२०८३ कार्तिक २१, शनिवार १५:३९

अनिल तिवारी

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त बोहराको कार्यशैलीलाई लिएर विवाद चुलिएको छ। लामो समयदेखि नियमित रूपमा कार्यालयमा उपस्थित नहुने र महानगरपालिकाको प्रशासनिक तथा आर्थिक कारोबारसम्बन्धी काम आफ्नै निवासबाट सञ्चालन गर्ने गरेको आरोप उनीमाथि लागेको छ।

बोहराको निवासमै बसेर लेखापालद्वय रामकुमार कुशवाहा र रूपनारायण पटेल तथा योजना अधिकृत अवधेश कुशवाहालगायत केही कर्मचारीले आफू निकटका व्यक्ति तथा कमिसनको लेनदेनमा संलग्न पक्षहरूको भुक्तानीसम्बन्धी काम गर्ने गरेको आरोप सार्वजनिक भएको छ। अर्कोतर्फ, भुक्तानी पाउन बाँकी रहेका ठेकेदार तथा सप्लायर्सहरू भने आफ्नो रकम निकासाका लागि प्रमुख प्रशासकीय अधिकृत र लेखापालको खोजीमा भौँतारिन बाध्य भएको गुनासो गर्दै आएका छन्।

यसैबीच, बिहीबार राति करिब ११ बजे वीरगञ्जको आदर्शनगर चोकस्थित लक्ष्मी बैंक रहेको भवनमा प्रमुख प्रशासकीय अधिकृत बोहरासहितको टोली र सप्लायर्स निराजन अधिकारी नेतृत्वको समूहबीच विवाद भएको बताइएको छ। उक्त समयमा बोहरा आफ्नो टोलीसहित भवनमा बसेर कबाब तथा मदिरासहित कागजात मिलाउने काममा व्यस्त रहेको आरोप छ।

सोही क्रममा सप्लायर्स अधिकारीसहितको टोली त्यहाँ पुगेपछि विवाद चर्किएको र भनाभन हुँदै हातपातको अवस्थासमेत सिर्जना भएको बताइएको छ। विवादका क्रममा रामप्रसाद कुशवाहामाथि मुक्का प्रहार भएको र बोहरामाथि समेत धक्कामुक्की भएको आरोप छ।

घटनापछि प्रमुख प्रशासकीय अधिकृत बोहरा आफ्नो टोलीसहित सोही रात सिमरा पुगेको र त्यहाँ लुकेर बसेको बताइएको छ। त्यसपछि शुक्रबार बिहान उनी काठमाडौं गएको जानकारी प्राप्त भएको छ।

शुक्रबार लेखापालहरू कार्यालयमा उपस्थित नभएको विषयले पनि थप आशंका जन्माएको छ। वीरगञ्ज महानगरपालिका वडा नम्बर १७ का अध्यक्ष सञ्जु छतकुलीका अनुसार बिहीबार राति प्रमुख प्रशासकीय अधिकृतको निवासमा झगडा भएको सूचना राति ११ बजेर ५३ मिनेटमा आफूले प्राप्त गरेका थिए।

त्यस्तै, वडा नम्बर २५ का अध्यक्ष आशुतोष चतुर्वेदीले प्रमुख प्रशासकीय अधिकृत बोहराको मनोमानी कार्यशैलीका कारण नगरवासी, ठेकेदार तथा तल्लो तहका कर्मचारीले सास्ती खेप्नुपरेको बताएका छन्।

बोहरा अब मंसिर १२ गते मात्रै कार्यालय फर्किने हल्ला आफूले सुनेको उल्लेख गर्दै चतुर्वेदीले बिहीबार राति प्रमुख प्रशासकीय अधिकृतको टोली र सप्लायर्सहरूबीच भएको भनिएको झगडाबारे आफूले पनि जानकारी पाएको बताए।

महानगरपालिकाको प्रशासनिक नेतृत्व नै विवादमा तानिनु, कार्यालयको नियमित कामकाज प्रभावित भएको गुनासो आउनु र भुक्तानी प्रक्रियामा अनियमितताको आरोप लाग्नुले महानगरपालिकाको सुशासन तथा प्रशासनिक पारदर्शितामाथि गम्भीर प्रश्न खडा गरेको छ। यस विषयमा सम्बन्धित पक्षको आधिकारिक धारणा तथा घटनाको निष्पक्ष छानबिन आवश्यक देखिएको छ।

Comment

Related News

Latest News

Trending News