राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा नियुक्त भएका चार जना न्यायाधीशहरूलाई पद तथा गोपनियताको शपथ गराएका छन् ।
नेपालको संविधानको धारा १२९ को उपधारा (२) बमोजिम न्याय परिषद्को सिफारिस र संसदीय सुनुवाइ समितिको अनुमोदनपश्चात उनीहरू सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त भएका थिए।
सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्त हुनेहरूमा उच्च अदालत पोखराका मुख्य न्यायाधीश डा. रत्नबहादुर बागचन्द, उच्च अदालत पाटनका न्यायाधीश चन्द्रबहादुर सारु, उच्च अदालत पाटन (हेटौँडा इजलास) का न्यायाधीश जनक पाण्डे र उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगन्जका न्यायाधीश गोकर्ण डाँगी रहेका छन्।
गत असोज २० गते बसेको न्याय परिषद्को बैठकले उनीहरूलाई सर्वोच्च अदालतको न्यायाधीश पदमा सिफारिस गर्ने निर्णय गरेको थियो। त्यसपछि कात्तिक २१ गते संसदीय सुनुवाइ समितिले उनीहरूको नाम सर्वसम्मत रूपमा अनुमोदन गरेको थियो।


