प्रधानमन्त्री बालेन्द्र साह ‘बालेन’ छठ पर्वका अवसरमा जनकपुरधाम आउने कार्यक्रम तय भएसँगै उनको स्वागत तथा भ्रमण व्यवस्थापनको तयारी तीव्र पारिएको छ । प्रधानमन्त्रीको भ्रमणलाई लक्षित गर्दै जनकपुरधाम उपमहानगरपालिकाले नगरको सरसफाइ, सडक मर्मतसम्भार, पोलहरूमा बत्ती जडान तथा विमानस्थलदेखि गंगासागरसम्मका क्षेत्रमा रङरोगनलगायतका काम अघि बढाएको छ ।
प्रधानमन्त्री बालेनको भ्रमणलाई व्यवस्थित र सफल बनाउन दुई दिनअघि जनकपुरधाम उपमहानगरपालिकामा सरोकारवाला निकायबीच बैठकसमेत बसेको थियो । उपमहानगरपालिकाका नगरप्रमुख मनोज साहको अध्यक्षतामा सम्पन्न बैठकमा सहरी विकास कार्यालय, सडक डिभिजन कार्यालय, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, उपमहानगरपालिकाका बोर्ड सदस्य तथा अन्य सरोकारवालाहरूको सहभागिता रहेको थियो । बैठकबाट प्रधानमन्त्रीको भ्रमणलाई सफल बनाउन सम्बन्धित सबै कार्यालयले आ– आफ्नो क्षेत्रबाट आवश्यक तयारी अघि बढाउने निर्णय गरिएको थियो ।
उपमहानगरपालिकाले तत्काल नगरको सरसफाइ, सडक तथा सार्वजनिक स्थलको व्यवस्थापन, पोलहरूमा बत्ती जडान र रङरोगनको कामलाई प्राथमिकताका साथ अघि बढाउने निर्णय गरेको बैठकमा सहभागी बोर्ड सदस्य एवं वडा नम्बर ७ का अध्यक्ष निरज साह ‘मुन्ना’ले जानकारी दिए । उनका अनुसार प्रधानमन्त्री बालेन छठ पर्वका दिन जनकपुरधाम आउने कार्यक्रम रहेकाले भ्रमणलाई व्यवस्थित बनाउन सरसफाइदेखि अन्य आवश्यक व्यवस्थापनको जिम्मेवारी सम्बन्धित कार्यालयहरूलाई दिइएको छ ।
प्रधानमन्त्री बालेनले जनकपुरधामस्थित गंगासागरमा छठी माताको पूजाआजा गर्ने र त्यसपछि यात्री निवासमा विश्राम गर्ने कार्यक्रम रहेको जानकारी बैठकमा गराइएको अध्यक्ष साहले बताए । उपमहानगरपालिकाले प्रधानमन्त्रीको भ्रमणलाई लक्षित गर्दै नियमित सरसफाइलाई निरन्तरता दिएको छ भने बत्ती जडान र विभिन्न स्थानमा रङरोगनका कामसमेत तत्काल अघि बढाइएको छ भने सडक मरम्मत सम्भारको जिम्मेवारी सडक विभागलाई दिइएको छ । यस्तै प्रधानमन्त्रीको बसाई लगायतका कुराको जिम्मेवारी शहरीलाई दिइएको बुझिएको छ ।
प्रधानमन्त्री बनेपछि बालेनको जनकपुरधाम भ्रमण पहिलो हुनेछ । यद्यपि, यसअघि प्रतिनिधिसभा निर्वाचनपूर्व चुनावी प्रचारप्रसारका क्रममा उनी जनकपुरधामस्थित तिरहुतिया गाछीमा आयोजित कार्यक्रममा सहभागी भएका थिए । त्यसैगरी, दोस्रो पटक मधेश भ्रमणका क्रममा पनि उनी जनकपुरधाम आएका थिए । तर, उक्त भ्रमणका क्रममा भने उनी यहाँ बसेका थिएनन् । यसैबीच, जिल्ला प्रशासन कार्यालय धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले भने प्रधानमन्त्रीको जनकपुरधाम भ्रमणबारे आफूलाई औपचारिक जानकारी प्राप्त नभएको बताएका छन् । उनले प्रधानमन्त्री जनकपुरधाम आउने विषयमा औपचारिक पत्र वा जानकारी कार्यालयमा नआएको स्पष्ट पार्दै अनौपचारिक रूपमा भने छठ पर्वका अवसरमा प्रधानमन्त्री जनकपुरधाम आउने भन्ने कुरा विभिन्न सञ्चारमाध्यमबाट सुनेको बताए । प्रधानमन्त्रीको भ्रमणबारे प्रशासनिक निकायबाट औपचारिक पुष्टि हुन बाँकी रहेपनि उपमहानगरपालिकाले भने सम्भावित भ्रमणलाई लक्षित गर्दै तयारीका काम अघि बढाएको छ ।


