२०८३ कार्तिक १४, शनिवार ०८:०५

नेपालको धार्मिकस्थल जनकपुरधामदेखि भारतको अयोध्यासम्म विशेष रेल सेवा सञ्चालन गर्ने तयारी अन्तिम चरणमा पुगेको छ । रामायण सर्किट अन्तर्गत नेपाल र भारतका दुई महत्वपूर्ण धार्मिक तथा सांस्कृतिक सहरलाई प्रत्यक्ष रेल सेवामार्फत जोड्ने उद्देश्यले दुवै देशका सम्बन्धित निकायले प्राविधिक, प्रशासनिक तथा सुरक्षा व्यवस्थापनको कामलाई तीव्रता दिएको छ ।

प्रधानमन्त्री बालेन्द्र साहको आसन्न भारत भ्रमणका क्रममा नेपालका प्रधानमन्त्री र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा विशेष रेल सेवाको उद्घाटन गर्ने गरी तयारी भइरहेको नेपाल रेल्वे कम्पनीका प्रबन्ध सञ्चालक परिवेश पराजुलीले जानकारी दिएका छन् । ‘प्रधानमन्त्री साहको भारत भ्रमणका क्रममा उक्त विशेष रेल सेवाको उद्घाटन गर्ने गरी हामी तयारीमा जुटेका छौँ,’ प्रबन्धक सञ्चालक पराजुलीले भने, ‘यस विषयमा नेपाल र भारतका रेल्वे कम्पनी, भन्सार तथा सुरक्षा अधिकारीबीच विभिन्न चरणमा छलफल भइरहेको छ ।’ उनले दिएको जानकारी अनुसार उद्घाटनको औपचारिक मिति भने तय भइसकेको छैन । प्रधानमन्त्री साहको मङ्सिर ६ गतेदेखि हुने भनिएको भारत भ्रमणका क्रममा रेल सेवा उद्घाटन गर्ने लक्ष्यसहित दुवै देशका सम्बन्धित निकायले तयारी गरिरहेका छन् ।

विशेष रेल सेवा सञ्चालनका लागि आवश्यक पूर्वाधार, यात्रु व्यवस्थापन, भन्सार, अध्यागमन तथा सुरक्षा प्रबन्धका विषयमा नेपाल र भारतका अधिकारीबीच छलफल भइरहेको प्रबन्ध सञ्चालक पराजुलीले बताए । रेल सञ्चालनका क्रममा नेपालतर्फ नेपाली सुरक्षा निकाय र भारततर्फ भारतीय सुरक्षा निकायले यात्रु तथा रेलको सुरक्षाको जिम्मेवारी लिने विषयमा सैद्धान्तिक सहमति भएको उहाँले जानकारी दिए । यसैक्रममा केही दिन अघि नेपाल र भारतका रेल्वे सेवा, सुरक्षा, भन्सार तथा अध्यागमनसम्बन्धी अधिकारीको संयुक्त टोलीले विशेष निरीक्षण यानमार्फत जयनगर–जनकपुरधाम–कुर्था रेलखण्डको स्थलगत निरीक्षण गरेको थियो ।

निरीक्षणका क्रममा रेल सेवा सञ्चालनका लागि आवश्यक प्राविधिक तथा व्यवस्थापकीय पक्षबारे अध्ययन गरिएको थियो । जनकपुरधाम र अयोध्याबीच रेल सेवा सञ्चालन भएपछि दुवै देशबीचको धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक सम्बन्ध थप प्रगाढ हुने अपेक्षा गरिएको छ । सीताको जन्मभूमि जनकपुरधाम र भगवान् रामको जन्मभूमि अयोध्यालाई प्रत्यक्ष रेल सेवाले जोड्दा रामायण सर्किट अन्तर्गत धार्मिक पर्यटक तथा तीर्थयात्रीको आवागमन सहज हुने विश्वास गरिएको छ । लामो समयदेखि धार्मिक महत्व बोकेको जनकपुरधाम र अयोध्यालाई जोड्नका लागि रामायण सर्किट अन्तर्गत रेल सेवा सञ्चालन ल्याउनका लागि आन्तरिक तयारी भइरहेको छ । सोही अनुसार जनकपुरधाम–अयोध्यालाई जोड्ने र दुबै देशका धार्मिक पर्यटक तथा श्रद्धालु भक्तजनलाई दर्शनका लागि सहज वातावरण बनाउने उद्देश्यका कार्य अघि बढाइएको बताइन्छ ।

जनकपुरधाम उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष जीतेन्द्र महासेठले यस रेल सेवाले धार्मिक पर्यटन प्रवद्र्धनसँगै स्थानीय अर्थतन्त्रलाई समेत चलायमान बनाउने बताए । उनले जनकपुरधाम र अयोध्याबीच सहज यातायात सम्पर्क स्थापित हुँदा नेपाल तथा भारतबाट आउने तीर्थयात्रीको संख्या बढ्ने र त्यसले होटल, यातायात, व्यापार तथा अन्य सेवा क्षेत्रमा सकारात्मक प्रभाव पर्ने बताए । विशेष रेल सेवा सञ्चालनले दुवै देशका धार्मिक तथा सांस्कृतिक गन्तव्यबीचको सम्बन्धलाई थप मजबुत बनाउनुका साथै स्थानीयस्तरमा रोजगारी र आर्थिक गतिविधि विस्तारमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ । हाल भारतको जयनगरदेखि नेपालको जनकपुरधाम हुँदै महोत्तरीको बिजलपुरासम्म नियमित रेल सेवा सञ्चालन हुँदै आएको छ । प्रस्तावित विशेष रेल सेवा सञ्चालनमा आएपछि जनकपुरधामको धार्मिक तथा पर्यटकीय महत्व अन्तर्राष्ट्रियस्तरमा थप विस्तार हुने अपेक्षा गरिएको छ ।

Comment

Related News

Latest News

Trending News