घरेलु तथा साना उद्योग कार्यालय धनुषामा कर्मचारी सरुवा र पदस्थापनलाई लिएर विवाद चुलिएको छ । प्रशासकीय अदालतले सरुवा सम्बन्धी निर्णय कार्यान्वयन नगर्न र कर्मचारीलाई साविककै कार्यालयमा कामकाज गराउन अन्तरकालीन आदेश जारी गरे पनि कार्यालय प्रमुख मिथिलेशकुमार महतोले आदेशको अवज्ञा गरेको आरोप छ ।
२०८२ चैत १० गते मुकेश कुमार कर्णलाई सहायक शाखा अधिकृत पदमा घरेलु तथा साना उद्योग कार्यालय, धनुषामा पदस्थापन गरिएको थियो । सोही अनुसार उनी कार्यालयमा हाजिर भई नियमित रूपमा कामकाज गर्दै आएका थिए । तर, २०८३ भदौ २५ गते मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले कर्णलाई जनलोकपाल आयोगको कार्यालयमा सरुवा गरेको थियो । सरकारी जागिरमा प्रवेश गर्दै पदस्थापन भएको आठ महिना नपुग्दै सरुवा गरिएको भन्दै कर्णले उक्त निर्णय पुनरावलोकन गरी सरुवा बदर गर्न माग गर्दै २०८३ असोज २२ गते मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा निवेदन दिएका थिए ।
तर, उनको निवेदनमाथि कुनै सुनुवाइ नभएको उनको गुनासो छ । यसैबीच २०८३ असोज २ ९ गते कर्ण कार्यरत रहेको घरेलु तथा साना उद्योग कार्यालयमा नायब सुब्बा पदका कर्मचारी संकल्प सौरभलाई सरुवा गरी पठाइएको थियो । आफूमाथि गरिएको सरुवा निर्णय कानुनसम्मत नभएको भन्दै कर्णले प्रशासकीय अदालतमा सरुवा निर्णय बदरको मागसहित निवेदन दिएका थिए । सो निवेदनमाथि सुनुवाइ गर्दै अदालतले अन्तरकालीन आदेश जारी गरेको थियो । आदेशमा सरुवासम्बन्धी पत्रका आधारमा रमाना नदिनु, नदिलाउनुका साथै कर्णलाई यथास्थितिमा घरेलु तथा साना उद्योग कार्यालयमै कामकाज गर्न दिन स्पष्ट निर्देशन दिइएको थियो ।
तर, अदालतको आदेश हुँदाहुँदै कार्यालय प्रमुख मिथिलेशकुमार महतोले कार्यालय समयभन्दा बाहिर कर्णको स्थानमा संकल्प सौरभलाई हाजिर गराई कामकाजमा लगाएको कर्णको आरोप छ । यस विषयमा कर्णले कार्यालयमा निवेदन दिँदा समेत आफ्नो गुनासोको उचित सुनुवाइ नभएको उनको भनाइ छ । कार्यालय प्रमुखले आवश्यक बुझबुझारथसमेत नगरी नायब सुब्बा सौरभलाई काममा लगाएको र अदालतको आदेश हुँदाहुँदै आफूलाई कार्यालयबाट बाहिरिन दबाब दिँदै चेतावनीपूर्ण व्यवहार गरेको कर्णले गुनासो गरे । त्यस्तै, कार्यालय प्रमुख महतोमाथि कार्यालयमा हाजिर भएदेखि नै उद्योग दर्ता प्रक्रियामा मनोमानी गर्दै अनियमितता गरेको आरोपसमेत लागेको छ ।
स्रोतका अनुसार कार्यालय प्रमुख महतोको विगतको कार्यसम्पादन मूल्यांकन पनि सन्तोषजनक नरहेको र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा अर्थ मन्त्रालयलगायतका निकायमा कार्यरत रहँदासमेत उनको कार्यशैलीलाई लिएर प्रश्न उठ्ने गरेको थियो । कार्यालय प्रमुख महतो पटकपटक विवादमा तानिँदै आएका छन् ।


