२०८३ कार्तिक १४, शनिवार ०७:५७

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले संघीयता र धर्मनिरपेक्षतासहितको वर्तमान शासकीय स्वरूप परिवर्तन गर्न प्रधानमन्त्री बालेन्द्र साहसँग आग्रह गरेका छन् ।

जनकपुरधाममा शुक्रबार राप्रपा धनुषाले आयोजना गरेको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्रीसमेत रहेका थापाले विगतका नेताहरूले संघीयता र धर्मनिरपेक्षतासहितको शासन व्यवस्था सञ्चालन गर्न नसकेको दाबी गरे । उनले असफल भइसकेको व्यवस्थालाई निरन्तरता दिँदा देशको हित नहुने बताए । अध्यक्ष थापाले राजा, राजनीतिक दल र सबै नेताहरूलाई समेट्ने गरी राष्ट्रिय मेलमिलापको वातावरण निर्माण गर्न प्रधानमन्त्री साहलाई आग्रह गरे । विगतमा प्रचण्ड र केपी शर्मा ओलीले गरेका गल्ती नदोहो¥याउन सुझाव दिँदै उनले अहिलेको जनसमर्थनलाई सदुपयोग गरेर ऐतिहासिक निर्णय लिन प्रधानमन्त्रीलाई आह्वान गरे । उनले भने, ‘चाहेर वा नचाहेर पनि बालेन साहले असफल भइसकेको देशको शासकीय संरचनासहितको स्वरुपलाई नै निरन्तरता दिनु गलत हो, विगतमा नेताहरुले देशका लागि जे नियति भोग्नु परेको थियो, त्यही नियति अहिलेका नेताले पनि भोग्नु नपरोस् भन्ने नचाहेकोले प्रधानमन्त्री बालेनलाई आँट गर्दै राजादेखि सबै नेता तथा सबै पार्टी अटाउन सक्ने गरी राष्ट्रिय मेलमिलापका लागि आह्वान गर्न आग्रह गर्छु ।’ उनले नेपालमा सनातन हिन्दू राष्ट्रको पहिचान अझै कायम रहेको दाबी गर्दै धर्मनिरपेक्षताको आडमा धर्म परिवर्तन गराउने गतिविधि भइरहेको आरोप लगाए । यसले धार्मिक तथा सांस्कृतिक द्वन्द्व निम्त्याउन सक्ने भन्दै सबै धर्म र समुदायबीच एकता तथा सद्भाव कायम राख्नुपर्नेमा जोड दिए ।

अध्यक्ष थापाले देश भ्रष्टाचारको समस्याबाट आक्रान्त भएको उल्लेख गर्दै स्वदेशमै रोजगारी सिर्जना गर्न सरकारसँग माग गरे । रोजगारीको अभावमा युवाहरू मलेसिया र खाडी मुलुकमा जान बाध्य हुनुपर्ने अवस्थाको अन्त्य गर्नुपर्ने उनको भनाइ थियो । राजतन्त्र हटेपछि देश अभिभावकविहीन बनेको दाबी गर्दै उनले विदेशी हस्तक्षेप र चलखेल रोक्नसमेत सरकारको ध्यानाकर्षण गराए । सो अन्तरक्रिया कार्यक्रममा राप्रपाका वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डेय, श्रवण कुमार झा र धीरेन्द्र झालगायतकाले समेत आफ्नो बोलेका थिए ।

Comment

Related News

Latest News

Trending News