प्रधानमन्त्री बालेन्द्र (बालेन) साहको आसन्न भारत भ्रमणका क्रममा जनकपुरधाम र भारतको अयोध्याबीच सिधा रेल सेवा सञ्चालनको औपचारिक उद्घाटन गर्ने तयारी गरिएको छ । लामो समयदेखि चर्चामा रहेको जनकपुरधाम–अयोध्या रेल सम्पर्कलाई मूर्तरूप दिने यो पहललाई भ्रमणको महत्त् वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ ।
भारतीय रेल मन्त्रालयले जनकपुरधामदेखि उत्तर प्रदेशको अयोध्या क्यान्टसम्म सञ्चालन हुने साप्ताहिक रेल सेवालाई स्वीकृति दिइसकेको छ । नोभेम्बर १४ -कात्तिक २८) मा सार्वजनिक विवरण अनुसार करिब ६०४ किलोमिटर लामो यो रेल सेवाले नेपाल र भारतका दुई महत्त्वपूर्ण धार्मिक सहरलाई जोड्नेछ । प्रस्तावित कार्यक्रमअनुसार प्रधानमन्त्री साह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नोभेम्बर २३ -मंसिर ७) मा संयुक्त रूपमा रेल सेवाको उद्घाटन गर्ने तयारी छ । प्रधानमन्त्री साह नोभेम्बर २२ -मंसिर ६) मा भारत भ्रमणमा जाने कार्यक्रम रहेको सार्वजनिक विवरणमा उल्लेख छ ।
प्रारम्भिक योजना अनुसार जनकपुरधाम– अयोध्या रेल सेवा सातामा एकपटक सञ्चालन हुनेछ । शुरुमा १८ वटा डिब्बासहित भारतीय रेल प्रयोग गरेर सेवा सञ्चालन गर्ने तयारी गरिएको छ । भारतीय रेल मन्त्रालयका अनुसार जनकपुरधामबाट प्रत्येक शनिबार र अयोध्या क्यान्टबाट प्रत्येक सोमबार रेल छुट्ने व्यवस्था प्रस्ताव गरिएको छ । रेलले जनकपुरधाम, जयनगर, मधुबनी, शिशो, सीतामढी, रक्सौल, नरकटियागन्ज, गोरखपुर, बस्ती, मनकापुर र अयोध्या धाम हुँदै अन्तिम गन्तव्य अयोध्या क्यान्टसम्म सेवा दिनेछ । यद्यपि, नियमित व्यावसायिक सञ्चालन सुरु हुने मिति, छुट्ने समय, टिकट दर तथा बुकिङ प्रणालीबारे विस्तृत विवरण सार्वजनिक हुन बाँकी छ ।
जनकपुरधामदेखि अयोध्यासम्मको कुल दूरीमध्ये नेपालतर्फ करिब २८ किलोमिटर र बाँकी अधिकांश दूरी भारतीय भूभागमा पर्नेछ । हाल जयनगर–जनकपुरधाम–बिजलपुरा खण्डमा करिब ५२ किलोमिटर दूरीमा यात्रुवाहक रेल सञ्चालन भइरहेको छ । नेपालतर्फको रेलमार्ग विद्युतीकरण नभएकाले डिजेलबाट चल्ने रेल प्रयोग हुँदै आएको छ । प्रधानमन्त्री साहको भ्रमणका क्रममा नेपालतर्फको रेलमार्गमा विद्युतीय रेल सञ्चालन गर्न आवश्यक पूर्वाधार निर्माणका लागि भारतसँग अनुदान सहयोग माग्ने तयारीसमेत छ । यसले भविष्यमा रेल सेवाको सञ्चालन खर्च घटाउन र यातायातलाई आधुनिक बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । जनकपुरधामलाई माता सीताको जन्मस्थल र अयोध्यालाई भगवान् रामको जन्मस्थलका रूपमा मानिँदै आएको छ ।
