कोशी ब्यारेज पुलको विकल्पका रूपमा सप्तकोशी नदीमाथि नयाँ पुल निर्माण गर्ने तयारी अघि बढाइएको छ । सप्तरी– सुनसरी जिल्लालाई जोड्ने गरी सप्तरीको कञ्चनपुरदेखि सुनसरीको राजाबाससम्म तीन किलोमिटर लामो पुल निर्माण गर्न लागिएको हो ।
करिब ४३ अर्ब रुपैयाँ लागत अनुमान गरिएको यस परियोजनाले पूर्वी नेपालको यातायात पूर्वाधारमा महत्वपूर्ण परिवर्तन ल्याउने अपेक्षा गरिएको छ । सडक विभाग आयोजना निर्देशनालयका निर्देशक चुडाराज ढकालले जनाए अनुसार केही वर्षअघि तयार पारिएको परियोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) का आधारमा पुल निर्माणको प्रक्रिया अघि बढाउन लागिएको हो । एसियाली विकास बैंक -एडीबी) को सहयोगमा निर्माण हुने प्रस्तावित पुल सञ्चालनमा आएपछि पूर्व– पश्चिम राजमार्गको दूरी करिब १४ किलोमिटर घट्नेछ ।
निर्देशक ढकालले नयाँ पुल तथा त्यससँग जोडिने सडक निर्माणका लागि आवश्यक प्राविधिक तयारी भइरहेको जानकारी दिएका छन् । उनले दिएको जानकारी अनुसार परियोजना अन्तर्गत तीन किलोमिटर लामो विशिष्ट प्रकृतिको पुलसँगै ४३ किलोमिटर नयाँ सडकसमेत निर्माण गरिनेछ । पुल र सडकको समग्र संरचना निर्माणका लागि आवश्यक प्राविधिक तथा प्रक्रियागत काम अगाडि बढाइएको छ । प्रस्तावित परियोजनाले सप्तरीको कञ्चनपुर र सुनसरीको राजाबासलाई प्रत्यक्ष सडक सञ्जालमा जोड्नेछ । यसबाट कोशी ब्यारेज हुँदै आवतजावत गर्नुपर्ने बाध्यता कम हुनुका साथै पूर्व–पश्चिम राजमार्गमा यात्रा गर्ने सवारीसाधनका लागि छोटो र सहज मार्ग उपलब्ध हुनेछ । विशेषगरी पूर्वी नेपालका विभिन्न जिल्लाबीचको आवागमन सहज बनाउन यो आयोजना महत्वपूर्ण हुने अपेक्षा गरिएको छ ।
हाल पूर्व–पश्चिम राजमार्गमा यात्रा गर्ने अधिकांश सवार ीसाधनले सप्तकोशी नदी पार गर्न कोशी ब्यारेजको पुल प्रयोग गर्दै आएका छन् । लामो समयदेखि सञ्चालनमा रहेको कोशी ब्यारेज पुरानो हुँदै गएको छ भने पछिल्ला वर्षमा यस क्षेत्रमा सवारीसाधनको चाप पनि निरन्तर बढिरहेको छ । बढ्दो सवारी चाप र पुरानो संरचनाका कारण वैकल्पिक पुल निर्माणको आवश्यकता महसुस गरिएको छ । कोशी ब्यारेजमा कुनै प्राविधिक समस्या आएमा वा कुनै कारणले आवागमन अवरुद्ध भएमा पूर्वी नेपालको यातायात व्यवस्थापनमा ठूलो समस्या उत्पन्न हुन सक्छ ।
यस्तो अवस्थामा नयाँ पुल निर्माण भएपछि वैकल्पिक मार्ग उपलब्ध हुनेछ । यसले कोशी ब्यारेजमाथिको निर्भरता कम गर्नुका साथै यातायात सञ्चालनलाई थप व्यवस्थित र सहज बनाउन सहयोग पु¥याउने विश्वास गरिएको छ । यद्यपि, परियोजना कार्यान्वयनका क्रममा वातावरणीय तथा कानुनी चुनौती देखिएका छन् । प्रस्तावित पुल र सडक निर्माण क्षेत्र कोशीटप्पु वन्यजन्तु आरक्षसँग जोडिएकाले वातावरणीय प्रभाव मूल्यांकन, वन्यजन्तुको संरक्षण तथा आवश्यक कानुनी स्वीकृतिका विषयलाई प्राथमिकताका साथ सम्बोधन गर्नुपर्ने अवस्था छ ।
आरक्ष क्षेत्रको जैविक विविधता र वन्यजन्तुको प्राकृतिक आवागमनमा निर्माण कार्यले पार्न सक्ने प्रभावलाई समेत ध्यान दिनुपर्ने देखिएको छ । परियोजना अगाडि बढाउन आवश्यक वातावरणीय तथा कानुनी स्वीकृतिसँगै प्राविधिक र प्रशासनिक प्रक्रिया पूरा गर्नुपर्नेछ । यही कारण निर्माण कार्य तत्काल सुरु हुन नसकेको बताइएको छ । हाल सम्बन्धित निकायले पुल तथा सडक निर्माणका लागि आवश्यक तयारी र प्रक्रियागत कामलाई अगाडि बढाइरहेका छन् । करिब ४३ अर्ब रुपैयाँ लागत अनुमान गरिएको यो आयोजना पूर्वी नेपालको सडक पूर्वाधार विकासका दृष्टिले रणनीतिक महत्वको मानिएको छ । तीन किलोमिटर लामो पुल र ४३ किलोमिटर सडक निर्माण सम्पन्न भएपछि सप्तरी, सुनसरीलगायत आसपासका जिल्लाबीचको सडक सम्पर्क थप सहज हुनेछ ।
साथै, यात्रा दूरी घट्ने, समय र इन्धनको बचत हुने तथा ढुवानी लागत कम गर्न पनि सहयोग पुग्ने अपेक्षा गरिएको छ । कोशी ब्यारेजको पुरानो संरचनामाथिको निर्भरता कम गर्दै सुरक्षित र वैकल्पिक यातायात मार्ग विकास गर्नु यस परियोजनाको प्रमुख उद्देश्य रहेको बताइन्छ । एडीबीको सहयोगमा आयोजना कार्यान्वयनमा आएमा पूर्व–पश्चिम राजमार्गको यात्रा छोटिनुका साथै पूर्वी नेपालको व्यापार, पर्यटन, कृषि उत्पादनको ढुवानी र आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको छ । परियोजनाको निर्माण शुरु हुने निश्चित समयसीमा र सम्पन्न हुने मिति सार्वजनिक भइसकेको छैन । आवश्यक प्राविधिक, वातावरणीय तथा कानुनी प्रक्रिया पूरा भएपछि मात्रै निर्माण कार्य अघि बढ्ने भएको छ । लामो समयदेखि कोशी ब्यारेजमाथि निर्भर पूर्वी नेपालको सडक यातायातका लागि प्रस्तावित नयाँ पुल महत्वपूर्ण वैकल्पिक पूर्वाधार बन्न सक्ने देखिएको छ ।


