२०८३ मंसिर २, बुधवार ११:१०

नेपाल–भारत सीमा हुँदै लागुऔषध तस्करीको प्रयास भइरहेको अवस्थामा बाराका एक नेपाली युवक भारतमा पक्राउ परेका छन्। भारतीय सुरक्षा निकायले ७६.६६ ग्राम ब्राउन सुगरसहित उनलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा बारा जिल्लाको देवताल गाउँपालिका–फुलवरिया निवासी २४ वर्षीय मनोहर सिंह रहेका छन्। उनी जय राम सिंहका छोरा हुन्।

भारतीय सशस्त्र सीमा बल (एसएसबी) को ७१औँ बटालियनअन्तर्गत बीओपी बेल्दरवामठको टोलीले बिहार प्रहरी र आदापुरका प्रखण्ड विकास पदाधिकारी (बीडीओ) सँगको समन्वयमा सञ्चालन गरेको संयुक्त गस्तीका क्रममा उनलाई पक्राउ गरेको हो।

एसएसबी मुख्यालय पिपराकोठीका अनुसार मंगलबार प्राप्त विशेष सूचनाका आधारमा भारतको बिहार राज्यस्थित आदापुर थाना क्षेत्रको श्यामपुर गाउँनजिक सुरक्षा टोलीले निगरानी तथा चेकजाँच कडा पारेको थियो। सो क्रममा नेपाल–भारत सीमा स्तम्भ नम्बर ३८३र६ बाट करिब साढे चार किलोमिटर भारतीय भूमिभित्र युवकलाई शंकास्पद अवस्थामा फेला पारिएको थियो।

जाँचका क्रममा उनको साथबाट प्लास्टिकको बोरामा राखिएको ७६।६६ ग्राम ब्राउन सुगर बरामद भएको थियो। प्रहरीले घटनास्थलबाट बीआर ०५ बीडी २९६७ नम्बरको हिरो स्प्लेन्डर मोटरसाइकलसमेत नियन्त्रणमा लिएको छ।

प्रारम्भिक अनुसन्धानअनुसार बरामद लागुऔषध भारतको रामगढवाबाट नेपालको फुलवरियातर्फ लैजाने क्रममा रहेको आशंका गरिएको छ।

सीमावर्ती क्षेत्रमा लागुऔषध ओसारपसार नियन्त्रण गर्ने अभियानअन्तर्गत संयुक्त सुरक्षा टोलीले गरेको कारबाहीपछि पक्राउ परेका युवकलाई बरामद पदार्थ र मोटरसाइकलसहित आवश्यक कानुनी अनुसन्धान तथा कारबाहीका लागि आदापुर प्रहरी थानामा बुझाइएको एसएसबीले जनाएको छ।

सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी भइरहे पनि नेपाल–भारतबीचको खुला सीमाको फाइदा उठाउँदै लागुऔषध ओसारपसारका प्रयास जारी रहेको यस घटनाले देखाएको छ।

Comment

Related News

Latest News

Trending News