श्रमिकसँग ठगी गरी संकलन गरिएको रकम गैरकानूनी रूपमा मलेसिया पठाउन संलग्न रहेको आरोपमा पक्राउ परेका दुई पूर्वमन्त्रीसहित ६ जनाविरुद्ध ४ दिन म्याद थप भएको छ।
तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीद्वय शेरबहादुर कुँवर, रामेश्वर राय यादव, श्रम मन्त्रालयका तत्कालीन सचिव विनोद केसीविरुद्ध म्याद थप भएको हो। यस्तै रोजगार व्यवस्थापन महाशाखाका तत्कालीन प्रमुखद्वय उमेश ढुंगाना र राजीव पोखरेल तथा तत्कालीन कानून अधिकृत निर्मला गुरुङविरुद्ध म्याद भएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ।
सीआईबीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पत्र र विकास रानाभाटसहितको जाहेरीका आधारमा उनीहरूलाई पक्राउ गरेको थियो। काठमाडौं जिल्ला अदालतबाट बुधबार पक्राउ पुर्जी जारी गर्ने अनुमति लिएर विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरिएको हो।
उनीहरूमाथि ठगी तथा संगठित अपराध निवारण ऐन, २०७० अन्तर्गत अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ।

