२०८३ मंसिर १, मंगलवार १४:२३

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आन्दोलनको तयारी गर्न नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।

मंगलबार काठमाडौंमा अखिल नेपाल किसान महासङ्घ केन्द्रीय कमिटीको विस्तारित बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले जुनसुकै बेला पनि आन्दोलन गर्नुपर्ने अवस्था आउने भन्दै आन्दोलनको मानसिकताका साथ तयार रहन निर्देशन दिनुभएको हो । उहाले आन्दोलन सधैँ लामो तयारी गरेर मात्रै नहुने भएकाले असह्य भएपछि आन्दोलन तत्काल हुनसक्ने उल्लेख गर्नुभयो ।

आतंकपूर्ण वातावरण र कृयाकलापले आफूहरू पछाडि धकेलिएको भए पनि, त्यस्तो आतंक सधैँ कायम नरहने र आत्मविश्वास तथा मनोबलकासाथ अगाडि बढ्ने उहाले बताउनुभयो । अध्यक्ष ओलीले चुनावको माध्यमबाट पार्टी बनाउन खोज्नेहरूका विरुद्ध पार्टी लिएर आगामी चुनावमा जित्न जाने उल्लेख गर्नुभयो । त्यस्तै उहाले सर्वोच्च अदालतको व्याख्या र आदेशप्रति असन्तुष्टि व्यक्त गर्नुभयो । अघिपछि हतारिएर फैसला गर्ने अदालतले प्रतिनिधिसभा बिघटनको मुद्दामा अहिलेसम्म फैसला गर्न नसकेको उहाको भनाइ छ । ओलीले समयमा न्याय प्राप्त नहुनु र ढिला प्राप्त हुनु भनेको न्याय प्राप्त नहुनुजस्तै भएपनि अदालतका बिषयमा थप नबोल्ने धारणा राख्नुभयो । अदालतका बारे धेरै बोल्दा आफुमाथि मानहानीको मुद्दा थपिन सक्ने उहाको भनाइ छ ।

अध्यक्ष ओलीले जुनसुकै परिस्थिति आए पनि पार्टी फेरि उठ्ने, पुनर्गठन हुने र अगाडि बढ्ने दृढता व्यक्त गर्नुभयो । आगामी दिनमा जनताको घरदैलोमा पुग्ने, किसान र जनतासँग संवाद गर्ने तथा पार्टीलाई अझ बढी सशक्त बनाएर देशको निर्णायक राजनीतिक तथा लोकतान्त्रिक शक्तिका रूपमा स्थापित गर्ने काममा जुट्न उहाले निर्देशन दिनुभयो ।

Comment

Related News

Latest News

Trending News