२०८३ कार्तिक २८, शनिवार ०७:१४

छठ पर्वलाई शान्तिपूर्ण, मर्यादित र व्यवस्थित रूपमा सम्पन्न गराउन धनुषामा विशेष सुरक्षा व्यवस्था मिलाइने भएको छ ।

जिल्ला सुरक्षा समिति धनुषा र छठ पूजा समिति धनुषाका पदाधिकारीहरूको शुक्रबार बसेको संयुक्त बैठकले छठ पर्वका अवसरमा हुन सक्ने सम्भावित सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै विभिन्न निर्णय गरेको हो ।

धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलको अध्यक्षतामा बसेको बैठकले जनकपुरधाम उपमहानगरपालिकासहित जिल्लाभरका तलाउ, पोखरी तथा नदी किनारमा छठ पूजा शान्तिपूर्ण रूपमा सम्पन्न गराउन पूजा समितिहरूले स्वयंसेवक परिचालन गर्ने निर्णय गरेको छ ।

त्यस्तै, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालले समन्वयात्मक रूपमा एकीकृत सुरक्षा योजनाअनुसार सुरक्षा व्यवस्था मिलाउनेछन् ।

बैठकले छठ पूजा स्थलसँग जोडिएका क्षेत्रमा सञ्चालनमा रहेका मासु तथा मदिरा पसललाई पूजा अवधिभर बिक्री वितरण बन्द गर्न अनुरोध गर्ने निर्णयसमेत गरेको छ ।

त्यसैगरी, छठ घाटमा ठूलो आवाजमा डिजे बजाउने, पटका तथा अन्य विस्फोटक पदार्थ पड्काउने र मादक पदार्थ सेवन गरी होहल्ला गर्ने गतिविधिलाई नियन्त्रण गरिने भएको छ ।

छठ पूजाका क्रममा विशिष्ट तथा अतिविशिष्ट व्यक्तिहरूको आवागमन र घाटमा हुने भीड व्यवस्थापनका लागि नेपाल प्रहरी तथा सशस्त्र प्रहरीले पूजा समितिसँग समन्वय गरी आवश्यक सुरक्षा प्रबन्ध मिलाउने निर्णय पनि बैठकले गरेको छ ।

यस्तै, छठ पर्वका बेला सवारी आवागमन सहज बनाउन जिल्ला ट्राफिक प्रहरी कार्यालयले पूजा समितिसँग समन्वय गरी ट्राफिक रुट, पार्किङ तथा बाइपास सडकको व्यवस्थापन गर्नेछ ।

शुक्रबार बसेको बैठकमा जिल्ला सुरक्षा समितिका पदाधिकारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान कार्यालयका प्रतिनिधि तथा धनुषाका विभिन्न छठ पूजा समितिका पदाधिकारीहरूको सहभागिता रहेको थियो ।

 

Comment

Related News

Latest News

Trending News