२०८३ कार्तिक २१, शनिवार ०७:१४

दीपावली अर्थात् तिहार पर्वको सुरुवातसँगै धनतेरसका अवसरमा जनकपुरधामको बजारमा उपभोक्ताको व्यापक चहलपहल देखिएको छ । धनतेरसलाई लक्षित गरी शुक्रबार बिहानैदेखि जनकपुरधामका मुख्य बजार क्षेत्रमा किनमेल गर्ने उपभोक्ताको भीड बढेको छ । विशेषगरी सुनचाँदीका गहना, तामा, पित्तल, स्टिललगायत धातुका भाँडाकुँडा तथा पूजासामग्री खरिद गर्नेको चहलपहल उल्लेख्य देखिएको छ ।

धनतेरसका दिन नयाँ धातुका सामग्री खरिद गरी घरमा भित्र्याउँदा सुख, समृद्धि र धनधान्य वृद्धि हुने धार्मिक विश्वासका कारण उपभोक्ताहरू किनमेलमा व्यस्त देखिएको छ । जनकपुरधामको सुनचाँदी बजारदेखि भाँडाकुँडाका पसल तथा अन्य व्यापारिक प्रतिष्ठानसम्म ग्राहकको आवागमन बढेको छ । बजारका विभिन्न पसलमा उपभोक्ताले आफ्नो आवश्यकता र आर्थिक क्षमताअनुसार सुनचाँदीका गरगहना, तामा, पित्तल, स्टिलका भाँडाकुँडा तथा अन्य सामग्री खरिद गरेका छन् । धनतेरसको अवसरमा सुनचाँदी पसलहरूमा विशेष चहलपहल देखिएको छ ।

धार्मिक मान्यताअनुसार यस दिन सुनचाँदी तथा धातुका सामग्री खरिद गर्नु शुभ मानिने भएकाले उपभोक्ताको आकर्षण यस्ता सामग्रीतर्फ बढी देखिएको छ । त्यस्तै, घरायसी प्रयोजनका लागि भाँडाकुँडा खरिद गर्ने ग्राहकको पनि उल्लेख्य उपस्थिति रहेको छ । भाँडा पसलहरूमा तामा, पित्तल र स्टिलका सामग्री आकर्षक रूपमा सजाएर राखिएको छ । धनतेरसलाई धनधान्यकी देवी लक्ष्मी र धनका देवता कुबेरको आराधना गर्ने विशेष दिनका रूपमा लिइन्छ । यस दिन नयाँ भाँडाकुँडा, सुनचाँदीका गहना तथा अन्य धातुका सामग्री खरिद गरी घरमा भित्र्याउँदा लक्ष्मीको स्थायी बास हुने र घरपरिवारमा सुख, शान्ति तथा समृद्धि कायम हुने धार्मिक विश्वास छ ।

यही मान्यताका कारण प्रत्येक वर्ष धनतेरसका अवसरमा बजारमा किनमेल गर्नेको भीड लाग्ने गर्दछ । धार्मिक परम्परा अनुसार धनतेरसका दिन सुन, चाँदी, तामा, पित्तललगायत धातुका भाँडाकुँडा खरिद गर्ने चलन छ । यसका अतिरिक्त खरेटो, सिङ्गो धनियाँ, कौडी तथा कमल गट्टा खरिद गरेर घरमा भित्र्याउनु पनि शुभ मानिन्छ । धनतेरसका दिन खरिद गरिएका सामग्री लक्ष्मीपूजाका दिन पूजामा समावेश गर्ने परम्परा रहेको छ । मिथिला–मधेश क्षेत्रमा धनतेरस मनाउने आफ्नै मौलिक धार्मिक तथा सांस्कृतिक परम्परा छ । मिथिला परम्परामा कार्तिक कृष्णपक्षको त्रयोदशी तिथिका दिन साँझ घरघरमा दीपमालिका गरी धनतेरस मनाइन्छ । नयाँ धातुका भाँडाकुँडा तथा गरगहना खरिद गरी घरमा लक्ष्मी स्थापना गरेर पूजा गर्ने चलन छ । यस दिन खरेटो, धनियाँलगायत सामग्री खरिद गर्ने परम्परा पनि प्रचलित छ ।

मैथिल कर्मकाण्डका ज्ञाता महेशकुमार झाले दिएको जानकारी अनुसार यस वर्ष तिथिको घटबढका कारण तिहार पर्वको अवधि सामान्यभन्दा फरक भएको छ । पञ्चांग अनुसार शुक्रबार बिहान ११ बजेर १० मिनेटपछि त्रयोदशी तिथि शुरु भइ शनिबार बिहान १० बजेर ४७ मिनेटसम्म रहनेछ । सूर्योदयका समयमा द्वादशी तिथि रहे पनि मध्याह्नअघि त्रयोदशी सुरु हुने भएकाले शुक्रबार नै धनतेरस मनाइएको छ । मिथिला क्षेत्रमा चाडपर्व, तिथि, नक्षत्र, श्राद्ध तथा शुभकार्यको निर्णय मिथिला पञ्चाङ्ग र विद्यापति पञ्चांगका आधारमा गर्ने परम्परा छ । यस वर्ष कागपूजा र धन्वन्तरी जयन्ती भने शनिबार परेको छ । त्यसैगरी आइतबार कुकुर पूजा तथा साँझ लक्ष्मीपूजा गरिने पञ्चांगमा उल्लेख छ । यमपञ्चकको पहिलो दिन धनतेरसदेखि नै साँझ घरमा दीप प्रज्वलन गर्ने परम्परा पनि सुरु हुन्छ । यस दिन परिवारका सदस्यको संख्या अनुसार यमदीप दान गरिन्छ ।

यमराजलाई प्रसन्न बनाउन घरबाहिर दीपदान गर्ने परम्पराले तिहारको धार्मिक महत्वलाई थप विशेष बनाएको छ । दीपावली, तिहार तथा यमपञ्चकका नामले परिचित यो पर्व नेपालीको दशैँपछिको दोस्रो ठूलो चाड हो । धनतेरससँगै सुरु हुने तिहारमा घर, आँगन तथा व्यापारिक प्रतिष्ठानको सरसफाइ, सजावट र दीप प्रज्वलन गरिन्छ । घरघरमा दीपमालिका गर्दै लक्ष्मीको स्वागत गर्ने परम्परा छ । धनतेरसको अवसरमा जनकपुरधामको बजारमा देखिएको उपभोक्ताको चहलपहलले पर्वको रौनकसमेत बढाएको स्थानीय रोशन यादवले बताए । धार्मिक आस्था, परम्परा र पारिवारिक आवश्यकतालाई ध्यानमा राख्दै उपभोक्ताहरू किनमेलमा जुट्दा बजार क्षेत्र तिहारमय बनेको थियो । सुनचाँदीका पसलदेखि भाँडाकुँडा तथा अन्य व्यापारिक प्रतिष्ठानसम्म देखिएको भीडले धनतेरसको उत्साहलाई थप प्रस्ट पारेको थियो ।

Comment

Related News

Latest News

Trending News