२०८३ कार्तिक २७, शुक्रवार ११:२०

पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ पाँचदिने भ्रमणका लागि रुसको राजधानी मस्को प्रस्थान गरेका छन्। 

अखिल रूसी राजनीतिक दल (अल रसियन पोलिटिकल पार्टी) को आयोजनामा यही नोभेम्बर १४ देखि १७ सम्म मस्कोमा ‘फर द फ्रिडम अफ नेसन्स’ अर्थात् ‘राष्ट्रहरूको स्वतन्त्रताका लागि’ शीर्षकमा विश्व सम्मेलन हुँदैछ। प्रचण्ड सोही सम्मेलनमा सहभागी हुन रुस गएका हुन्। उक्त सम्मेलनमा विश्वभरका कम्युनिस्ट तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू उपस्थित हुनेछन्।

शक्तिशाली राष्ट्रहरूले कमजोर तथा विकासशील मुलुकमाथि आर्थिक, राजनीतिक र रणनीतिक प्रभाव विस्तार गर्ने प्रवृत्तिको विरोध गर्नु सम्मेलनको मुख्य उद्देश्य रहेको छ।

प्रत्येक देशले आफ्नो राजनीतिक प्रणाली, विकासको बाटो र राष्ट्रिय नीति आफैँ निर्धारण गर्न पाउनुपर्ने मान्यतालाई अघि सार्दै अल रसियन पोलिटिकल पार्टीले विगतमा पनि यस्ता अन्तर्राष्ट्रिय मञ्चहरूको आयोजना गर्दै आएको छ।

विश्व राजनीतिमा अमेरिका तथा पश्चिमा शक्तिहरूको एकल प्रभावभन्दा बहुध्रुवीय विश्व व्यवस्थाको पक्षपोषण गर्ने र विकासशील तथा ‘ग्लोबल साउथ’ का मुलुकबीच राजनीतिक एवं आर्थिक सहकार्य विस्तार गर्ने लक्ष्य राखिएको छ । यसअघि सन् २०२४ मा पनि मस्कोमै ‘फर द फ्रिडम अफ नेसन्स, फर अ जस्ट वर्ल्ड’ शीर्षकमा यस्तै अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरिएको थियो ।

प्रचण्डले विश्व सम्मेलनमा सम्बोधन तथा सहभागिता जनाउनुका साथै रुसी नेताहरू र विभिन्न देशबाट आएका प्रतिनिधिहरूसँग द्विपक्षीय एवं साइडलाइन भेटघाट गर्ने कार्यक्रम रहेको छ । 

Comment

Related News