२०८३ कार्तिक १३, शुक्रवार ०८:०२

नेपाली क्रिकेटमा नयाँ प्रतिभाको खोजी भइरहेका बेला जनकपुर बोल्ट्सका युवा मध्यम गतिका बलर राहुल यादवले नेपाल प्रिमियर लिग (एनपिएल) मा प्रभावशाली प्रदर्शन गरेका छन्।

कक्षा ९ मा अध्ययनरत १६ वर्षीय राहुलले बिहीबार काठमाडौं गोर्खाजविरुद्ध चार विकेट लिँदै आफ्नो बलिङ क्षमता प्रमाणित गरेका छन् । काठमाण्डुको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा राहुलले चार ओभरमा ३१ रन खर्चेर काठमाण्डुका चार ब्याटरलाई पेभिलियन फर्काए । उनले साम हेजलेट, स्मित पटेल, कप्तान करण केसी र मोहम्मद आदिल आलमको विकेट लिए। राहुलको उत्कृष्ट बलिङका कारण काठमाडौंको ब्याटिङ धराशायी बन्यो ।

जनकपुरले काठमाडौंले दिएको ११६ रनको लक्ष्य आठ विकेट बाँकी छँदै सहजै पूरा ग¥यो । यसअघि एनपिएलमा आफ्नो डेब्यू खेल खेलेका राहुलले कर्णाली याक्सविरुद्ध १५ रन खर्चेर दुई विकेट लिएका थिए । पहिलो खेलमा केही नर्भस भए पनि विकेट लिन सफल भएपछि आत्मविश्वास बढेको उनले बताएका छन् । ‘कर्णालीविरुद्धको पहिलो खेल एनपिएलमा मेरो पहिलो थियो। केही नर्भस थिएँ। पहिलो खेलमा विकेट लिन सफल भएपछि आज त्यो डर भाग्यो । त्यसैले आज विकेट लिन सफल भएँ,’ काठमाडौंविरुद्धको खेलपछि राहुलले भने ।

मधेश प्रदेशको रौतहटस्थित चन्द्रपुरका राहुलले खुला मैदानबाट क्रिकेट खेल्न सुरु गरेका छन् । चन्द्रपुर क्रिकेट एकेडेमीमा आफ्नो बलिङ कौशल निखारेका उनले सानै उमेरमा बलिङको गति र क्षमताका कारण ध्यान आकर्षित गर्न थालेका थिए । जनकपुर बोल्ट्सले आयोजना गरेको ट्यालेन्ट हन्टबाट छनोट भएका राहुल टोलीका आइकोनिक खेलाडीका रूपमा एनपिएलमा आबद्ध भएका हुन् । प्रतिभा पहिचान गर्ने प्रतियोगिताबाट छनोट हुँदै देशकै ठूलो फ्रेन्चाइज क्रिकेट प्रतियोगितामा स्थान बनाउन सफल हुनु उनको क्रिकेट यात्राको महत्त्वपूर्ण उपलब्धि छ ।

एनपिएलअघि चन्द्रपुर क्रिकेट लिगमा पनि राहुलले उत्कृष्ट प्रदर्शन गरेका थिए । उक्त प्रतियोगितामा म्यान अफ द म्याच बनेका उनले एनपिएलमा समेत आफ्नो क्षमता देखाउने संकेत दिएका थिए । कर्णालीविरुद्धको डेब्यू खेलमा दुई विकेट लिएपछि उनको बलिङबारे चर्चा सुरु भएको थियो । काठमाण्डुविरुद्धको प्रदर्शनले भने राहुलको सम्भावनालाई थप उजागर गरेको छ । विपक्षी टोलीका महत्वपूर्ण ब्याटरलाई आउट गर्दै उनले जनकपुरको जितमा महत्वपूर्ण योगदान दिए ।

राहुलले जनकपुर बोल्ट्ससँगको कुराकानीमा आफ्ना बुबाले क्रिकेट नबुझे पनि आफूलाई निरन्तर साथ र समर्थन गर्ने बताएका थिए । परिवारको साथ, स्थानीय क्रिकेट एकेडेमीमा गरेको अभ्यास र ट्यालेन्ट हन्टमार्फत पाएको अवसरले उनलाई एनपिएलसम्म पु¥याएको छ ।

Comment

Related News

Latest News

Trending News