चाडपर्वको रौनकसँगै बढ्न सक्ने चोरी, लुटपाट, ठगी, पाकेटमारी र सवारी दुर्घटनाको जोखिमलाई मध्यनजर गर्दै रौतहट प्रहरीले सुरक्षा व्यवस्थालाई थप कडा बनाउने भएको छ। दशैं, तिहार र छठ पर्वको समयमा हुन सक्ने सम्भावित आपराधिक गतिविधि नियन्त्रण गर्न प्रहरीले जिल्लाभर विशेष सुरक्षा परिचालनको तयारी गरेको छ।
रौतहट प्रहरी प्रमुख एसपी सिताराम रिजालका अनुसार चाडपर्वमा मानिसको आवागमन बढ्ने, आर्थिक कारोबार तीव्र हुने र बजार क्षेत्रमा भीडभाड बढ्ने अवस्थालाई ध्यानमा राखेर जिल्ला प्रहरी कार्यालय रौतहटले ८९७ जना प्रहरी जनशक्ति परिचालन गर्ने सुरक्षा रणनीति अघि सारेको हो। यसमा ट्राफिक प्रहरीसमेत सहभागी हुनेछन्।
जिल्ला प्रहरी प्रवक्ता वसन्त गौतमका अनुसार सुरक्षा योजनाअन्तर्गत प्रहरीको उपस्थिति सडक, बजार र सीमावर्ती क्षेत्रमा मात्र सीमित रहने छैन। प्रविधिको प्रयोगदेखि गोप्य निगरानीसम्मका उपाय अपनाएर नागरिकको सुरक्षा सुनिश्चित गर्ने लक्ष्य राखिएको छ।
२४ घण्टा निगरानी, ३४ स्थानमा प्रहरी पिकेट
प्रहरीले जिल्लाका ३४ स्थानमा पिकेट स्थापना गरी तत्काल सुरक्षा प्रतिक्रिया दिने व्यवस्था मिलाउने भएको छ। त्यस्तै, २० स्थानमा पैदल गस्ती परिचालन गरिनेछ। १४ वटा मोबाइल गस्ती, सीसीटीभी क्यामेरा र ड्रोन प्रविधिलाई एकीकृत गर्दै संवेदनशील क्षेत्रमा चौबीसै घण्टा निगरानी गरिने योजना छ।
मुख्य बजार, मेला, जात्रा, धार्मिक स्थल र बढी भीडभाड हुने क्षेत्रलाई विशेष निगरानीमा राखिनेछ। सम्भावित अपराध तथा दुर्घटना हुन सक्ने जोखिमयुक्त स्थान पहिचान गरी नियमित र आकस्मिक गस्तीसमेत बढाइने प्रहरीले जनाएको छ।
बैंकदेखि सुनचाँदी पसलसम्म सुरक्षा घेरा
चाडपर्वको समयमा बैंक तथा वित्तीय संस्था, सुनचाँदी पसल र आर्थिक कारोबार हुने स्थानमा रकम लुटपाट तथा चोरीको जोखिम बढ्न सक्ने भएकाले त्यस्ता क्षेत्रलाई संवेदनशील सूचीमा राखिनेछ।
चोरी, पाकेटमारी, ठगी र लुटपाटमा संलग्न हुन सक्ने व्यक्तिमाथि निगरानी गर्न सादा पोशाकमा समेत प्रहरी परिचालन गरिनेछ। अदालतको फैसला कार्यान्वयनका क्रममा फरार रहेका प्रतिवादी पक्राउ गर्ने अभियानलाई पनि सुरक्षा योजनासँग जोडिएको छ।
सीमामा कुकुरसहित चेकजाँच, यात्रुका लागि सहायता कक्ष
भारतबाट दशैं, तिहार तथा छठ मनाउन घर फर्किने नेपाली नागरिकको सुरक्षा पनि प्रहरीको प्राथमिकतामा परेको छ। सीमावर्ती भारतीय प्रहरी इकाइसँग समन्वय गरी यात्रु ठगी तथा लुटपाटबाट जोगाउने व्यवस्था मिलाइनेछ।
यसका लागि जिल्लाका पाँच स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिनेछ। सीमावर्ती क्षेत्रमा पटाका तथा अन्य अवैध सामग्रीको ओसारपसार नियन्त्रण गर्न तालिमप्राप्त कुकुरसहित प्रहरी टोली परिचालन गरिनेछ।
बसपार्क तथा प्रमुख यातायात केन्द्रमा प्रहरीको उपस्थिति बढाएर सार्वजनिक सवारीसाधनमा हुने चोरी, ठगी र यात्रुमाथिको दुर्व्यवहार नियन्त्रण गर्ने योजना पनि बनाइएको छ।
मापसे र लापरवाहीपूर्ण सवारी सञ्चालनमाथि कडाइ
चाडपर्वमा सडक दुर्घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरीसहित १० स्थानमा संयुक्त चेकजाँच सञ्चालन गरिनेछ। मादक पदार्थ सेवन गरी सवारी चलाउने, क्षमताभन्दा बढी यात्रु राख्ने तथा लापरवाहीपूर्वक सवारी सञ्चालन गर्ने चालकलाई नियन्त्रणमा लिन विशेष निगरानी गरिनेछ।
त्यसैगरी, सामाजिक सञ्जालमार्फत फैलिन सक्ने अफवाह, भ्रामक तथा उत्तेजनात्मक सामग्रीमाथि पनि प्रहरीले निगरानी बढाउने भएको छ। यस्ता गतिविधिका कारण सामाजिक सद्भाव र शान्ति सुरक्षामा असर पर्न नदिन २४ घण्टा प्रहरी परिचालन गरिने विज्ञप्तिमा उल्लेख छ।
जिल्ला प्रहरी कार्यालयले चाडपर्वलाई शान्तिपूर्ण र सभ्य वातावरणमा मनाउन नागरिक, व्यवसायी, यातायात व्यवसायी तथा सम्पूर्ण सरोकारवाला पक्षसँग सहयोगको अपेक्षा गरेको छ।
प्रहरीले कुनै शंकास्पद गतिविधि, व्यक्ति वा आपराधिक घटना देखिए तत्काल प्रहरी कन्ट्रोल नम्बर १०० वा सञ्चार नम्बर ९८५५०९०३७४ मा सम्पर्क गर्न आग्रह गरेको छ। त्यस्तै, सूचना अधिकारी ९८५५०४०६०७ र कार्यालय प्रमुख ९८५५०३५५५५ मा समेत जानकारी गराउन सकिने जनाएको छ।
चाडपर्वलाई भयमुक्त र सुरक्षित बनाउन प्रहरीको सुरक्षा योजना प्रभावकारी कार्यान्वयन हुनुका साथै नागरिकको सतर्कता र सहकार्य पनि उत्तिकै आवश्यक देखिन्छ।


