२०८३ कार्तिक २३, सोमवार १७:२४

लगातार चार हारपछि पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो जित निकालेको छ । क्यानेडियन ओपनर युवराज सामराको शतकीय इनिङ्समा २१८ रनको लक्ष्य पाएको कर्णाली याक्सलाई पोखराले सोमबार ६३ रनले पराजित गरेको हो ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा २१८ रनको लक्ष्य पछ्याएको कर्णाली १८.३ ओभरमा १५४ रनमै समेटियो । यससँगै कर्णालीले लगातार तेस्रो हार बेहोरेको छ ।

कर्णालीको ब्याटिङमा पवन सर्राफले सर्वाधिक ३२ रन बनाए । उनले ३१ बलमा एक चौका र दुई छक्का प्रहार गरे । आरिफुल इस्लामले १३ बलमा दुई चौका र दुई छक्कासहित २४ रन जोडे । दीपक डुम्रेले सात बलमा तीन छक्का र एक चौकासहित २२ रन बनाए पनि ठूलो लक्ष्य पछ्याउन त्यो पर्याप्त भएन ।

कप्तान सोमपाल कामीले १९ बलमा एक चौकासहित २१ रन बनाए । तर उनी ‘अब्स्ट्रक्टिङ द फिल्ड’ आउट भए । पोखराका विपिन खत्रीको बलमा सट खेल्ने क्रममा बल ब्याटमा लागेर अगाडि खसेपछि पुनः ब्याट घुमाउँदा बलमा छोएको थियो । पोखराको अपिलपछि अम्पायरले डीआरएसको सहायता लिएर उनलाई आउट दिएका थिए ।

आरिफुल र सोमपालबाहेक कर्णालीका अन्य ब्याटरले उल्लेख्य योगदान दिन सकेनन् । जिसन आलम शून्यमा आउट भए भने मार्क वाटले आठ रन बनाए । गुलशन झा दुई र नन्दन यादव तीन रनमा आउट भए । सूर्य तामाङले १३ रन बनाए ।

पोखराका माहेदी हसनले २४ रन खर्चेर तीन विकेट लिए । धनञ्जय लक्षण, कुशल भुर्तेल र विपिन खत्रीले दुई–दुई विकेट हात पारे ।

यसअघि टस जितेर ब्याटिङ गरेको पोखराले तीन विकेटको क्षतिमा २१७ रन बनाएको थियो । टोलीको विशाल योगफलमा सामरा र कुशल भुर्तेलको साझेदारी निर्णायक बन्यो ।

सामराले ४८ बलमा १० चौका र ६ छक्कासहित १०२ रन बनाए । यो जारी सिजनको पहिलो शतक हो । उनले कुशलसँग दोस्रो विकेटका लागि ६८ बलमा १३६ रनको साझेदारी गरेका थिए । कुशलले ३९ बलमा सात चौकासहित ६२ रन जोडे ।

माहेदी हसन पाँच रनमा आउट भए । कप्तान चामिका करुणारत्नेले ११ बलमा तीन चौका र तीन छक्कासहित अविजित ३५ रन बनाए । सन्नी विक तीन रनमा नटआउट रहे ।

यस सिजन पहिलोपटक कुनै टोलीले २०० रनको आँकडा पार गरेको हो । सामराको शतक एनपीएल इतिहासकै चौथो शतकसमेत बन्यो । यसअघि पोखराका एन्ड्रेज हाउसले २०२४ मा लुम्बिनीविरुद्ध अविजित १०४ र एडम रोसिङ्टनले गत वर्ष कर्णालीविरुद्ध अविजित १०८ रन बनाएका थिए ।

कर्णालीका मार्क वाटले गत वर्ष लुम्बिनीविरुद्ध ४१ बलमै शतक पूरा गर्दै प्रतियोगिताको सबैभन्दा छिटो शतकको कीर्तिमान बनाएका थिए ।

पोखराका लागि शतक बनाउने खेलाडीले शतक प्रहार गरेको खेलमा टोली पराजित नभएको संयोगले यसपटक पनि निरन्तरता पायो । सोमपाल कामीले चार ओभरमा २४ रन खर्चेर दुई विकेट लिए भने मार्क वाटले एक विकेट हात पारे।

Comment

Related News

Latest News

Trending News