२०८३ कार्तिक २०, शुक्रवार १४:४५

राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख डोलप्रसाद (डीपी) अर्यालले आज राष्ट्रपति भवनमा भेटवार्ता गरेका छन् ।

भेटका क्रममा सभामुख अर्यालले सङ्घीय संसद्ले आयोजना गर्न लागेको अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) अन्तर्गतको दिगो विकाससम्बन्धी स्थायी समितिको एसिया–प्रशान्त क्षेत्रीय सम्मेलनका बारेमा राष्ट्रपति पौडेललाई जानकारी गराए ।

त्यसैगरी, तान्जानियाको अरुसामा सम्पन्न अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) को १५३औँ महासभामा नेपालले प्रस्तुत गरेको जलवायुजन्य विपद्सम्बन्धी आपत्कालीन प्रस्ताव दुईतिहाइभन्दा बढी मतले पारित भएको विषयमा पनि सभामुख अर्यालले राष्ट्रपति पौडेललाई अवगत गराए ।

भेटमा संसद्को अधिवेशन आह्वान तथा संसद्लाई नियमित र प्रभावकारी रूपमा सञ्चालन गर्ने विषयमा समेत छलफल भएको थियो । सभामुख अर्यालले राजनीतिक दलहरूसँगको छलफलका क्रममा संसद् सञ्चालन गर्नुपर्ने सुझाव प्राप्त भएको जानकारी गराए ।

यसैगरी, सातवटै प्रदेशका सभामुख तथा उपसभामुखसहित प्रदेशसभाका पदाधिकारीहरूसँग राष्ट्रपति र सभामुखबीच सामूहिक भेटघाट तथा छलफल गर्ने योजनाका विषयमा पनि सभामुख अर्यालले जानकारी गराए ।

भेटका क्रममा राष्ट्रपति पौडेलले संसद्मा जति धेरै बहस र छलफल हुन्छ, त्यति नै लोकतन्त्र बलियो हुने बताए । संसद्मा हुने विचारविमर्शले लोकतान्त्रिक अभ्यासलाई थप सुदृढ बनाउने उल्लेख गर्दै उनले सरकारले गरेका कामकारबाहीका विषयमा समेत चासो राखेका थिए ।

भेटमा अन्य समसामयिक विषयमा समेत छलफल भएको थियो ।

Comment

Related News

Latest News

Trending News