२०८३ कार्तिक १३, शुक्रवार ०८:११

प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्षतर्फ कुनै पनि सिट जित्न नसकेपछि मधेश केन्द्रित दलहरू आगामी स्थानीय तह र प्रदेश सभा निर्वाचनको तयारीमा जुटेका छन् । संगठन सुदृढीकरण, दलहरूबीच एकता तथा मोर्चाबन्दी र आन्दोलनमार्फत जनाधार फर्काउने प्रयास भइरहे पनि नेतृत्वबीचको तिक्तता, आन्तरिक विवाद र विद्रोहले उनीहरूको चुनावी तयारीलाई चुनौती दिएको छ ।

जनता समाजवादी पार्टी (जसपा) नेपाल, जनमत पार्टी, राष्ट्रिय मुक्ति पार्टी नेपाल, नागरिक उन्मुक्ति पार्टी नेपाललगायतका दलहरू अहिले संगठन विस्तार र चुनावी रणनीति निर्माणमा केन्द्रित छन् । जसपा नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालबीच एकता भइ समायोजनको प्रक्रिया अघि बढेको छ भने जनमत पार्टीले महाधिवेशन सम्पन्न गरिसकेको छ । आगामी निर्वाचनलाई लक्षित गर्दै मधेश केन्द्रितसहित नौ राजनीतिक दलले अग्रगामी मोर्चा गठन गरेका छन् ।

मोर्चामा आबद्ध दलहरू साझा चुनाव चिह्न वा सिट बाँडफाँट गरेर निर्वाचनमा सहभागी हुने विकल्पमा छलफलमा व्यस्त छन् । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले दलहरूबीच एकता नभइ मोर्चालाई बलियो बनाएर अघि बढ्ने बताएका छन् । मोर्चाले आगामी प्रदेश सभा निर्वाचनसम्म सरकारमा सहभागी नहुने घोषणा गर्दै आन्दोलनको तयारीसमेत गरेको छ । छठपछि आन्दोलन घोषणा गर्ने र मंसिर १० गते टुँडिखेलबाट कार्यक्रम अघि बढाउने तयारी गरिएको छ । तर, पार्टीगत निर्णय र व्यवहारबीच देखिएको अन्तरविरोधले मोर्चाको विश्वसनीयतामाथि प्रश्न उठाएको छ ।

लुम्बिनी प्रदेशमा जसपा नेपालको संसदीय दलले पार्टीको निर्णयविपरीत सरकारमा सहभागी भएर सत्ता साझेदारी गरिरहेको छ । मधेश केन्द्रित दलहरूको मुख्य चुनौती चुनावी तालमेल मात्र नभइ पार्टीभित्रको एकता कायम गर्नु पनि हो । विगतमा पटक–पटक भएका पार्टी विभाजन, नेतृत्वको टकराव र फरक राजनीतिक स्वार्थका कारण बनेका नयाँ दलहरूले मधेशको मतलाई एकीकृत गर्न सकेका छैनन् । एकता र समायोजनको प्रक्रिया अघि बढे पनि नेतृत्व, जिम्मेवारी र संगठनात्मक संरचनाको व्यवस्थापन त्यति सहज छैन ।

 

जसपा नेपाल र लोसपा नेपालबीचको एकतापछि संगठन समायोजन तथा आन्दोलनको तयारी भइरहेको छ । तर, एकतापछि स्थानीय तहसम्मको नेतृत्व व्यवस्थापन, कार्यकर्ताको भूमिका र पुराना गुटबीचको समन्वय महत्वपूर्ण हुनेछ । त्यस्तै, मोर्चामा आबद्ध दलहरूबीच चुनावी क्षेत्र, उम्मेदवार छनोट र सिट बाँडफाँटमा सहमति कायम गर्नु अर्को चुनौती हो। सहमतिमा समस्या आए मोर्चाको एकतामाथि नै प्रश्न उठ्न सक्छ । जसपा नेपालका उपाध्यक्ष जितेन्द्र सोनलले चुनावी सफलताका लागि संगठन बलियो बनाउनुपर्ने बताए । उनले पार्टी अहिले संगठन विस्तारमा केन्द्रित रहेको बताए ।

राष्ट्रिय मुक्ति पार्टी नेपालका महासचिव सन्तोष मेहताले स्थानीय तहको निर्वाचन गैरदलीय आधारमा हुनुपर्ने पक्षमा आफूहरू रहेको बताए । यी फरक प्राथमिकताले पनि दलहरूबीच साझा चुनावी रणनीति बनाउन थप छलफल आवश्यक देखाउँछन् । मधेश केन्द्रित दलहरूको संसदीय यात्रामा उतारचढाव लामो समयदेखि देखिँदै आएको छ । २०६४ को संविधान सभा निर्वाचनमा मधेश केन्द्रित दलहरूले उल्लेख्य सफलता हासिल गरेका थिए । तर, त्यसपछिका निर्वाचनमा उनीहरूको प्रतिनिधित्व क्रमशः घट्दै गयो । २०७४ मा प्रत्यक्षतर्फ २१ सिट जितेका मधेश केन्द्रित दलहरू २०७९ मा ११ सिटमा सीमित भए । २०८२ फागुन २१ मा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा जसपा नेपालले समानुपातिकतर्फ एक लाख ७४ हजार ३१७ मत प्राप्त गरे पनि प्रत्यक्षतर्फ कुनै सिट जित्न सकेन । जनमत पार्टीले ७८ हजार ९७३ मत प्राप्त ग¥यो । अन्य मधेश केन्द्रित दलहरूले पनि मत पाए, तर प्रत्यक्षतर्फ प्रतिनिधित्व हासिल गर्न सकेनन् ।

Comment

Related News

Latest News

Trending News