मधेश प्रदेशका धनुषासहित देशैभरिबाट दुई लाख तीन हजार ५८६ जनाको नाम मतदाता नामावलीबाट हटाइएको छ ।
मृत्यु भएका, दोहोरो नाम परेका र नागरिकता त्यागेका लगायतका व्यक्तिहरुको नाम मतदाता नामावली सूचीबाट हटाइएको जनाइएको छ । मृत्यु भएकाहरू ४५ हजार ३२२ जना रहेका छन् । एक लाख ५८ हजार २६४ जना मतदाताको भने दोहोरो परेको, रद्द भएको वा त्याग गरेकोसँग सम्बन्धित छ । दुवै गरेर कूल दुई लाख तीन हजार ५८६ जनाको नाम मतदाता नामावलीबाट हटाइएको निर्वाचन आयोगले जनाएको छ । मतदाता नामावलीबाट हटाइएका जिल्लाहरूमा झापा, मोरङ, सप्तरी, कैलाली लगायतका जिल्लाका धेरै रहेका छन् ।
मोरङ जिल्लामा मृत्यु भएका ६१० जना र दोहोरो परेको, रद्द भएको वा त्याग गरेका ९ हजार ५२१ जनाको नाम मतदाता नामावलीबाट हटाइएको हो । सप्तरीमा मृत्यु भएका ६ हजार ३०१ जनाको नाम मतदाता नामावलीबाट हटेको छ भने यो जिल्लाका ४ हजार ८७ जनाको नाम दोहोरो परेको, रद्द भएको वा त्याग गरेको आधारमा नामावलीबाट हटेको छ । धनुषामा ३६९ जनाको मृत्यु भएका कारण मतदातानामावलीबाट नाम हटेको छ । यो जिल्लामा दोहोरो परेको, रद्द भएको वा त्याग गरेकाहरू ४ हजार ४४८ जना रहेका छन् ।
झापा जिल्लामा मृत्यु भएका ८३४ र दोहोरो परेको, रद्द भएको वा त्याग गरेका ६ हजार १८८ जनाको नाम मतदाता नामावलीबाट हटेको छ । सुनसरी जिल्लामा मृत्यु भएका ७९८ र दोहोरो परेको, रद्द भएको वा त्याग गरेका ४ हजार ७६२ जना छन् । रौतहटमा मृत्यु भएका २ हजार ५१४ र दोहोरो परेको, रद्द भएको वा त्याग गरेको आधारमा ४ हजार १५१ जनाको नाम मतदाता नामावलीबाट नामावलीबाट हटेको छ । पाल्पामा मृत्यु भएका ३ हजार ४४ जना र दोहोरो परेको, रद्द भएको वा त्याग गरेको आधारमा १ हजार ६८५ जनाको नामावलीबाट हटेको छ ।
रुपन्देहीमा मृत्यु भएका १८१ र दोहोरो परेको, रद्द भएको वा त्याग गरेका ४ हजार ३६१ जना रहेका छन् । कैलालीमा मृत्यु भएका १ हजार ३९ जनाको नाम नामावलीबाट हटेको छ । यो जिल्लामा दोहोरो परेको, रद्द भएको वा त्याग गरेका ६ हजार ५२५ जना रहेका छन् । २१ फागुन २०८२ मा भएको प्रतिनिधि सभा निर्वाचनमा कुल मतदाता संख्या १ करोड ८९ लाख ३ हजार ६८९ जना थिए । यसमा नामावली अद्यावधिक गर्ने क्रममा २ लाख ३ हजार मतदाता नामावलीबाट हटाइएका हुन् । आयोगका अनुसार गत भदौ १५ गतेसम्म १८ वर्ष उमेर पूरा भएका र नयाँ नाम दर्ता गराएका एक लाख ८७ हजार ६८६ जना मतदाता नामावलीमा थप भएका छन् ।
निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार स्थानीय तह र प्रदेशसभा निर्वाचनको पूर्वतयारी स्वरूप मतदाता नामावली अद्यावधिक गरिरहेको छ । उनका अनुसार इलेक्सन प्रिपेसन अन्तर्गत मतदाता नामावली अद्यावधिकको कार्य चलिराखेको हो । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचन अघि मतदाताहरूलाई आफ्नो राष्ट्रिय परिचयपत्र र मोबाइल नम्बर अद्यावधिक गर्न लगाउने तयारी गर्दैछ । पछिल्लो समय नामावली दर्ता गराएका मतदाताहरूको राष्ट्रिय परिचयपत्र पनि समावेश छन् । तर, पहिल्यै दर्ता गराएका मतदाताको राष्ट्रिय परिचयपत्र नम्बर समावेश छैन । आयोगले राष्ट्रिय परिचयपत्रको विवरण राख्ने निर्णय गरिसकेको छ । यसका लागि सम्बन्धित निकायसँग समझदारीपत्रमा हस्ताक्षर गर्ने तयारी छ ।


