जेनजी अभियन्ता माजिद अन्सारीले पत्रकारमाथि प्रहरीले गरेको धरपकडको घटनालाई लिएर प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुधन गुरुङको जवाफदेहिता माग गरेका छन्।
उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई लक्षित गर्दै पत्रकारिताको धर्म निर्वाह गर्नसमेत आग्रह गरेका छन्। प्रहरीले पत्रकारहरूमाथि धरपकड गर्ने, रास्वपाले विज्ञप्ति जारी गर्दै आपत्ति जनाउने र प्रधानमन्त्रीको सचिवालयले घटनाबारे आफूहरूलाई जानकारी नभएको जवाफ दिने अवस्थाप्रति अन्सारीले असन्तुष्टि जनाएका छन्।
संविधान र प्रहरी ऐनले नेपाल प्रहरीलाई नेपाल सरकारको निर्देशन तथा नियन्त्रणमा रहने व्यवस्था गरेको उल्लेख गर्दै अन्सारीले प्रधानमन्त्री र गृहमन्त्रीको निर्देशनबिना प्रहरी सञ्चालन भइरहेको हो भने उनीहरूको राजनीतिक तथा नैतिक जिम्मेवारीमाथि प्रश्न उठाएका छन्।
अन्सारीले जेनजी आन्दोलनका क्रममा प्रहरीले गोली चलाउँदा तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई जवाफदेही बनाउन तत्कालीन मेयर तथा वर्तमान प्रधानमन्त्री वालेन्द्र शाह र तत्कालीन जेनजी आन्दोलनका अभियन्ता तथा वर्तमान गृहमन्त्री सुधन गुरुङले नै चर्को आवाज उठाएको स्मरण गराएका छन्।
हिजो तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई जिम्मेवार बनाउन माग गर्ने वर्तमान प्रधानमन्त्री र गृहमन्त्रीले अहिले पत्रकारमाथि भएको धरपकडको घटनामा जिम्मेवारी लिनुपर्ने कि नपर्ने भन्दै उनले प्रश्न गरेका छन्।


