दशैँ सकिएलगत्तै दीपावली, तिहार र छठ पर्व नजिकिएपछि मधेश प्रदेशसहित देशभरका बजारमा किनमेल गर्ने उपभोक्ताको चहलपहल बढेको छ । तर उपभोक्ताले सुपथ मूल्यमा सामग्री बिक्री गर्न माग गरेका छन् । चाडपर्व लक्षित व्यापारिक गतिविधि विस्तार भएसँगै दैनिक उपभोग्य वस्तुदेखि लत्ताकपडा, गरगहना, विद्युतीय उपकरण र सवारीसाधनसम्मको कारोबार बढेको छ ।
यसले सुस्त रहेको बजारलाई चलायमान बनाउनुका साथै होटल, रेस्टुरेन्ट, यातायात तथा पर्यटन क्षेत्रको आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पारेको छ । जनकपुरधामको शिवचोक, रामचोक, मुरलीचोक र जानकी चोकलगायत मुख्य व्यापारिक क्षेत्रमा बिहानदेखि साँझसम्म किनमेल गर्ने उपभोक्ताको भीड देखिन थालेको छ । चाडपर्वमा नयाँ लुगा लगाउने, घर सजाउने, मिठाइ तथा परिकार बनाउने र आफन्तलाई उपहार दिने परम्पराका कारण बजारमा विभिन्न वस्तुको माग बढेको व्यवसायी बताउँछन् ।
उपभोक्तालाई आकर्षित गर्न व्यापारीले मूल्य छुट, उपहार तथा विशेष प्याकेज सार्वजनिक गरेका छन् । विशेषगरी लत्ताकपडा, जुत्ता, इलेक्ट्रोनिक्स, फर्निचर र घरायसी सामग्रीका पसलमा चाडपर्व लक्षित योजना सञ्चालन भइरहेका छन् । दशैँपछि दीपावली, तिहार र छठका लागि आवश्यक सामग्री खरिद गर्ने क्रम बढेकाले बजारमा कारोबारको चाप थपिएको छ । अर्थशास्त्री सञ्जय साह चाडपर्वका बेला घरपरिवारको खर्च बढ्ने र व्यवसायीले ग्राहक आकर्षित गर्न छुटका योजना ल्याउने भएकाले वस्तु तथा सेवाको माग विस्तार हुने बताउँछन् ।
चाडपर्वमा हुने खर्चले उत्पादन, वितरण र बिक्री प्रक्रियालाई सक्रिय बनाउने उनको भनाइ छ । जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारीले चाडपर्वको कारोबारले वर्षभरिको व्यापारिक चक्रमा महत्वपूर्ण योगदान पु¥याउने बताए । उनले चाडपर्वमा दैनिक उपभोग्य वस्तुका अतिरिक्त फर्निचर, विद्युतीय उपकरण तथा अन्य टिकाउ सामग्रीको खरिद पनि बढेको बताए । उपभोक्ताले चाडपर्वमा उपलब्ध हुने छुट र सहुलियतको प्रतीक्षा गर्ने भएकाले यस्ता वस्तुको बिक्रीमा वृद्धि हुने गरेको उनको कथन छ । चाडपर्वको प्रभाव खुद्रा व्यापारमा मात्र सीमित छैन ।
होटल, रेस्टुरेन्ट, ट्राभल एजेन्सी, यातायात तथा सञ्चार सेवामा समेत यसको सकारात्मक प्रभाव परेको छ । घर फर्किने तथा आफन्तसँग भेटघाट गर्न यात्रा गर्नेको संख्या बढ्दा सार्वजनिक यातायात र हवाई सेवाको माग बढेको छ । पारिवारिक जमघट र घुमफिरका कारण होटल तथा रेस्टुरेन्ट व्यवसायले पनि थप कारोबारको अवसर पाएका छन् । नेपाल चेम्बर अफ कमर्श मधेश प्रदेशका अध्यक्ष विजयकुमार साहले चाडपर्वमा उपभोक्ताको माग बढ्दा व्यापारी, ढुवानी व्यवसायी, श्रमिक र सेवा प्रदायकले समेत काम पाउने अवसर बढ्ने बताए ।
