै खेल कर्णालीको पकडमा ल्याएका थिए । नन्दन यादवले दुई र कप्तान सोमपाल कामीले एकएक विकेट लिए ।
त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३२ रन बनाएको थियो । कर्णालीका ओपनर अरिफुल इस्लामले सर्वाधिक ४३ रन बनाएका थिए । उनले २९ बलमा ४ चौका प्रहार गरेका थिए । कर्णालीले सुरुवातबाटै विकेट गुमाउन पुग्यो । पहिलो ओभरको अन्तिम बलमा कर्णालीका ओपनर मार्क वाट एक रन जोडेर पभेलियन फर्किए । ४ रनमा पहिलो विकेट गुमाएको कर्णालीले थप १४ रन जोड्दो दोस्रो विकेट गुमाउन पुग्यो । डेब्यु गरेको जनकपुरका आइकोनिक प्लेयर राहुल यादवले पहिलो बलमै विकेट लिँदै दीपक डुम्रेलाई १३ रनमा आउट गराए ।
कर्णालीले ३७ रन जोड्दा तेस्रो विकेट गुमायो । हुसेन तलत ३ रन जोडेर आउट भए । त्यसपछि पवन सर्राफ र अरिफुल इस्लामले कर्णालीको ब्याटिङ उकास्ने प्रयास गरे । उनीहरुले चौथो विकेटका लागि ४२ रनको साझेदारी गरे । अरिफुल २९ बलमा ४३ र पवन ३७ बलमा ३७ रन बनाएर आउट भए । त्यसपछि अक्बर अली एक, कप्तान सोमपाल कामी एक र गुल्सन झाले १२ रन बनाए । नन्दन यादव ९ रनमा आउट हुँदा युवराज खत्री र युनिश ठकुरी अविजित रहे । बलिङमा जनकपुरका कप्तान हरमीत सिंहले ३ विकेट लिए । मोइन अली र राहुल यादवले दुई/दुई र ललित राजवंशीले एक विकेट लिए ।
एनपीएलमा मंगलबार पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सबिच साँझ ५ बजे हुनेछ । यसैबीच पहिलो चरणमा भएको खेलमा चितवन राइनोजले विराटनगर किंग्सलाई ८ रनलाई हराएको छ । चितवनले दिएको १५८ रनको लक्ष्य पछ्याएको विराटनगर १९ ओभर ३ बलमा १४९ रनमा समेटिएको थियो । विराटनगरका लागि चितवनका बलर कमलसिंह ऐरी घातक बनेका थिए । ४ ओभर बलिङ गरेको कमलले २६ रन खर्चेर ४ विकेट लिन सफल भएका थिए । रञ्जित कुमार, मौसम ढकाल, टम टेलर र डान मोस्लीले एकएक विकेट लिए । १८औं ओभरमा लगातार दुई विकेट लिँदै कमलले खेल चितवनतर्फ फर्काएका थिए ।


