वन तथा वातावरण मन्त्रालय र मातहतका निकायमा कर्मचारी सरुवा प्रक्रिया विपरीत अपारदर्शी रुपमा भएको आरोप लगाउँदै मधेश भवन अगाडि चुरे तथा वनजंगल संरक्षण अभियानले विरोध प्रदर्शन गरेको छ ।
जनकपुरधाममा मंगलबार मधेश प्रदेश भवन अगाडि अभियान्ताहरुले टाउकोमा कालो कपडा बाँधेर एक घण्टा धर्ना दिएका छन् । सरुवा प्रक्रियामा पहुँच र राजनीतिक प्रभावका आधारमा कर्मचारीलाई विभेद गरिएको भन्दै उनीहरूले प्रदेश सरकारको ध्यानाकर्षणसमेत गराएका छन् । सो प्रदर्शनका क्रममा अभियानका अध्यक्ष सुनिलकुमार यादवले मुख्यमन्त्री, प्रदेशका सचिव तथा मन्त्रालयका जिम्मेवार अधिकारीहरूले विधि र प्रक्रिया मिचेर कर्मचारी सरुवा गरेको आरोप लगाए । उनले पहुँच भएका कर्मचारीको सरुवा गरिएको छैन भने पहुँच नभएका कर्मचारीलाई मात्र सरुवा गरेर विभेद गरिएको बताए ।
धर्नापछि अभियानले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेर प्रदेशका प्रमुख सचिवलाई ज्ञापनपत्र बुझाएका थिए । अभियानले ज्ञापनपत्रमार्फत सातबुँदे माग अघि सारेको छ । जसमा पहुँच र राजनीतिक प्रभावका आधारमा रोकिएका सरुवा अवधि पूरा गरेका कर्मचारीको तत्काल निष्पक्ष सरुवा गर्नुपर्ने, मन्त्रालयका विभाग, निर्देशनालय तथा जिल्लास्थित मातहतका कार्यालयमा सरुवा मापदण्ड समान रूपमा लागू गर्नुपर्ने माग छन् ।
त्यस्तै, सरुवा भएका केही कर्मचारीको हकमा भएका सामान्य त्रुटि तत्काल सच्याउनुपर्ने, कर्मचारीलाई अनिवार्य रूपमा फरक जिल्लामा सरुवा तथा पदस्थापन गर्नुपर्ने र सरुवा प्रक्रिया रोक्न भइरहेको राजनीतिक संरक्षण, अपारदर्शी चलखेल तथा अनैतिक सम्झौता बन्द गर्नुपर्ने माग गरिएको छ ।


