२०८३ कार्तिक २५, बुधवार ०७:२०

नेपालीहरूको दोस्रो मुख्य चाड तिहारको मुख्य दिन आज भाइटीका मनाइँदै छ।

भाइटीका बुधवार दिनभर लगाउन कुनै बाधा नभए पनि साइत खोज्नेका लागि बिहान ११ बजेर ७ मिनेटको समय उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।

यस वर्ष भाइटीका लगाइमाग्ने दाजुभाइ पश्चिम फर्किने र लगाइ दिने दिदीबहिनी पूर्व फर्किएर टीका लगाइदिनुपर्ने समितिले जनाएको छ।

यमपञ्चक समेत भनिने तिहारको पाँचौं दिन आज भाइटीका पर्व दिदी बहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परा अनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइन्छ।

दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको रहेको छ ।

दिदीबहिनीले दाजुभाइको सुख, शान्ति, सुस्वास्थ्य तथा दीर्घायुको कामना गर्दै सप्तरंगी टीका र माला लगाइदिने हुनाले यसलाई पारिवारिक सम्बन्ध बलियो बनाउने विशिष्ट पर्वका रूपमा मनाइन्छ। भाइटीकाले दाजुभाइ र दिदीबहिनीबिचको प्रेममय सम्बन्धलाई रङ्गहरूजस्तै सधैँ गाढा, ताजा र प्रज्ज्वल बनाइराख्ने विश्वास गरिन्छ।

लक्ष्मी पूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको आज पूजा गरी मूल थालीमा लेखिएको अष्टदलमा मार्कण्डेय, अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य र परशुराम गरी अष्ट चिरञ्जीवी, चित्रगुप्त, यमराज, यमुना र धर्मराज, गणपत्यादि वनस्पत्यन्त देवताको समेत पूजा आराधना गरी दिदी बहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर परम्परा अनुसार सप्तरङ्गी वा पञ्चरङ्गी टीका, मखमली, सयपत्री वा गोदावरी लगायतका फूलका माला लगाइदिने गरिन्छ।

टीका लगाइदिएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मर मसला एवं सेलरोटी लगायतका खानेकुरा दिने र दाजुभाइले पनि दिदीबहिनीलाई गच्छे अनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गर्ने धार्मिक एवं सामाजिक परम्परा छ।

Comment

Related News

Latest News

Trending News