गहुँको मूल्य बढेको छ । प्रतिकिलो आठ रुपैयाँ बढेको छ । वैशाखमा ४२ रुपैयाँ प्रति कलो रहेको गहुँको मूल्य बढेर ५० रुपैयाँ प्रतिकिलो पुगेको छ ।
भारतमा नै मूल्यवृद्धि भएकाले नेपालमा गहुँको मूल्य बढेको मैदा मिल सञ्चालकहरूले बताएका छन् । गहुँको मूल्यवृद्धि भएसँगै गहुँ कच्चा पदार्थ भएका उद्योगहरू सञ्चालनमा कठिनाइ भइरहेको नेपाल फ्लोर मिल एसोसिएसनले जनाएको छ ।
अहिले आफूहरूसँग करिब एक महिनाका लागि गहुँ मौज्दात रहेकाले तत्कालै समस्या नआउने नेपाल फ्लोर मिल एसोसिएसनका उपाध्यक्ष विकास बेगवानीले जानकारी दिए ।
उनले भारत सरकारले आफूसँग मौज्दात रहेको गहुँको बिक्री खुला नगरेसम्म गहुँको मूल्य नघट्ने बताए ।
भारत सरकारले करिब दुई महिनाअघि २४ अगस्ट २०२६ देखि गहुँको कोटा हटाएकोले गहुँ आयात गर्न भने समस्या नरहेको एसोसिएसनले जनाएको छ ।
नेपालमा नयाँ गहुँ आउन चैत्र मध्यसम्म कुर्नुपर्ने भएकाले यसबाट बन्ने खाद्यमा मूल्यवृद्धि हुन सक्ने बताइएको छ । गहुँ अभावमा अहिले नेपालका फ्लोर मिलहरू ५० प्रतिशत क्षमतामा सञ्चालन भइरहेको छ ।


