विजयादशमी सम्पन्न भएको छ । दीपावली, भाद्र द्वितीया, हुर्रा–हुर्री, छठ, झण्डा, कतिका–कुम्मर, कतिकी पूर्णिमालगायतका पर्व–तिहारहरु बाँकी छन् । आगत पर्व– तिहारहरुलाई भव्यता प्रदान गर्न पुनः मेला आयोजक कमिटीहरु गठन हँुदैछन् । वर्षभरि नेताहरुको गणेश परिक्रमा गर्ने युवा कमिटीसंग आवद्ध युवाहरुको सक्रियता पुनः बढेको छ । चन्दा असुली शुरु भएको छ । विजयादशमी जस्तै गाउँगाउँमापुनः मेलालाग्ने छ । चर्को स्वरमा लाउडिस्पीकर बज्ने छ । आर्केष्ट्राको नाममा पुनः अश्लील नृत्य हुने छ अनि बालकदेखि बृद्धसम्म कुर्ता खोलेर नचिनियाहरुसंगै नाच्ने छन् ।
नाच देखेपछि गाउँकी महिलाहरु– ‘लंहगा उठा दे रिमोटसं….।’ गीत गुनगुनाउँदै घर फर्किने छन् । अल्लारे केटा–केटी, किशोर–किशोरी, युवा– युवती मात्र होइनन् जिम्मेवार बृद्ध–बृद्धा तथा ब्रतालुदेखि श्रद्धालुसम्म मोवाइलमा विभिन्न पोजका फोटो र भिडियो कैद गरी रिल बनाएर फेसबुक, टिकटक र यु–ट्युबलगायतका सामाजिक सञ्जालमा राखेर लाइक, कमेन्ट र भ्यूजका लागि आग्रह गर्ने छन् । जुन फोटो र भिडियो जति अस्लील, भडकाउँ, विवादित हुन्छ– लाइक, कमेन्ट र सेयर त्यतिकै अधिक हुन्छ । लाइक, कमेन्ट र भ्यूजकै आधारमा पैसा आउने भएपछि–भाँड़मे जाये दुनिया, हमबजाएब हरमुनिया………….। …विद्यालयमा शिक्षक र गुणस्तरीय शिक्षा भएन ।
अस्पतालमा डाक्टर छैनन् । औषधि आभाव छ । किसानले समयमा मल र बीउ पाएनन् । गाउँमा गोटी–गाँजा खानेहरुको संख्या बढ्यो । पैसा अभावमा अमुकको छोरा छोरी पढ्न पाइरकेका छैनन् । उपचार गर्न गाह्रो छ ।Ú यी र यस्ता विषयमा गाउँमा सार्वजनिक भेला भएको सुन्नु भएको छ ? सुन्नु भएको छ भने हजूर भाग्यमानी हुनुहुन्छ । तर मेला–उत्सव मनाउँन, आर्केष्ट्रा नचाउन, दलका नेताहरुको स्वागत–अभिवादन गर्न गाउँगाउँमा तारन्तार बैठक बसिरहन्छ । सहभागीहरु दिल खोलेर चन्दा दिन्छन् अनिमेला–उत्सवमा खशी–खुशी सहभागी हुन्छन् ।
मौका पाए, नचनियासंग टाँसेर वा अंगालो हालेर फोटो खिचाउन अघि बढ्छन् । भर्खरै सम्पन्न भएको बडा दशैँको अवसरमा जनकपुरधामसंगै गाउँ–गाउँमा भव्य मेला लाग्यो । आर्केष्ट्रामा नर्तकीहरुले गज्जवका नृत्य प्रस्तुत गरे । कहिँ पेस्तोल तेर्साएर आकर्षक नृत्य गर्दै गरेकी नचनियाको तस्वीर भाइरल भयो । कहीँ पैरोडी धार्मिक गीतको तालमा नचनियासंगै मञ्चमै झुम्दै गरेका आयोजक समितिका युवा अभियन्ताहरुको दृश्य भाइरल भयो । जनकपुरधाममा सांस्कृतिक उत्सव नाम दिइएको कार्यक्रममा मिथिला संस्कृतिको ‘स’ सम्म हेर्न पाइएन । तर मिथिलेश्वरको आर्केष्ट्रा भने सबैभन्दा बेजोड थियो ।
जसमा नचनियाको छातिमा चुम्मा लिँदै गरेको एक जना बृद्धको फोटो र भिडियो सार्वजनिक भएको थियो । आफ्नो नातिनी उमेरकी नचनियाको छातिमा चुम्मा लिँदै गरेको बृद्धको तस्वीर देखेपछि म अचम्भित छु– ‘नचनियाको छातीमा चुम्मालिने बृद्ध आफ्नी नाति–नातिनाको सामु कुन मुख लिएर उभिनसकेका होलान् ? आकेष्ट्राको सट्टा (रकमको समझौता) गर्ने व्यक्ति त्यहीँ गाउँका थिए कि अर्को गाउँका ? म अचम्भित यस अर्थमा पनि छु कि यस्तो अश्लील नृत्य गाउँमा ल्याउने समाजका अगुवाहरुले सोचे कि सोचेनन्– यो नृत्य हेर्न मेरा बुबा आउनु हुने छ । आमा–दिदीबहिनी पनि आउने छन् ? आर्केष्ट्राको सट्टा बन्हाउने त्यो अगुवा आफ्नी आमा र बहिनीसंग बसेर त्यो दृश्य कसरी हेर्न भ्याए होलान् ? पर्व–तिहार, मेला–ठेला हाम्रो संस्कृति हो । परम्परा हो । यसलाई निरन्तरता दिनु पर्दछ । सके परिमार्जित गर्दै अगाडि बढाइनु पर्दछ । तर दशैँको अवसरमा प्रस्तुत हुने पारम्परिक झिझिया नृत्यलाई अचेल जुन शैली र धुनमा प्रस्तुत गर्न थालियो छ । त्यसले यस अनुष्ठानको मौलिकता माथि गम्भीर प्रश्न खडा गरेको छ । झिझिया रंगीचंगी पोशाकमा सजिएर, पेशेवर नर्तकीले प्रदर्शन गर्ने नृत्य होइन ।
यो अनुष्ठानको रुपमा आयोजन गरिने लोक उत्सव हो । पछिल्ला केही वर्षदेखि झिझिया महोत्सवको रुपमा प्रतिस्पर्धात्मक प्रतियोगिताहरु पनि आयोजन हुन थालेका छन् । लोपोन्मुख संस्कृतिहरुलाई संरक्षण गर्न थालिएको यो पहल स्वागतयोग्य हो । तर आयोजकहरुले झिझिया अनुष्ठानको मौलिक स्वरुपबारे गम्भीर बहस, छलफल गरेर प्रदर्शनकारी समूहहरुलाई यस विषयमा जानकारी दिनु पर्ने हो । आउन लागेका पर्व तिहारहरुको अग्रीम शुभकामना दिँदै विनम्रतापूर्वक अनुरोध गर्न चाहन्छु– पर्व–तिहार भव्यतापूर्वक मनाऔं । नाच–तमासा पनि आयोजन गरौँ । तर आयोजकहरुले ध्वनी प्रदुषण, अश्लीलता, पर्व–तिहारको मौलिकताबारे सचेत रहनु पर्दछ । पुनित कार्य हो ।


