२०८३ कार्तिक १६, सोमवार १२:३३

नेपाली कांग्रेसले सञ्चारगृहमा प्रहरी प्रवेश गरेर पत्रकारहरूमाथि भएको धरपकडको छानबिन गर्न संसदीय विशेष समिति गठनको माग गरेको छ ।

सोमबार सिंहदरबारमा बसेको कांग्रेस संसदीय दलको बैठकबाट पत्रकारमाथि धरपकडलगायत घटनाको स्वतन्त्र, निष्पक्ष र पारदर्शी छानबिन गरी दोषीविरुद्ध कारबाही गर्न संसदीय समिति गठनको माग गरिएको हो ।

पत्रकारमाथि धरपकड गर्ने र त्यसनिम्ति आदेश दिनेहरूलाई समेत कानुनी कारबाहीको दायरामा ल्याउनुपर्ने कांग्रेसको माग छ । कांग्रेसकी प्रमुख सचेतक बासना थापाले शासन कानुनभन्दा माथि नहुने बताएकी छन् । उनले भनेकी छन्, “लोकतन्त्रमा निर्वाचनबाट प्राप्त जनादेश शासन सञ्चालनको अधिकार हो, संविधान र कानुनभन्दा माथि उठ्ने अनुमति होइन । तर, पछिल्ला सरकारी गतिविधिले नागरिक स्वतन्त्रता, प्रेस स्वतन्त्रता, संवैधानिक संस्थाहरूको स्वायत्तता र विधिको शासनमाथि गम्भीर प्रश्न खडा गरेका छन् ।”

स्पष्ट कानुनी आधार, पुर्जी वा अदालतको अनुमति सार्वजनिक नगरी समाचार कक्षमै प्रहरी परिचालन गरिनु स्वतन्त्र पत्रकारितामाथिको अनुचित दबाब र विधिको शासनविपरीत रहेको कांग्रेसको ठहर छ । पत्रकारमाथि गरिएको धरपकडबारे सरकारले जवाफ दिनुपर्ने कांग्रेसको माग छ ।

कांग्रेसले भनेको छ, “वर्तमान सरकारले गर्ने सही कार्य, जनसरोकारका विषय र सुशासनका सन्दर्भमा कांग्रेसको समर्थन छ । तर, लोकतन्त्र र विधिको शासन, प्रेस स्वतन्त्रता, शक्तिपृथकीकरणलगायतका सारभूत मूल्यमान्यताविपरीत सरकार लागेमा कांग्रेसको विरोध रहन्छ ।”

कांग्रेसले सरकार संवैधानिक संरचनालाई कमजोर बनाउन लागिपरेको आरोप लगाएको छ । न्यायपालिकामाथिको ‘प्रहार’ पनि सोही प्रयासको हिस्सा भएको कांग्रेसको तर्क छ । कांग्रेसले भनेको छ, “न्यायपालिकाको स्वतन्त्रता अक्षुण्ण हुनुपर्दछ । सरकारका गतिविधि ‘जे गरे पनि हुन्छ, जवाफ दिनु पर्दैन’ भन्ने मानसिकता र प्रवृत्तिका उपज हुन् ।”

सरकार आफूअनुकूलको शासन व्यवस्था स्थापना गर्न लागिपरेको कांग्रेसको बुझाइ छ । संवैधानिक संरचनामाथिको आक्रमण सुनियोजित भएको कांग्रेसले जनाएको छ । “यी सबै घटनाहरू मुलुकको संवैधानिक संरचनालाई कमजोर बनाउँदै आफूअनुकूलको शासन स्थापित गर्न गरिएको सुनियोजित प्रयत्नको खतरनाक शृंखला हो भन्ने नेपाली कांग्रेस संसदीय दल स्पष्ट छ,” कांग्रेसले भनेको छ ।

कांग्रेसले पत्रकारमाथि धरपकडलगायत यससँग जोडिएका सबै विवादित सरकारी गतिविधिको स्वतन्त्र, निष्पक्ष र पारदर्शी छानबिन गर्न माग गरेको छ । साथै, दोषीलाई कानुनबमोजिम कारबाही र त्यसनिम्ति संसदीय विशेष समिति गठन गर्न कांग्रेसले माग गरेको छ । प्रतिनिधिसभा बैठक सञ्चालन गर्न पनि कांग्रेसले माग गरेको छ ।

Comment

Related News

Latest News

Trending News