चाडपर्वमा कर्मचारीले पाउने अतिरिक्त आम्दानीले बजारमा किनमेल बढाउन सहयोग गर्ने उनले बताए । मधेश प्रदेशको आठवटै जिल्लाका सहरी तथा ग्रामीण बजारमा लत्ताकपडा, खाद्यान्न, मिठाई, पूजासामग्री र घरायसी वस्तुको बिक्री बढेको छ । जनकपुरधाममा दशैँदेखि छठसम्म सञ्चालन हुने सस्ता बजारले उपभोक्तालाई एउटै स्थानमा विभिन्न सामग्री खरिद गर्ने अवसर दिएका छन् । यस्ता बजारबाट स्थानीय उत्पादक, घरेलु उद्यमी र साना व्यवसायीले समेत लाभ लिन सक्ने अपेक्षा गरिएको छ । चाडपर्वमा बजारको माग बढ्नुको अर्को महत्वपूर्ण आधार वैदेशिक रोजगारीबाट प्राप्त विप्रेषण हो ।
नेपाल राष्ट्र बैंकले जनाए अनुसार चालु आर्थिक वर्षको पहिलो महिनामा विप्रेषण आप्रवाह दुई खर्ब १५ अर्ब पाँच करोड रुपियाँ पुगेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २१.२ प्रतिशतले बढी छ । विदेशमा रहेका नेपालीले परिवारको खर्च व्यवस्थापन र चाडपर्व मनाउन रकम पठाउँदा ग्रामीण क्षेत्रको उपभोग तथा बजारको माग बढाउन सहयोग पुगेको छ । चाडपर्वमा बढ्ने कारोबारसँगै मूल्यवृद्धि, कृत्रिम अभाव, गुणस्तरहीन तथा म्याद गुज्रिएका वस्तुको बिक्रीजस्ता समस्या देखिन सक्ने जोखिम पनि उत्तिकै छ । त्यसैले बजार अनुगमन प्रभावकारी बनाउँदै उपभोक्तालाई उचित मूल्यमा गुणस्तरीय वस्तु उपलब्ध गराउनुपर्ने आवश्यकता छ ।
व्यापारीले मूल्य र छुटसम्बन्धी विवरण स्पष्ट पार्ने तथा उपभोक्ताले मूल्य तुलना गरी बिल लिएर सामान खरिद गर्ने अभ्यासलाई प्राथमिकता दिनुपर्छ । चाडपर्वमा बढ्ने उपभोगलाई स्थानीय उत्पादनसँग जोड्न सके यसको आर्थिक लाभ गाउँदेखि सहरसम्म विस्तार हुन सक्छ । मधेश प्रदेशमा उत्पादित खाद्यान्न, मिठाई, हस्तकला, परम्परागत पोसाक र घरेलु सामग्रीको बिक्री प्रवद्र्धन गर्न सके स्थानीय उत्पादक तथा साना उद्यमीको आम्दानी बढ्नेछ । तर चाडपर्वको अवसर पारेर खाद्यान्नदेखि विभिन्न सामग्रीको मूल्य आकाशिएको भन्दै स्थानीय उपभोक्ताहरुले सुपथ मूल्यमा सामग्रीहरु पाउनुपर्ने माग गरेका छन् ।
स्थानीय ममता देवी मण्डलले चाडपर्वको अवसर पारेर पूजाअर्चनाका लागि आवश्यक सामग्रीहरुको चर्को मूल्य वृद्धि गरी बिक्री भइरहँदा पनि सरोकारवाला निकायले यसप्रति अनुमगन गर्न माग गरिन् । उपभोक्ताको हितलाई ध्यान राख्दै सामग्रीहरुको बिक्री गर्न व्यवसायीहरुसंग आग्रहसमेत उनले गरिन् ।


