२०८३ मंसिर १, मंगलवार १४:१०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सरकारी जागिर खाएको आरोपमा बाराको फेटा गाउँपालिकाका रोजगार संयोजक ओम प्रकाश गिरीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

फेटा गाउँपालिकामा सञ्चालित ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ अन्तर्गत नेपाल सरकारको राजपत्राङ्कित तृतीय श्रेणी (शाखा अधिकृत सरह) को रोजगार संयोजक पदमा गिरी २०७८ जेठ १ गते नियुक्त भएका थिए।

उनले सो पद प्राप्तिका लागि पेस गरेको ३ वर्षे बी.एड. तहको लब्धाङ्कपत्र त्रिभुवन विश्वविद्यालयबाट प्रमाणीकरण गराउँदा अर्कै व्यक्तिको रहेको पुष्टि भएको अख्तियारले जनाएको छ। गिरीको प्रमाणपत्र तह र स्नातक तहको शैक्षिक योग्यता नक्कली रहेको भन्दै उजुरी परेपछि आयोगले अनुसन्धान सुरु गरेको थियो।

आफ्नो वास्तविक शैक्षिक योग्यता ढाँटेर झुट्टा प्रमाणपत्र पेस गरी राष्ट्रसेवकको ओहदा प्राप्त गरेको ठहर गर्दै आयोगले उनीमाथि कारबाही अघि बढाएको हो।

आयोगले गिरीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुरमा सोही दफाअनुसार हदैसम्मको कैद र जरिवाना मागदाबीसहित विशेष अदालतमा आरोपपत्र दायर गरिएको प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिएका छन्।

Comment

Related News

Latest News

Trending News