मोरङ जिल्लामा मृत घोषणा भइसकेका एक व्यक्ति ६ महिनापछि घर फर्केपछि हलचल मचेको छ ।
जिल्लाको लेटाङ नगरपालिकाका ३७ वर्षीय पदमबहादुर राय मृत घोषित भई परिवारले काजकिरिया र दुर्घटना बीमाको रकमसमेत बुझिसकेको ६ महिनापछि सग्लो शरीरमा घर फर्किँदा यतिबेला प्रहरी प्रशासन र समाजमा ठूलो हलचल मच्चिएको हो । गत जेठ २६ गते सुनसरीको बराहक्षेत्र नगरपालिकामा–४ चतरा पकली खण्डमा मोटरसाइकलको ठक्करबाट एक जना घाइते भए । प्रहरीका अनुसार जेम्स चौधरीले चलाइरहेका प्र.१–०४– ००१ प.३६०४ नम्बरको मोटरसाइकलको ठक्करबाट घाइते भएका उनको विराट टिचिङ अस्पताल २७ जेठ दिउँसो १ बजे मृत्यु भयो ।
पहिचान हुन नसकेको शवको हुलिया माघदेखि हराइरहेका पदमबहादुरसँग मिल्दोजुल्दो थियो । २०८२ माघदेखि घरबाट बेपत्ता भएका र मानसिक अवस्था कमजोर रहेका पदमबहादुर भौँतारिँदै भारतको पञ्जाब पुगेर काम गरी गत कात्तिक ९ गते अकस्मात घर आइपुगेका हुन् । आफू मरिसकेको र परिवारले काजकिरियासमेत सकेको पत्तो नै नभएका उनी अचानक आँगनमा उभिएपछि परिवार अचम्मित हुनुका साथै खुसी र चिन्ता एकैपटक छाएको छ । छोरा गुमाएको शोक परेकै कारण परिवारले यसपालिको दसैँमा टीकासमेत लगाएन । तर, उनी दसैँको पूर्णिमाका दिन ९ कात्तिकको साँझ टुप्लुक्क घर पुगे ।
पदमबहादुर घर आइपुगेपछि उनको परिवार एकातिर खुसी छ, अर्कातिर ‘त्यसो भए कसको अन्त्येष्टि गरियो त ? भन्ने अन्योल र त्रासमा छन् । अज्ञात व्यक्तिको शवलाई बुबा नारायण राय क्षेत्रीले आफ्नै छोरा पदमबहादुर भन्दै कोसी अस्पतालको शवगृहमा गलत सनाखत गरी परिवारले हतार–हतार अन्त्येष्टि गरिदियो र बीमाबापतको ५ लाख रुपैयाँ पनि बुझेर खाइसकेका थिए । तर, पदमबहादुर जीवितै फर्किएपछि अब ती मृतकसमेत अर्कै व्यक्ति भएको रहस्य खुलेको छ जसले शव पहिचानको वैज्ञानिक विधि र प्रहरीको अनुसन्धान प्रक्रियामाथि गम्भीर प्रश्न उब्जाएको छ ।
पदमबहादुर घर फर्किएपछि इलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरीक्षक सागर साहको टोली उनको घर पुगेर वस्तुस्थिति बुझेको थियो । उनी लामो समय कहाँ र कसरी बसे भन्ने कुरा अझै स्पष्ट हुन सकेको छैन । अहिले पनि उनको मानसिक अवस्था कमजोर नै छ । जेठको दुर्घटनापछि परिवारले दुर्घटना बिमाबापतको क्षतिपूर्ति रकमसमेत बुझिसकेको प्रहरीले जनाएको छ । पदमबहादुर जीवितै भेटिएपछि अब कसरी अगाडि बढाउने भन्ने अन्योलमा प्रहरी छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता तथा डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार बिमाबापत प्राप्त भएको रकम फिर्ता गर्ने प्रक्रिया अघि बढाइनेछ । ‘सरकारी अभिलेखमा बेवारिसे शवको रूपमा विवरण सच्याइनेछ,’ डीएसपी मिश्रले भने, ‘त्यसपछि जेठ महिनामा दुर्घटनामा परी ज्यान गुमाएका ती वास्तविक मृतकको पहिचानका लागि पुनः अनुसन्धान सुरु हुनेछ ।’ हाल कानुनी जटिलता फुकुवा गर्न र बीमाको रकम फिर्ता गर्ने प्रक्रिया मिलाउन जनप्रतिनिधिसहित परिवारका सदस्यहरू जिल्ला प्रहरी कार्यालय सुनसरी पुगेर आवश्यक परामर्श तथा कानुनी बाटो खोजिरहेका छन् ।


