२०८३ कार्तिक १२, बिहिवार ०७:३०

तिहार र छठपर्व नजिकिँदै जाँदा तराई–मधेशका बजारमा माटो र बाँसबाट बनेका परम्परागत सामग्रीको माग बढेको छ ।

चाडपर्वमा पूजाआजा तथा धार्मिक अनुष्ठानका लागि यस्ता सामग्री अनिवार्य रूपमा प्रयोग गरिने भएकाले बिक्रीसमेत उल्लेख्य रूपमा वृद्धि भएको छ । तिहारमा प्रयोग गरिने माटोका दियो, कलश, घैँलालगायतका सामग्री तथा छठपर्वमा आवश्यक पर्ने बाँसका कोनिया, नाङ्लो, ढाकी र अन्य सामग्री खरिद गर्न उपभोक्ता बजार पुग्न थालेका छन् । दशैँपछि यस्ता सामग्रीको माग बढ्दै गएको स्थानीय व्यापारीले बताएका छन् । चाडपर्वको मौसम शुरु भएसँगै कुमाल समुदायले बनाएका माटाका भाँडाकुँडा र मरिक (डोम) समुदायले तयार पारेका बाँसका सामग्रीको व्यापारले गति लिएको छ ।

स्थानीय व्यापारी बुचनीदेवी साहले जनाए अनुसार अन्य समयमा सामान्य रहने व्यापार दसैँदेखि छठपर्वसम्म राम्रो हुने गरेको छ । उनले बाँसबाट बनेका सामग्री बिक्री गर्न थालेको एक दशक भइसकेको बताए । æबाँसले बनाएको सामग्री बेचेको एक दशक भयो । अन्य समयमा ठिकठिकै व्यापार भए पनि दसैँदेखि छठसम्म राम्रो व्यापार हुँदै आएको छ,Æ उनले भने । साहले सामान्य समयमा दैनिक करिब एक हजार रुपैयाँको व्यापार हुने गरेको बताए । तर, दशैँदेखि तिहारसम्म आइपुग्दा कारोबार दोब्बर हुने गरेको छ ।

चाडपर्वका बेला धार्मिक तथा सांस्कृतिक परम्पराअनुसार सामग्री खरिद गर्नुपर्ने भएकाले बिक्री बढ्ने गरेको उनको भनाइ छ । सामान्य दिनमा माटो र बाँसबाट बनेका सामग्रीको माग सीमित रहने गरेको छ । विवाह, व्रतबन्ध, मृत्यु संस्कार तथा घरमा गरिने विभिन्न पूजाआजामा आवश्यकताअनुसार यस्ता सामग्री खरिद गरिन्छ । तर, नियमित रूपमा प्रयोग नहुने भएकाले अन्य समयमा यसको व्यापार चाडपर्वको तुलनामा कम हुने व्यापारी बताउँछन् । नगराईन नगरपालिका–२ की ममता देवी झाले तिहार र छठपर्व मधेशका समुदायमा विशेष महत्वका साथ मनाइने भएकाले माटो र बाँसका सामग्री खरिद गर्नैपर्ने अवस्था रहेको बताइन् ।

उनले मधेशका विभिन्न चाडपर्व, पूजा तथा धार्मिक अनुष्ठानमा माटाका भाँडाकुँडा र बाँसबाट बनेका सामग्रीको प्रयोग परम्परादेखि हुँदै आएको बताइन् । धार्मिक आस्था र सांस्कृतिक परम्परासँग जोडिएका यस्ता सामग्रीको प्रयोग चाडपर्वका बेला झनै बढ्ने गरेको छ । æमधेशका हरेक चाडपर्व तथा पूजामा माटाका भाँडा र बाँसका सामग्री नभइ हुँदैन । त्यसैले यो सिजनमा यस्ता सामग्रीको कारोबार बढ्ने गरेको छ,Æ झाले भनिन् । तिहारमा घरघरमा माटाका दियो बाल्ने, कलश स्थापना गर्ने तथा पूजाका लागि विभिन्न भाँडाकुँडा प्रयोग गर्ने चलन छ ।

त्यसैगरी, छठपर्वमा सूर्यदेवलाई अघ्र्य दिन आवश्यक पूजा सामग्री राख्न बाँसका कोनिया, ढाकी र नाङ्लो प्रयोग गरिन्छ । छठको विधि तथा परम्परामा यी सामग्रीको विशेष महत्त्व रहेकाले पर्व नजिकिँदै जाँदा बजारमा माग बढ्ने गरेको छ । माटो र बाँसबाट बनेका सामग्रीको बढ्दो कारोबारले स्थानीय सीप, श्रम र उत्पादनलाई समेत प्रोत्साहन गरेको छ । जिल्लाका विभिन्न पालिकामा बसोबास गर्ने कुमाल समुदायले माटाका भाँडाकुँडा बनाउँदै आएका छन् भने मरिक -डोम) समुदायका मानिस बाँसका सामग्री निर्माण तथा बिक्रीमा संलग्न छन् ।

उनीहरूले उत्पादन गरेका सामग्री स्थानीय बजारमै बिक्री हुन थालेपछि परम्परागत पेशामा आबद्ध समुदायको आम्दानी बढाउन सहयोग पुगेको छ । त्यस्तै राजविराज नगरपालिकाका प्रमुख इसरत परविनले स्थानीयस्तरमा उत्पादन भएका माटो र बाँसका सामग्री जिल्लाभित्रै खरिदबिक्री हुनु सकारात्मक पक्ष रहेको बताइन् । उनले स्थानीय उत्पादनले बजार पाउँदा स्थानीय सीपको संरक्षण हुनुका साथै आर्थिक गतिविधि पनि स्थानीयस्तरमै चलायमान हुने गरेको बताइन् ।

स्थानीय कुमाल र मरिक समुदायले उत्पादन गरेका सामग्री जिल्लाका विभिन्न बजारमा उपलब्ध हुन थालेपछि उपभोक्ताले खरिदका लागि अन्य जिल्लामा निर्भर हुनुपर्ने अवस्था नरहेको उनको भनाइ छ । चाडपर्वका बेला बढ्ने मागले स्थानीय उत्पादनको बजार विस्तार गर्न मद्दत पु¥याएको छ । परम्परागत सामग्रीको प्रयोगले धार्मिक तथा सांस्कृतिक महत्वलाई निरन्तरता दिनुका साथै स्थानीय उत्पादनकर्ता र व्यापारीको जीविकोपार्जनमा समेत योगदान पु¥याएको छ ।

Comment

Related News

Latest News

Trending News