२०८३ कार्तिक २०, शुक्रवार ०६:५०

नेपालको जनकपुरधाम र भारतको अयोध्याधामलाई रेल सेवामार्फत जोड्ने तयारी तीव्र पारिएको छ । प्रस्तावित जनकपुरधाम–अयोध्या रेल सेवा सञ्चालन गर्नुअघि सुरक्षा तथा प्राविधिक अवस्थाको निरीक्षणका लागि भारतीय रेल्वेका अधिकारीहरू बिहीबार रेलसहित धनुषाको कुर्थासम्म आइपुगेका छन् ।

रेल सेवा सञ्चालनका लागि आवश्यक सुरक्षा व्यवस्था, रेलमार्गको अवस्था, प्राविधिक क्षमता तथा अन्य व्यवस्थापकीय पक्षको स्थलगत निरीक्षण गरिएको छ । भारतीय रेल्वेका अधिकारीहरूको टोलीले नेपाल रेल्वेका अधिकारीहरूसँग पनि रेल सञ्चालन र सुरक्षासम्बन्धी विषयमा छलफल गर्ने तयारी गरेको छ । नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक परिवेश पराजुलीले रेल सञ्चालन गर्न सकिने अवस्था, रेलमार्गको क्षमता र सुरक्षालगायतका विषयलाई ध्यानमा राखेर निरीक्षण भइरहेको जानकारी दिए । उनले दिएको जानकारी अनुसार अहिले रेल सेवा परीक्षण तथा तयारीकै चरणमा रहेकाले सञ्चालनका लागि आवश्यक केही प्राविधिक र प्रशासनिक काम बाँकी छन् । ती कामहरू आन्तरिक रूपमा अघि बढाइएको उनले बताए । नेपालको जनकपुरधामदेखि भारतको अयोध्याधामसम्मको प्रस्तावित रेलमार्ग करिब ४६४ किलोमिटर लामो रहेको छ ।

जनकपुरधाम–अयोध्याधाम धार्मिक तथा सांस्कृतिक गन्तव्यको रुपमा रहेको छ । जनकपुरधामलाई माता सीताको जन्मस्थल तथा कर्मस्थलका रूपमा चिनिन्छ भने अयोध्याधाम भगवान् श्रीरामको जन्मस्थलका रूपमा प्रसिद्ध छ । स्थानीय व्यवसायी तथा सर्वसाधारणले पनि रेल सेवा सञ्चालन हुने खबरलाई सकारात्मक रूपमा लिएका छन् । उनीहरूका अनुसार रेल सेवाले धार्मिक पर्यटन मात्र नभइ होटल, रेस्टुरेन्ट, यातायात, पसल तथा अन्य साना व्यवसायको कारोबार बढाउन सहयोग पु¥याउनेछ । जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारीले जनकपुरधाम– अयोध्याधाम रेल सेवा सञ्चालनका लागि लामो समयदेखिको प्रयास अघि बढ्नु सुखद भएको बताए । उनले रेल सेवा सञ्चालन भएपछि जनकपुरधामका धार्मिक तथा पर्यटकीय स्थलमा पर्यटकको आवागमन बढ्ने र त्यसबाट स्थानीय व्यापार व्यवसायले समेत लाभ लिन सक्ने विश्वास व्यक्त गरे ।

होटल व्यवसायी, खुद्रा पसले तथा अन्य सेवा प्रदायकका लागि पनि यो सेवा आर्थिक अवसर बन्ने उनको भनाइ छ । अध्यक्ष भण्डारीले धार्मिक पर्यटनसँगै व्यापारिक गतिविधि विस्तारका लागि नेपाल सरकारले थप पहल गर्नुपर्नेमा जोड दिए । उनले तेस्रो मुलुकबाट आयात तथा निर्यात हुने सामग्रीको ढुवानी सहज बनाउन महोत्तरीको भिठ्ठामोड वा धनुषाको जटही नाकामध्ये कुनै एकलाई व्यापारिक नाकाका रूपमा सञ्चालन गर्न सरकारसँग माग गरे । अहिले व्यवसायीले टाढाका नाकाबाट सामान ल्याउनुपर्दा ढुवानी खर्च बढ्ने गरेको उनको भनाइ छ । जनकपुरधाम क्षेत्रका लागि पायक पर्ने नाका सञ्चालनमा आए स्थानीय व्यवसायी मात्र नभई उपभोक्ताले समेत तुलनात्मक रूपमा सस्तो मूल्यमा सामग्री प्राप्त गर्न सक्नेछन् । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य राजेश कुमार कर्णले जनकपुरधाम– अयोध्याधाम रेल सेवा सञ्चालनले नेपाल र भारतबीचको धार्मिक, सांस्कृतिक तथा जनस्तरको सम्बन्ध थप सुदृढ बनाउने बताए । उनले जनकपुरधाम माता सीताको जन्मस्थल र अयोध्या भगवान् श्रीरामको जन्मस्थल भएकाले यी दुई धार्मिक नगरीबीच रेल सेवा सञ्चालन हुनु विशेष महत्वको विषय भएको उल्लेख गरे ।

रेल सेवा सञ्चालन भएपछि अयोध्याबाट हजारौँ धार्मिक पर्यटक जनकपुरधाम आउने सम्भावना रहेको उनको भनाइ छ । उनले धार्मिक पर्यटकको आवागमन सहज बनाउन दुवै देशका नागरिकलाई लक्षित गरी सीमा आवागमनसम्बन्धी सहज र सकारात्मक नीति ल्याउन नेपाल सरकारसँग आग्रह गरे । दीर्घकालीन योजनासहित धार्मिक पर्यटकको आवागमन व्यवस्थित गर्न सके जनकपुरधामसहित मधेस प्रदेशको पर्यटन विकासमा महत्त्वपूर्ण योगदान पुग्ने उनको भनाइ छ । जनकपुरधाम–अयोध्याधाम रेल सेवाको उद्घाटन नेपालका प्रधानमन्त्री बालेन्द्र साह (बालेन) र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा गर्ने कार्यक्रम रहेको बताइएको छ ।

प्रस्तावित कार्यक्रमअनुसार भारतको राजधानी नयाँदिल्लीबाट रेल सेवाको उद्घाटन गर्ने तयारी गरिएको छ । यसका लागि दुवै देशका रेल्वे पदाधिकारी, कर्मचारी, सुरक्षा निकायका उच्च अधिकारी तथा प्रशासनिक प्रतिनिधिहरूले आवश्यक तयारी अघि बढाएका छन् । रेल सञ्चालनका लागि सुरक्षा व्यवस्थापन, प्राविधिक परीक्षण र प्रशासनिक समन्वयका कामलाई प्राथमिकता दिइएको छ । भारतीय विदेश सचिवको नेपाल भ्रमणका क्रममा नेपालका परराष्ट्र सचिव तथा अन्य अधिकारीसँग भएको छलफलमा समेत प्रस्तावित रेल सेवाको विषय उठेको जनाइएको छ । यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त रूपमा जनकपुरधामबाट अयोध्यासम्मको बस सेवा शुभारम्भ गरेका थिए। तर उक्त बस सेवा लामो समय नियमित हुन सकेको थिएन। त्यसैले नयाँ रेल सेवा नियमित र व्यवस्थित रूपमा सञ्चालन हुनुपर्नेमा स्थानीयवासीले जोड दिएका छन् ।

Comment

Related News

Latest News

Trending News