२०८३ मंसिर ३, बिहिवार ०७:४५

एन्टिमाइक्रोबियल रेसिस्टेन्स (एएमआर) अर्थात् औषधि प्रतिरोधको जोखिम मधेश प्रदेशसहित देशभर बढ्दै गएको छ ।

एन्टिबायोटिकलगायत सङ् क्रमणविरुद्ध प्रयोग गरिने औषधिको जथाभावी प्रयोग, चिकित्सकको सिफारिसबिना औषधि सेवन गर्ने प्रवृत्ति र उपचारको निर्धारित मात्रा पूरा नगर्ने बानीका कारण औषधिको प्रभावकारिता घट्दै गएको छ । स्वास्थ्य सेवामा पहुँच, औषधिको बिक्री वितरण तथा प्रयोगलाई व्यवस्थित गर्नुपर्ने चुनौती रहेको मधेश प्रदेशमा एएमआर नियन्त्रणलाई विशेष प्राथमिकताका साथ अघि बढाउनुपर्ने आवश्यकता देखिएको छ ।

विशेषगरी चिकित्सकको सल्लाहबिना एन्टिबायोटिक किन्ने र प्रयोग गर्ने प्रवृत्तिले भविष्यमा सामान्य सङ्क्रमणको उपचारसमेत कठिन बन्न सक्ने स्वास्थ्य क्षेत्रका विज्ञहरूले चिन्ताव्यक्त गरेका छन् । विश्व स्वास्थ्य संगठन -डब्लुएचओ) ले जनाए अनुसार ब्याक्टेरियाजन्य एन्टिमाइक्रोबियल प्रतिरोध सन् २०२१ मा विश्वभर ४७ लाख १० हजार मानिसको मृत्युमा सम्बन्धित थियो भने ११ लाख ४० हजार मानिसको मृत्यु प्रत्यक्ष रूपमा एएमआरका कारण भएको थियो । सन् २०२५ देखि २०५० सम्ममा एएमआरका कारण विश्वभर तीन करोड ९० लाखभन्दा बढी मानिसको प्रत्यक्ष मृत्यु हुनसक्ने अनुमान गरिएको छ ।

यसको असमानुपातिक असर न्यून तथा मध्यम आय भएका देशमा बढी पर्ने देखिएको छ । एन्टिमाइक्रोबियल प्रतिरोध भन्नाले ब्याक्टेरिया, भाइरस, फंग्स तथा परजीवीलाई नष्ट गर्न प्रयोग गरिने औषधिले प्रभावकारी रूपमा काम गर्न छाड्ने अवस्थालाई जनाउँछ । यस्तो अवस्थामा एन्टिबायोटिक, एन्टिफङ्गल, एन्टिभाइरल तथा एन्टिप्यार ासाइटिक औषधि प्रभावहीन हुँदै जान्छन् र सङ्क्रमणको उपचार कठिन वा असम्भवसमेत हुन सक्छ ।

एन्टिमाइक्रोबियल औषधिको अत्यधिक तथा जथाभावी प्रयोग यसको प्रमुख कारण हो । स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डा. कृष्णप्रसाद पौडेलले एएमआर मौन महामारीका रूपमा फैलिँदै गएको जानकारी दिए । उनले एन्टिबायोटिकलगायत एन्टिमाइक्रोबियल औषधिको दुरुपयोगका कारण पहिले प्रभावकारी मानिएका औषधिले समेत काम गर्न छाड्दै गएको बताए । ‘हामीले हिजो प्रयोग गर्दा प्रभावकारी हुने औषधि अहिले काम नगर्ने अवस्था सिर्जना हुँदैछ । आईसीयूमा देखिने कतिपय ब्याक्टेरियामा कुनै पनि एन्टिबायोटिकले काम नगर्ने अवस्था छ’, उनले भने ।

चिकित्सकको सिफारिसबिना एन्टिबायोटिक बिक्री तथा प्रयोग हुने प्रवृत्तिले एएमआरको जोखिम थप बढाएको पौडेलले बताए । आवश्यकताबिना र गलत तरिकाले एन्टिबायोटिक प्रयोग गर्दा सङ्क्रमणविरुद्ध लड्ने औषधिको प्रभावकारिता घट्ने र उपचार जटिल बन्ने उनको भनाइ छ । सो समस्या मधेश प्रदेशमा पनि जनस्वास्थ्यको महत्वपूर्ण चुनौती बन्न सक्ने देखिन्छ । औषधि पसलबाट चिकित्सकीय परामर्शबिना औषधि खरिद गर्ने, आफूखुसी औषधिको मात्रा घटाउने वा बढाउने तथा लक्षण कम भएपछि औषधि सेवन रोक्ने प्रवृत्तिलाई निरुत्साहित गर्न आवश्यक छ ।