रामायणकालीन धार्मिक तथा सांस्कृतिक सम्बन्धसँग जोडिएका यी दुई सहर रेलमार्गबाट जोडिएपछि धार्मिक पर्यटन प्रवद्र्धनमा नयाँ सम्भावना खुल्ने विश्वास गरिएको छ । भारतबाट जनकपुरधाम आउने तीर्थयात्री र नेपालबाट अयोध्या जाने श्रद्धालुलाई सहज यातायात सुविधा उपलब्ध हुनेछ । यसबाट होटल, यातायात, पर्यटन तथा स्थानीय व्यापारमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा छ । पहिलो चरणमा रेल सेवा यात्रुवाहकमा मात्र केन्द्रित रहनेछ । तत्काल मालवाहक -कार्गो) रेल सञ्चालन गर्ने योजना छैन। जनकपुरधाममा कार्गो रेल सञ्चालन गर्न भन्सारसम्बन्धी कानुनी तथा प्रक्रियागत व्यवस्था मिलाउनुपर्ने भएकाले त्यसका लागि थप समय लाग्ने देखिएको छ ।
रेल सेवा उद्घाटनसँगै प्रधानमन्त्री साहको भारत भ्रमणमा सीमा विवाद, हवाई प्रवेश मार्ग, ऊर्जा, व्यापार तथा पूर्वाधार विकासका विषयले पनि प्राथमिकता पाउनेछन् । नेपालले सुस्ता, कालापानी र लिम्पियाधुरासम्बन्धी सीमा विवादमा आफ्नो धारणा प्रस्तुत गर्ने तयारी गरेको छ। त्यस्तै, महेन्द्रनगर र भैरहवाबाट भारतीय आकाश हुँदै थप हवाई प्रवेश मार्ग उपलब्ध गराउने विषय पनि उठाइनेछ । उर्जा क्षेत्रमा पञ्चेश्वर बहुउद्देश्यीय परियोजनालाई अघि बढाउने तथा ७५० मेगावाटको पश्चिम सेती, ४८० मेगावाटको फुकोट कर्णाली, ४५० मेगावाटको सेती नदी–६ र तल्लो अरुण जलविद्युत् आयोजनामा भारतीय लगानी विस्तार गर्ने विषयमा छलफल हुने अपेक्षा गरिएको छ ।
व्यापार असन्तुलन न्यूनीकरण, पारवहन सुविधा विस्तार र सीमापार पूर्वाधार विकासका विषय पनि वार्तामा समेटिनेछन् । भ्रमणको अर्को महत्वपूर्ण एजेन्डा भोटेकोशी तथा रसुवा क्षेत्रमा बाढीबाट भएको क्षतिको पुनर्निर्माण हुनेछ। नेपालले प्रभावित क्षेत्रको पुनर्निर्माणका लागि भारतसँग करिब दुई अर्ब अमेरिकी डलर बराबरको आर्थिक सहायता प्याकेजको अपेक्षा गरेको छ । उक्त सहयोग अनुदान तथा सहुलियतपूर्ण ऋणमार्फत उपलब्ध गराउन आग्रह गर्ने तयारी छ । तर, सहयोगको अन्तिम रकम र स्वरूपबारे औपचारिक निर्णय सार्वजनिक भइसकेको छैन ।
भ्रमणका क्रममा प्रधानमन्त्री साहले मोदीसँग द्विपक्षीय भेटवार्ता गर्नेछन् । त्यसपछि दुवै देशका प्रतिनिधिमण्डलबीच औपचारिक वार्ता हुनेछ । भारतीय राष्ट्रपति, गृहमन्त्री तथा रक्षामन्त्रीसँग पनि शिष्टाचार भेटघाट गराउने प्रयास भइरहेको छ । जनकपुरधाम–अयोध्या रेल सेवा उद्घाटनले नेपाल–भारतबीचको धार्मिक, सांस्कृतिक र जनस्तरको सम्बन्धलाई थप विस्तार गर्ने अपेक्षा गरिएको छ। तर, यसको दीर्घकालीन सफलता नियमित सञ्चालन, सहज टिकट व्यवस्था, यात्रुको सुरक्षा, सीमा व्यवस्थापन र प्रभावकारी समन्वयमा निर्भर रहनेछ । त्यसैले उद्घाटनसँगै रेलमार्ग विद्युतीकरण, सेवा विस्तार र व्यवस्थापनबारे ठोस समझदारी हुनु आवश्यक देखिन्छ ।