औषधिको प्रभावकारिता घट्दै जाँदा महँगा तथा नयाँ पुस्ताका औषधि प्रयोग गर्नुपर्ने अवस्था आउने र उपचार असफल हुने जोखिमसमेत बढ्ने पौडेलले उल्लेख गरे । एएमआर नियन्त्रणका लागि औषधिको जथाभावी प्रयोग रोक्नुपर्ने उनको सुझाव छ । स्वास्थ्यकर्मी, औषधि विक्रेता तथा वातावरण क्षेत्रमा काम गर्ने सबै पक्षलाई यस विषयमा सचेत बनाउनुपर्ने उनले बताए । दर्ता नभएका औषधिको खुला बिक्री तथा विज्ञको सल्लाहबिना औषधि प्रयोग गर्ने प्रवृत्तिलाई नियन्त्रण गर्न पनि आवश्यक छ । ‘एएमआर नियन्त्रणका लागि मानव स्वास्थ्य, पशु स्वास्थ्य र वातावरणलाई छुट्टाछुट्टै नभई एकीकृत रूपमा हेर्नुपर्छ । ‘वान हेल्थ’ अवधारणाअनुसार सबै क्षेत्रबीच समन्वय र सहकार्य आवश्यक छ’, उनले भने । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले एन्टिमाइक्रोबियल प्रतिरोधको दुरुपयोग रोकथामका लागि मन्त्रालयले रणनीति बनाएर काम गरिरहेको बताए । उनले यस विषयमा मन्त्रालयमा उच्चस्तरीय समन्वय समिति रहेको भन्दै एन्टिमाइक्रोबियल औषधिको प्रयोग, पशु क्षेत्रमा चिकित्सकको प्रेस्क्रिप्सनबिना हुने प्रयोगलगायत विषयमा सचेतना अभिवृद्धि र समन्वयात्मक रूपमा काम भइरहेको जानकारी दिए ।

विभिन्न अध्ययन तथा अनुसन्धानका निष्कर्ष र सिफारिसका आधारमा आवश्यक कार्यक्रम अघि बढाइएको उनले बताए । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले सन् २०२४ मा सार्वजनिक गरेको ‘नेपालमा एन्टिबायोटिक्सको प्रयोग र यसको प्रतिरोधको अवस्थागत मूल्याङ्कन’ अध्ययनले औषधि प्रयोगसम्बन्धी चिन्ताजनक अवस्था देखाएको छ । अध्ययनअनुसार २८ प्रतिशत बिरामीले चिकित्सकको सल्लाहबिना नै औषधि किन्ने गरेका छन् भने २२ प्रतिशतले औषधिको पूरा मात्रा सेवन नगरी बीचमै छाड्ने गरेका छन् । मधेश प्रदेशमा पनि यस्ता प्रवृत्तिलाई नियन्त्रण गर्न औषधि पसलको प्रभावकारी अनुगमन, चिकित्सकको सिफारिसमा मात्र एन्टिबायोटिक बिक्री वितरण, स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि र समुदायस्तरमा जनचेतना विस्तार आवश्यक छ । स्थानीय तह, प्रदेश सरकार, स्वास्थ्य संस्था तथा औषधि व्यवसायीबीच समन्वय गरी औषधिको सुरक्षित प्रयोग सुनिश्चित गर्नुपर्ने देखिन्छ ।

विज्ञहरूले जनाए अनुसार चिकित्सक वा स्वास्थ्यकर्मीको सल्लाहबिना एन्टिबायोटिक सेवन गर्नुहुँदैन । चिकित्सकले सिफारिस गरेको औषधि निर्धारित मात्रा र अवधिअनुसार सेवन गर्नुपर्छ । त्यस्तै, सङ्क्रामक रोगविरुद्धका खोप लगाउने, नियमित रूपमा साबुनपानीले हात धुने, सरसफाइमा ध्यान दिने र सुरक्षित यौन अभ्यास अपनाउनेजस्ता उपायले सङ्क्रमणको जोखिम घटाउन सहयोग पुग्छ ।

Comment

Related News

Latest News

Trending News